कला

साउथ फिल्म ‘कल्की २८९८ एडी’को धमाकेदार ‘ओपनिङ’

साउथ स्टार प्रभास र अमिताभ बच्चनद्वारा अभिनीत बलिउड चलचित्र ‘कल्की २८९८ एडी’ले भारतमा रेकर्ड ब्रेक सुरुवात गरेको छ।

रिलिज भएको पहिलो दिन नै बक्स अफिसमा धमाकेदार सुरुवात गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।रिलिज भएको पहिलो दिन नै दर्शकहरू ओइरिएर फिल्म हलमा पुगेको बताइएको छ। पहिलो दिन नै भारतमा ९५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको फिल्मले विदेशमा समेत गरेर १८० करोड रुपैयाँ कमाएको टिभी ९ हिन्दीले लेखेको छ।

यसअघि साउथ अभिनेता प्रभासकै फिल्म बाहुबली–२ ले पहिलो दिन २१७ करोड भारु कमाएको थियो। यद्यपि भारतीय फिल्ममा त्यो रेकर्ड भने होइन, त्योभन्दा बढी ‘आरआरआर’ले ओपनिङ डेमै २२३ करोड भारु कमाएको रेकर्ड कायम छ। 

साउथ अभिनेताका फिल्मले यसरी कमाउँदा बलिउडका चर्चित अभिनेताका फिल्मले भने त्यस्तो रेकर्ड कायम गर्न सकेका छैनन्। सन् २०२३ मा शाहरुख खानद्वारा अभिनीत जवानले पहिलो दिनमा नै १२५ करोड भारतीय रुपैयाँ कमाएको  रेकर्ड छ। त्यसअघि शाहरुखकै पठानले १०६ करोड कमाएको थियो।

प्रकाशित: १४ असार २०८१ १९:३८ शुक्रबार

#South Star Prabhas #Bollywood Movie 'Kalki 2898 AD' #Amitabh Bachchan #Shah Rukh Khan