कला

उत्तर अमेरिकामा खाइराइडको लेफराइट

स्रष्टा साँझ अमेरिकाले राजेन्द्र कार्कीकाे ‘खाइराइड’ हास्यव्यंग्य निबन्धसंग्रहकाे परिचर्चा गरेकाे छ।

खाइराइडमाथि लेफराइट गर्दै विभिन्न परिचर्चाकारले आफ्नो धारणा राखे।  सयभन्दा बढी पुस्तकको परिचर्चा गरेको स्रष्टा साँझ अमेरिकाले पहिलोपटक हास्यव्यंग्य कृतिको परिचर्चा गरेको हो र ‘खाइराइड’ पनि हास्यव्यंग्यकार कार्कीको पहिलो कृति हो।

साहित्यकार विश्वराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै हास्यव्यंग्यकार गायत्री लम्सालले भनिन्, ‘राजेन्द्र कार्कीको खाइराइड भनेर चिन्ने अवसर नपाई खाइराइडका राजेन्द्र कार्की भनेर चिनें। यस्तो अवसर कमै लेखकले पाउँछन्। खाइराइडको मिठो खुराकले नै यस्तो भएको हो।’

खाइराइडका चार लाइनमा यसो आँखा जुझे खाइराइड लागेकालाई समेत छोड्न मन लाग्दैन भने हामी जस्ता साहित्यप्रेमीको कुरै नगरौं। त्यसैले कार्कीले हास्यव्यंग्यमा निरन्तर कलम चलाउनुपर्छ र हामी लेखक र पाठकलाई खाइराइडजस्तै अब्बल दर्जाका कृति दिनुपर्छ।

परिचर्चा कार्यक्रममा साहित्यकार अनिता कोइरालाले खाइराइडका सबै निबन्ध मनपरेको बताइन्। कुकुरको भाग्य निबन्धको चर्चा गर्दै उनले भनिन्, ‘मान्छेले कुकुरबाट सिक्नुपर्ने धेरै कुरा भएको र कुकुरको पनि इज्जत भएको निबन्धले बताएको छ।’

पार्कमा घुम्दै गर्दा कुकुरको फोटो खिच्न नपाएको प्रसंगले मेरो मन चसक्क भयो। किनकि धनी देशका मान्छेले गरीव देशका मान्छेको फोटो खिच्न र भिडियो बनाउन पाउने कुराको लेखकको भोगाइको प्रसंगले हाँसोभित्र आँसु पाएँ। हाँसोभित्र आँसुका प्रसंग खाइराइडमा जताततै भेटिन्छन्।’

‘उत्तर अमेरिकाका कुकुर देखेका मान्छेले “कुकुर” भनेर कसैलाई गाली गर्न सक्दैनन् र गर्दैन। बरु कुकुरको सट्टा “मान्छे” भनेर गाली गर्न बेर लाउँदैनन्’ जस्ता वाक्य बेजोड रहेको बताइन्।

लेखक कार्की बस्ने शहरकी साहित्यकार मीनु राजभण्डारीले लेखकसँग खासै चिनजान नभएको र खाइराइड पढेपछि बयान गर्नै नसकिने मित्रता बढेकाे बताए।

 अहिलेसम्म उनले खाइराइड जस्तो बेजोड र मनपरेको पुस्तक पढ्न नपाएकाे बताइन्। खाइराइड, कामी, कहाँ छ स्वतन्त्रता! त्यो नेपाली होइन, देश डुब्यो, लाहुरे, मृत्यु विज्ञापन खुबै मन परेको बताइन्।

क्यालिफोर्नियावासी हास्यव्यंग्य साहित्यकार प्रमोद आमात्यले हास्यव्यंग्यको लामो इतिहास भएको बताउँदै चौतारीमा बसेर छेडखान गर्ने, हाँस्नेहँसाउने चलन परापूर्वकालदेखि चलिआएको बताए।

कार्तिक नाच, गाईजात्रा आदिको माध्यमबाट शासकलाई व्यंग्य गर्ने गरिन्थ्यो। तर, हँसाउने मान्छेलाई जोक्करको रूपमा लिने भएर होला, यसलाई खासै महत्त्व दिएको देखिंदैन।

हास्यव्यंग्य साहित्यको महत्त्व त्यसले पाउने पुरस्कार र पाठ्यपुस्तकमा कति समावेश छ भन्ने कुराले देखाउँछ। तर, अहिलेसम्मको रेकर्ड हेर्दा हास्यव्यंग्य उपेक्षामा परेको देखिन्छ भन्दै उनले थप्दै भने, ‘खाइराइड बेजोड लाग्यो। कतै अश्लीलता र गालीगलौज छैन। मलाई मनपर्ने हास्यव्यंग्यकार भैरव अर्याल, रामकुमार पाण्डे र लक्ष्मण गाम्नागेकाे लहरमा राजेन्द्र कार्की पनि थपिए।’

साहित्यकार तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले हास्यव्यंग्य कृतिले समाजको इतिहास देखाउँछ भन्दै खाइराइडभित्र जनावरलाई गाली किन? मा प्रयोग भएको विम्ब बेजोड भएको बताए।

युवा विदेश पलायनका कुरादेखि भेडोको मासु खानु छ, फेरि भेडो भन्दै त्यही भेडोलाई गाली गर्ने मान्छेको भेडो प्रवृत्तिमाथि  मीठो तरीकाले व्यंग्य कसिएको छ र ३१ निबन्धमा धेरै विषय समाज र व्यक्तिका प्रवृतिसँग सम्बन्धित छन्।

राजनीति र अदालतका विषयमा लेखिए पनि कहीं कतै कसैलाई गाली नगरी व्यंग्य त्यो पनि हास्यसहित लेख्नु कार्कीको सफलता हो भने। साथै उनले कृति मौलिक हुनुका साथै छुट्टै स्वाद र शैलीको छ भन्दै परिचर्चा गरे।

क्यानाडाका साहित्यकार डा. कुसुमाकर शर्माले खाइराइडमा पुरानो पुस्तादेखि जेड जेनेरशनसम्मका विषयवस्तु समेटिएकाे बताए। भोजपुरको एउटा गाउँलेबाट विषयवस्तु एकै पटक इलोन मस्कमा पुग्छन्। त्यही भएर केही निबन्ध अमेरिकामा बस्नेलाई स्वाद लाग्छ भने नेपालको कुनै गाउँमा बस्ने पाठकलाई स्वाद नलाग्न सक्छ, जस्तै कुकुरको भाग्य। लेखनको यो पक्ष नै सबैभन्दा राम्रो र अद्वितीय पक्ष लागेको बताउँदै समाजका भत्काउनुपर्ने जेलिएका पुराना संरचना खाइराइडले भत्काएको छ भन्दै एउटा थिममा दुई निबन्ध लेखिएका छन्, तर ती फरक ढंगले फूलबुट्टा भएका छन्। तर, सूक्ष्म अध्ययन गर्ने पाठकबाहेक अरूले थाहा पाउन मुस्किल पर्छ। त्यो लेखकको विशेष क्षमता भएको बताए।

सिस्नो पानी नेपालका अध्यक्ष तथा हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेले खाइराइडमाथि लेफराइट गर्दै कार्कीको विचार शैली गजव भएको बताए।

ठेट पुर्वेली गाउँले र सरल भाषामा लेखिएकाले बोधगम्य छ भन्दै उनले भने, ‘खाइराइडमा काल्पनिकता छैन, कल्पनाशीलता छ। त्यसैले पुस्तकको नाम नै ‘खाइराइड’ हुन पुगेको हो। पहिलो पुस्तकले यति धेरै चर्चा बटुल्नु आफैंमा सफलता हो। निबन्ध निकै राम्रा र गम्भीर छन्। हास्यव्यंग्यभित्रका रचनामा ज्ञान, विज्ञान, धर्मशास्त्र, इतिहास, राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिका अनेक प्रसंग छन्।’

फेरि निबन्धभित्र आख्यान, नियात्रा, संस्मरण आदिका स्वाद भेटिन्छन्। साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार-२०८० को पहिलो पाँचको सूची समावेश भएको यो पुस्तकले पुरस्कार चुमोस् भन्दै कामना गरे।

हास्यव्यंग्यकार तथा हास्यव्यंग्य पत्रिका फित्कौलीका प्रधानसम्पादक नरनाथ लुइँटेलले होलाई होइन र होइनलाई हो भनेर लेख्ने शैली र ढाँचा नै हास्यव्यंग्य हो भन्दै खाइराइडका दशौं समीक्षा आइसके, तर खाइराइडमा रहेका हास्यव्यंग्यका उत्तर आधुनिक पक्ष ओझेलमा परेको बताए।

हास्यव्यंग्यको उत्तर आधुनिक पक्ष उजागर भएको पहिले कृति खाइराइड हो भन्दा फरक नपर्ला। उत्तर आधुनिक युगका मनुवाको मनोविज्ञानमा लेखिएको यस कृतिले वर्तमानका सामाजिक विकृतिमाथि हँसाउँदै झापड हानेको छ।

नेपाली हास्यव्यंग्यका नाममा राजनैतिक व्यंग्य, त्यो पनि गालीगलौजको तहमा झरिरहेको बेला खाइराइड साँच्चै गतिलो कृति निस्किएको छ। त्यही भएर नै यसले राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा चर्चा बटुलेको छ।

अझ स्रस्टा साँझ अमेरिकाले पहिलोपटक यसरी हास्यव्यंग्य कृति माथि परिचर्चा गर्नु भनेको हास्यव्यंग्य लेखनको पुनर्जागरण शुरु भएको हो भन्दा फरक नपर्ला।

वरिष्ठ समालोचक खेमराज पोखरेलले धेरै हास्यव्यंग्य पढेकाले कक्षामा गुरुले पढाउँदा जसरी सुनिन्थ्यो, त्यसरी नै यो कार्यक्रम सुनेको बताउँदै भने, ‘हास्यव्यंग्यमा शब्द सञ्चालन क्षमता चाहिन्छ, त्यो राजेन्द्रजीमा देखियो। निबन्धमा एउटा विषयलाई आधार बनाउनुपर्छ। विषय छिरोलिनु हुँदैन।’

अपवादबाहेक खाइराइडका निबन्धमा विषय छिरोलिएको छैन, त्यो सबैभन्दा राम्रो पक्ष देखियो। हास्यव्यंग्य लेख्न सजिलो हुँदैन, चुनौती हुन्छ। त्यसमा हास्य र व्यंग्य दुवै हुनुपर्छ। साथै तथ्यपरक पनि हुनुपर्छ। निबन्ध अलि छोटा भए पनि धेरै अनुसन्धान गरेर लेखिएको छ भन्दै उनले भने, ‘सारमा भन्दा खाइराइडका धेरै राम्रो छ, बेजोड छ, धेरै वर्षपछि हास्य व्यंग्य पढ्न पाएँ।’

खाइराइडका  लेखक कार्कीले लेखनको स्रोतसामग्री र विषय मान्छेसँगको भेटघाट र कुराकानी भएको बताए। उनले हरेक वर्ष संसारबाट क्यानाडा आएका एक हजारभन्दा बढी मान्छे कामको सिलसिलामा भेट्न गरेको बताउँदै स्रष्टा साँझ अमेरिकाले प्राज्ञिक व्यक्तिहरूसामु चलाएकाे परिचर्चा कार्यक्रमले आफूलाई थप ऊर्जा मिलेको बताए।  

प्रकाशित: ७ जेष्ठ २०८१ ११:३१ सोमबार

Good evening America Discussion of comic works Sahityapost Best Non-Narrative Award-2080