कला

घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन!

मुक्तक

१) मुक्तक

किन चाहियो मुरीमुरी माया पाथी भए पुग्छ,

जन्मदाता सगरमाथाझैं शिर माथि भए पुग्छ,

हातै समाई डोर्‍याउने छोराछोरी छन् नि मेरा

टाढैबाट म छु नि भन्ने जीवन साथी भए पुग्छ।

२) मुक्तक

प्रगति चमत्कार मुठ्ठी मानो हुँदै पाथी हुनुपर्छ,

इज्जत-मान सगरमाथाझैं शिर माथि हुनुपर्छ

उकाली त्यो सफरको सहारा लठ्ठी भएजस्तै,

सबैको मनको एउटा समझ्दार साथी हुनुपर्छ।

३) मुक्तक

देशमै केही गर्छु भन्थे रहर सबै हराएर गए,

ठाउँ पाएनन् बेरोजगार हुन्छौ डराएर गए।

छोरी गई छोरा गयो क्रमश: सबै परदेशिए,

कठै यी बाबु आमालाई  दोधार गराएर गए।

४) मुक्तक

मलाई खेत मन पर्छ पाकेको लहलह बाली मन पर्छ,

असारमा सिलिली पारेको कान्ला र आली मन पर्छ।

आभूषण महलमा गर्मीकै घामले तात्ने भएर होला,

बाबियो खरले छाइएको गाउँघरकै पाली मन पर्छ।

५) मुक्तक

जन्माउने हुर्काउने हाम्रो चार धाम आमा नै हुन्,

श्रद्धाभरि जिउँदो देउता रामनाम आमा नै हुन्,

लुकाई आफ्ना दुख-पिर सन्तानलाई माया गर्ने,

यो जगतकै सृष्टि अनि जन र घाम आमा नै हुन्।

६) मुक्तक

धुवाँतुवाँलोभित्र धिपधिप बन्दै छ टुकी पनि,

बिस्तारै रोकिए जस्तो छ मुटुमा ढुकढुकी पनि,

किन भ्रम दम्भ घमण्ड पाल्दैछौ प्रिय मनमा,

प्यार गरी हेरिदेउ पारिजात बन्छ केतुकी पनि।

७) मुक्तक

निस्वार्थ कर्म गरौ यसले स्वादिलो रस पिलाउँछ,

मेट्छ दु:खका धर्साधर्सी फाटेका मन मिलाउँछ।

छोडौं व्यर्थका गफ गर्न पल्टाऊँ पाना सिकाइका

ज्ञानले बन्धनका ढोकाहरू खोलेर मुक्ति दिलाउँछ।

८) मुक्तक

घामपानीले हेप्दा हेप्दै पातहरू गल्दा रहेछन्।

एक्लोपना खेप्दा खेप्दै आँतहरू जल्दा रहेछन्।

मनको तलाउ फुटिसकेपछि पोखिदै आँसुले,

सिरानीलाई छेप्दा छेप्दै रातहरू ढल्दा रहेछन।

९) मुक्तक

बिर्सन खोज्दछु तस्बिर नजरमा छाइरहन्छ,

जवानी कुरा बुढेसकालमा याद आइरहन्छ।

खै के कुराले हो यो मनलाइ यसरी डोरायो,

जो मदेखि टाढिए पनि मायाले सताइरहन्छ।

१०) मुक्तक

घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन

फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन

वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,

राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।

प्रकाशित: १८ श्रावण २०८१ ०७:५० शुक्रबार

# Muktak # Laghukatha