कला

हामीले गायौं मुक्तिका गीतहरू

कविता

कविताः हामीले गायौं मुक्तिका गीतहरू

 

कलम थियो, मसी पनि थियो

तर निबमा तिम्रो हैकम थियो

लेख्न पाइन्थ्यो

तर,

त्यसमा तिम्रो खातिरदारी हुनैपर्थ्याे  

किताबका गातागातामा

स्कुलका भित्ताभित्तामा

तिम्रा सपरिवार तस्वीर अंकित थिए।

माइक थिए, स्पिकर र लाउड स्पिकर पनि थिए

तर,बोलीमा तिम्रो लगाम थियो

घिच्रोमा बन्दुक तेर्स्याएर

तिमी भन्न लगाउँथ्यौ

पुकार्‍याै जय प्रेमले, हामी नेपाली साराले।

हामीलाई त्यो पचेन

कदापि पच्ने कुरै थिएन

खर्क, खेत र खलिहानहरूमा

हामीले गायौं मुक्तिका गीतहरू

हामीले बजायौं क्रान्तिका धुनहरू

हामीले स्वर ठूलो पारेर

हातका मुठी कसेर गायौं

हातमा कलम हुनेहरू, कलम लिएर उठ।

हामीलाई यो दिन चाहिएको थियो

हामीले रगतपसीना बगाएर

ल्याइछाड्यौ यो दिन

तिमीलाई त्यही दिन प्यारो थियो

तिमी बर्बराइरहेछौ त्यो दिन सोचेर।

त्यो दिन अब कहिल्यै फर्किने छैन

हामी उन्मुक्त भएर गाइरहेछौं हाम्रो गीत।

तिमी पनि गाउन पाउँछौं तिम्रो गीत

किनकि यहाँ आजभोलि

आआफ्नो गीत गाउन पाइन्छ।

प्रकाशित: १५ जेष्ठ २०८० ०६:२२ सोमबार

अक्षर