कला

विभेदना

लघुकथा

जंगलमा एकाएक हल्लीखली मच्चियो, ‘बाघले कुकुर्नीसँग बिहे गर्‍याे रे!’

उसको हर्कतले बाघ समाज चिढियो। सौतेनी आमा, त्यसमाथि कुजात ल्याएकाले डमरूको  पारो चढ्यो। घरझगडा बढ्यो। डमरू ओडारबाट निस्कियो र अरू जनावरसँग टाउको जोड्यो।

उसले भन्यो, ‘म अन्यायमा परें।’

‘होहो अन्याय भएकै हो!’ डमरूप्रति सबै जनावरको सहानुभूति रह्यो। प्रतिशोधको भावनाले ब्वाँसोको नेतृत्वमा उनीहरूले संगठन खोले। उनीहरू अपिल लिएर राजा सिंहकहाँ पुगे।

कुकुर कुइँकियो, ‘बाघले कुकुर्नी उडाएर हाम्रो  जातिको बेइज्जत गरेको छ, सरकार! अविलम्ब कारवाही होस्।’

डमरू गर्जियो, ‘बाउले मेरो बिहे गर्ने बेलामा उल्टै मेरो नाक काट्यो। बिहे नै गर्नु थियो त आफ्नै  समाजसुहाउँदो गर्नुपर्थ्यो नि! हदैसम्मको सजाय होस्, सरकार!’

‘आफ्नै परम मित्र बाघलाई कसरी सजाय दिनु?’ तर, सबै जनावरहरू बाघको विरोधमा एक ढिक्का थिए। बहुमतको अघि राजा लाचार भए। उनको आदेशमा बाघलाई हाजिर गराइयो।

ब्वाँसो कड्कियो, ‘जङ्गलमा मनपरी गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ।’

‘सबै तिम्राविरुद्धमा छन्। यसमा तिमीलाई केही भन्नु छ?’ राजाले बाघलाई सफाइ पेश गर्ने मौका दिए।

बाघले भन्यो, ‘हामी त जनावर हौं। यो लोकतान्त्रिक जंगलमा मान्छे जस्तो जातीय विभेद र असमानताको कुरा गर्न मिल्छ र?’

प्रकाशित: २६ माघ २०८० ११:०३ शुक्रबार

लघुकथा अक्षर