छायाँछवि क्रियशनले १२ वर्षदेखि गर्दै आएको साँस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्यूजिक अवार्डको १२औं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रूपमा आह्वान गरेको छ।
नेपाली खास गरी हिन्दु नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्ष उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावना गीत मार्फत प्रस्तुत गर्ने चलन छ। पहिलेपहिले खासगरी घरबाट पीडित बुहारीहरूको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भए पनि समय क्रममा त्यसमा आएको परिवर्तनसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ। यही क्रमका गीतहरू गाउँघरका जमघटबाट अझै पर हटेर मूलत: गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ।
तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन्। यही तीजका स्रष्टाहरू पुरस्कृत होऊन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाऊन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अध्यक्ष शान्तिप्रियले बताएका छन्।
छायाँछविका अध्यक्ष शान्तिप्रियले १२ औं तीज म्यूजिक अवार्डमा तीजका २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए। कार्यक्रममा विभिन्न सम्मान एवं पुरस्कार पनि प्रदान गरिने बताए।
१२औ छायाँछवि तीज म्यूजिक अवार्डका लागि साउनभर छायाँछविको कार्यालय डिल्लीबजार अथवा इमेल मार्फत पनि गीत दर्ता गर्न सकिनेछ।
प्रकाशित: २ श्रावण २०८२ १३:४१ शुक्रबार