कला

लघुकथा समाज,नेपालबाट आर.आर. चौलागाईं र श्याम आशालाई सम्मान

लघुकथा समाज, नेपालले प्रदान गरिंदै आएका विविध पुरस्कार र सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८१’ र ‘धनमान लघुकथा पुरस्कार-२०८१’ प्रदान गर्न दुई लघुकथाकारको नाम चयन गरिएको छ। लघुकथा समाजले  जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिए अनुसार, ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ का लागि हेटौंडाका लघुकथाकार आर.आर. चौलागाईं र ‘धनमान लघुकथा पुरस्कार’ का लागि भक्तपुरका लघुकथाकार श्याम आशाको नाम चयन गरिएको हो।

लामो समयदेखि लघुकथा लेख्दै आएका चौलागाईंको २०६५ सालमा ‘विघटनको तयारीमा’ लघुकथासङ्ग्रह प्रकाशित छ। उनका पत्रपत्रिकाका साथै लघुकथाका फेसबुक पेजहरूमा थुप्रै फुटकर लघुकथा प्रकाशित हुँदै आएका छन्।

यसैगरी, श्याम आशा लामो समयदेखि नेपाल भाषामा लघुकथा लेख्दै आएका छन्। उनका नेपाल भाषामा ७ लघुकथासङ्ग्रह प्रकाशित छन् भने दुई सङ्ग्रह नेपालीमा अनुदित छन्। ‘श्याम आशाका लघुकथा’ सङ्ग्रहको अनुवाद लघुकथाकार ध्रुव मधिकर्मीले गरेका छन् भने अर्को लघुकथासङ्ग्रह ‘अघोषित आवाज’ को अनुवाद साहित्यकार रासाले गरेका हुन्।

लघुकथा समाजले दुई स्रष्टाको नाम चयन गर्न समाजका सल्लाहकार वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमको संयोजकत्वमा श्रीओम श्रेष्ठ ‘रोदन’ र तुलसीहरि कोइराला रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिको सिफारिस अनुसार दुवै स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको समाजले जनाएको छ।

उक्त पुरस्कार तथा सम्मानमध्ये ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ भदौ ५ गते १७ औं लघुकथा दिवसका अवसरमा सर्वनाम नाटक घरमा विशेष समारोहको आयोजना गरेर प्रदान गरिने छ। त्यस्तै अर्काे ‘धनमान लघुकथा पुरस्कार’ भदौ ८ गते भक्तपुरमा आयोजना गरिने समारोहमा प्रदान गरिने समाजको विज्ञप्तिमा उल्लेख छ। लघुकथा समाजले भदौ ४, ५ र ६ गते विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउने जनाएको छ।  

प्रकाशित: १८ श्रावण २०८१ ०८:५७ शुक्रबार

# Laghukatha Samaj Nepal # Laghukatha Saundarya #Purnprasad Brahmin laghuktha Samman-2081 # Dhanman Laghukatha Puraskar # Shreeom Shrestha 'Rodan' Founder of Short Story Society