कला

स्वार्थ

लघुकथा

आमा, छोरा दुवैलाई पालैपालो विधि पुर्‍याएर पुजा गरे। पेटभरि खान दिए। रित पुगिसकेपछि सानुलाई भने, ‘जा बाबु, यिनलाई सानो चौरसम्म पुर्‍याएर आ।’

सानो चौर आएपछि एकचोटि ऊ बुर्लुक्क उफ्रियाे अनि आमासँग सोध्यो, ‘सधैं खान दिन्छन्?

‘दिया दियै हो। दिने भए किन लघार्थे।’

‘किन होला आमा, तिम्रै माइती होइनन् ती?’

‘हुन त हो नि, भएर के गर्नु? म काम नलाग्ने भएँ। तँलाई पनि प्रविधिले पाखा लगायो। सबै स्वार्थका नाता हुन्।’

‘अनि आज किन त यत्रोविधि केके गर्‍या हुन् नि?’

‘धर्म गर्‍या अरे।’

उसको गोठाले बुद्धिले भ्याएन धर्मको अर्थ सोध्यो, ‘के हो धर्म? धर्म गरे के हुन्छ?’

आमा चैंले अनभिज्ञता जनाइन्, ‘खै के हो के धर्म भन्या!’

एकछिन घोरिएर भनिन्, ‘आजैको कर्म होला नि धर्म भन्या धर्म गरे स्वर्ग जाइन्छ अरे!’

‘सधैं धर्म गरे हुँदैन त?’

‘हुन त हुन्थ्यो नि! गर्दैनन्।’

उसले आश्चर्य मान्दै सोध्यो, ‘अनि कसरी स्वर्ग जान्छन् त?’

‘खै कसरी जान्छन्, तर वैतरणी चैँ तर्ने भए।

नबुझे पनि उसले सोध्यो,‘कसरी?’

‘देखिनस् आआफ्नो नाडीबाट डोरो खोल्दै मेरो पुच्छरमा बाँधिदिएका?’

कौतुहल जनाउँदै उसले सोध्यो, ‘तिम्रो पुच्छर समाएर वैतरणी तर्छन्?’

उसले उग्राउँदै भनी, ‘होइन। त्यै डोरो समाएर तर्छन्।’ 

- नवराज शर्मा

प्रकाशित: १७ श्रावण २०८१ ११:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App