कला

जानुका गुरागाईको ‘परिवेशका सुसेली’ सार्वजनिक

साहित्यसुधा नेपालले जानुका गुरागाईको गजलसंग्रह ‘परिवेशका सुसेली’ कृतिको लोकार्पण गरेको छ।

प्रमुख अतिथि गजल विद्वत्शिरोमणि घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजलको लोकार्पण गर्दै गजलबारे विस्तृत प्रकाश पार्दै छन्द कवितामा कठोर नियम हुन्छ भने गजलमा लचकता हुन्छ भन्ने बताए। उनले गजललाई गद्य विधाको प्रविधाका रूपमा स्विकार्नुपर्ने पनि बताए।

कार्यक्रमका अध्यक्ष गणेश घिमिरे ‘मार्मिक’ले कृतिकारको परिचय दिंदै उनी सानैदेखि तीक्ष्ण र मिहिनेती रहेको र आफ्नी छात्राको यस किसिमको सिर्जनशीलताले आफूलाई गौरवान्वित बनाएको बताए।

हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’ले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै लोकार्पित कृतिबाट दुई गजल गाएका थिए भने क्रमशः मिलनकुमार ढुङ्गाना, सविता बराल, पूजन मिश्र र सुशीला धमलाको सुमधुर आवाजमा गुन्जिएका गजलले सबैलाई मन्त्रमुग्ध बनाएका थिए। सर्जकका परिवारका तर्फबाट गजलकार जानुकाका देवर लक्ष्मीप्रसाद निरौलाले सम्बोधन गरेका थिए।

साहित्यसुधा नेपालका उपाध्यक्ष गणेश घिमिरे ‘मार्मिक’को अध्यक्षता र योगेन्द्र पौडेलको  कुशल सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी आजीवन सदस्य पवित्रा दाहालको स्वागत मन्तव्य रहेको थियो।

विशिष्ट अतिथिको रूपमा बोल्दै डा.रामप्रसाद ज्ञवालीले आफ्नो सारगर्वित मन्तव्यका क्रममा नेपालमा गजलले विधागत मान्यता नपाए पनि यो एक सुन्दर र गेयात्मक उपविधाका रूपमा फस्टाएको चर्चा गर्दै जुनसुकै सिर्जनामा विचार र भावनाको सौन्दर्य हुनुपर्नेमा जोड दिंदै सौन्दर्य फुटमा होइन एकतामा हुन्छ भन्दै सर्जकले युगयुगान्तरसम्म बाँच्न सक्ने खालको सिर्जना गर्नुपर्ने कुरा बताए। उनले लयको सौन्दर्य र अर्थको गाम्भीर्यले सिर्जनालाई अमर बनाउने पनि बताए।

उक्त कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डा.प्रदीपकुमार मैनाली र नारायण जोशीले पनि शुभकामना मन्तव्य राखेका थिए।

लोकार्पित कृतिका कृतिकार गुरागाईँले आफूलाई साहित्यमा प्रोत्साहित गर्ने आफ्ना पति र सुपुत्रीको साथै गजल लेखनमा डोर्‍याउने व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्दै सधैं साहित्य सिर्जनामा लागिरहने प्रतिबद्घता पनि व्यक्त गरेका थिए।

कार्यक्रमका अध्यक्ष ‘मार्मिक’ले साहित्यसुधाकबारे चर्चा र धन्यवाद ज्ञापनसँगै कार्यक्रम समापन भएको थियो।

प्रकाशित: १४ आश्विन २०८० ०५:५५ आइतबार

अक्षर