कला

आफ्नै भन्नेहरूले नै खुट्टा तान्दारै’छन्!

मुक्तक

१) मुक्तक

तिमी चारधाम गया र कासी बनिदिनु

म बनूँला भानु तिमीले घाँसी बनिदिनु

लेखौंला है दुवै मिली प्रेमको रामायण

म मायाको दास तिमी दासी बनिदिनु।

२) मुक्तक

तिमी बन्नु मैले हेर्ने दुई आँखाको नानी

कहिल्यै नि दुःख दिन्न सत्य जानीजानी

मायाभरि यो मनभित्र राख्छु सजाएर,

यति भए चल्छ काली हाम्रो जिन्दगानी।

३) मुक्तक

मै हुँ राजा भन्ने भुक्का टाँट भएका छन्

पहाड पनि पहिरोले फाँट भएका छन्

देखेका छौं बाठा पनि चिप्लिलडेका,

बरु निम्न वर्गहरू नै आँट भएका छन्।

४) मुक्तक

मैले हार्दा जित्छौ भने हारीदिन्छु प्रिय

मेरो यो मन अर्कै तिर सारिदिन्छु प्रिय

आउँदिन म फर्किएर टाढा भई दिन्छु,

बिर्सन्छु म हाम्रो माया मारिदिन्छु प्रिय।

५) मुक्तक

आफैं हुन्छन् जान्नेसुन्ने पदमा पुगेपछि

हिजोसम्म सुकुल बुन्ने पदमा पुगेपछि

संसार नै  जितेको झैं सर्वैसर्वा ठान्छन्

खोरभित्र हाली थुन्ने पदमा पुगेपछि।

६) मुक्तक

आफ्नै  भन्नेहरूले नै खुट्टा तान्दारै’छन्

वचनका तिरले मुटुभित्र हान्दारै’छन् 

बगलीमा छुरा बोकी मुखले राम भन्दै,

थरिथरि नाटक’नि गर्न जान्दारै’छन्।

प्रकाशित: १४ भाद्र २०८१ १३:३४ शुक्रबार