कला

पानी नहिंड्ने मात्रै,कागजमा खनिएको पनि कुलो हुन्छ

१) मुक्तक

सुरम्य आजको यो साँझ पनि उदास-उदास लागिरहेछ,
बिहानको मिर्मिरेमा मधुर पवन चिसो बतास लागिरहेछ।
मनको पीडा लुकाएरै मान्छेका सामु उभिनै कर लाग्दोरहेछ,
सबैको माझ फिस्स हाँस्छु तिमीलाई उपहास लागिरहेछ।

२) मुक्तक

मैले तिमीसँगको प्यारमा जीवनको भर खोजिरहेको छु,
हाम्राे मिलनको क्षण स्वप्निल रहर हो खोजिरहेको छु।

आजकाल टाढा-टाढा हुँदैछौ मेरो विपदमा थाहा छ,
पिइदिन्छु तिमीले दिने एक चम्चा जहर हो खोजिरहेछु।

३) मुक्तक

तिम्रो हृदय पत्थरको पनि पत्थर हो प्रेमले धुलो हुन्छ,

पानी नहिंड्ने मात्रै कागजमा खनिएको पनि कुलो हुन्छ।
विदेशमा प्यासी दिल बोकिरहेको मजदुरलाई सोध त,

विपद कि मृत्युको क्षण पैसा कि घर ठूलो हुन्छ।

४) मुक्तक

प्रज्ञा र विवेक सरकारबाट कोसौं टाढा भएका छन्,

भूतप्रेत र मसान अनुहारका मान्छेहरू छाडा भएका छन्।

कसले पत्याउँछ र तिम्रा ढाँटका फलाकोहरू आजकाल,

अगुवाहरू नै प्रत्येक पाइलामा देशका काँडा भएका छन्।

५) मुक्तक

कहाँ गएर समाधान हुन्छ र कहर जिन्दगीको,
यसैयसै बग्दोरहेछ उमेर र रहर जिन्दगीको।

आफैंमा भाका हालेर गाउन कस्तो हुँदो हो,
वियोगान्त गजल बनाएर बहर जिन्दगीको।

प्रकाशित: १९ माघ २०८० १०:१२ शुक्रबार

अक्षर मुक्तक