कला

पीडा

लघुकथा (माताऔंसी विशेष)

ऊ बिहान सबेरै उठी। नुहाएर पुजा कोठामा छिरी। आमाको फोटोमा ढोगी। जल चढाई। बत्ती बाली। एक्कासी आमाको यादले  बररर आँसु झारी।

विगतलाई सम्झी, जुन दिन उसको जीवनको कालो दिन थियो। खुसी लुटिएको दिन थियो। विगत झलझली आँखै अगाडि घुम्यो।

“त्यो पल जुनबेला आमाको मृत्युको खबरले रातभर निदाउन सकेकी थिइन। बिरामी आमा हेर्न जाने धोको पूरा हुन सकेको थिएन। पन्ध्र दिनदेखि बिरामी आमा हेर्न जान्छु भन्दा भन्दै पनि अबुझ परिवारका कारण आफ्नो इच्छा दबाउन परेको थियो उसले।

रुँदारुँदा उसका आँखाका आँसु सकिएका थिए। सास नभए पनि लास हेर्छु, म नआएसम्म नजलाउनु  है भन्दै रुँदै फोन गरेकी थिई।

परिवारले त बुझेन, बुझेन! प्रकृतिले पनि उसको पीडा बुझ्न सकेन। आखिर प्लेन क्यान्सिल भयो। विचरा! आमाको न सास भेटी न त लास नै भेटेकी थिई उसले।

अन्तिम अवस्थामा आमाले भनेको सम्झना आयो, “मेरो सेखापछि भाउजू छ नि!  पीर नगर है।’’

आमा सम्झेर भाउजूलाई फोन लगाई तर फोन उठेन। दाजुलाई फोन लगाउदै भनी, “म आउदै छु है!’’

“अब यो घर र सारा सम्पत्ति मेरो हो, के खोज्न आउनुपयो? यो घरमा तेरो लागि ढोका खुल्ला छैन।’’ एक्कासी दाजुको फोन काटियो।

कठोर शब्दको उसले विश्वास गर्नै सकिन। फेरि फोन लगाई तर दाजुभाउजूले उसलाई ब्लक गरिसकेका थिए।

-शान्ता तिम्सिना

प्रकाशित: २६ वैशाख २०८१ १०:२४ बुधबार

the pain Short story