१) मुक्तक
नझारूँ आँसु भन्छु, झर्छ किनकिन?
आँसु बग्दै गहभरि पर्छ किनकिन?
आँसु हाँसो मिसाएर,बाँच्न कठिन हुन्छ-
मुटु सारै ढुकढुक, गर्छ किनकिन?
२) मुक्तक
काफल पाक्यो भन्छे चरी काफल टिप्नै पाइनँ,
कोहोकोहो सोध्छिन् चरी म हुँ भन्नै पाइनँ।
ऐंसेलुको बोटमा काँडा किन बस्या होला?
हामी मिली टिपूँ भन्थेँ उनी आउँदै आइनँ।
३) मुक्तक
मेरो माया नमार भन्देको छु मैले,
आँसु झार्दै नझार भन्देको छु मैले।
सम्झेरै दिनरात, जुनेली रातसँगै-
दुखी मलाई नपार भन्देको छु मैले।
४) मुक्तक
उनले मलाई हेरिरहन्थिन्, उन्लाई हेरिरहन्छु म,
उनले श्वास फेर्न छोडिन्, अझै श्वास फेरिरहन्छु म।
नछोड्नुपर्ने थियो मलाई, खै कठै किन छोडिन्,
उन्कै तस्वीर अझ पनि अँगालोमा बेरिरहन्छु म।
५) मुक्तक
प्रेम रसको कविता लेखूँ छाडा भयो बूढा भन्छन्,
नलेखी बसूँ भने खै किन टाढा भयो बूढा भन्छन्।
निलो आकाशझैं स्वच्छ हरियाली कहाँ हूँ र म?
रूप-रङ सेलायो पतझड डाँडा भयो बूढा भन्छन्।
-महेश्वर भुजेल
प्रकाशित: ७ असार २०८१ १२:५४ शुक्रबार