कला

‘स्वस्तानी भर्सेस ग्याङ’ को पहिलो एपिसोड सार्वजनिक

कार्टुन क्रुको प्रस्तुतिमा तयार भएको वेभसिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ को पहिलो एपिसोड सार्वजनिक भएको छ।

सरोज अधिकारीको निर्देशनमा बनेको यस सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरि, प्रताप दास, विजय अधिकारी, जिवेश सिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल, मानश श्रेष्ठ, अस्मिता खनाल, रोश्नी कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ।

वेभसिरिज सरोज र सागर खनालले निर्माण गरेका हुन्। सिरिजको कार्यकारी निर्माता विजय अधिकारी हुन्।

सिरिजको पहिलो शृंखलामा प्रताप र आश्माको ‘लभ इन्ट्रेस्ट’ प्रस्तुत गरिएको छ। विभिन्न सोच भएका युवा पुस्ताका पात्रहरू समावेश गरिएको छ।

सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका हुन्। सिरिजलाई मिठास बनाउन योगेश काजी शाह र सारिका घिमिरेले स्वर थपेका छन्।

वेभसिरिजमा संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहेको छ। एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलबाट स्ट्रिमिङ भइरहेको छ।

सिरिजको शीर्ष भूमिका ‘स्वस्तानी’ मा आश्मा विश्वकर्माले अभिनय गरेकी छन्। एउटा मोबाइल वरिपरि केन्द्रित कथावस्तुमा सिरिज बनेको छ। सिरिजमा कुल १० एपिसोड हुनेछ।

‘हामीले पहिले लभस्टोरी बनाउँथ्यौं। यसपटक भने त्यो जनरा छाडेर कमेडी र एड्भेन्चरतिर लागेका छौं,’ टिमले बताएको छ।

प्रकाशित: १३ असार २०८१ १७:४१ बिहीबार