कला

'छोरी! मलाई कसैले माया गर्दैन'

बुद्धिसागर -
घर्‍याक्क ढोका उघ्रियो। मनिषा कोइराला फुत्त बाहिर निस्किन्। उनी खरानी रंगको ट्र्याक सुटमा थिइन्। सामान्य चप्पल। आँगनको कुनातिर प्लास्टिकको कुर्सी तानेर ल्याइन्। उनको अनुहारमा अनिद्रा झोल्लिएको थियो। अनुहारमा मेकअप थिएन, त्यसैले उनको देब्रे गालामा लमतन्न परेको निलो नसा प्रस्ट देखिन्थ्यो। अनुहारमा भावुकता देखिँदा नसा झन् गाढा हुन्थ्यो। सायद, मनिषा भर्खरै योग सकेर तल झरेकी थिइन्।

बिहानको चिर्चिराउँदो घामबाट जोगिएर बसेकी उनी, अझै शोकमा थिइन्। मेराअघि सुप्रसिद्ध 'हिरोइन' होइन, सामान्य युवती थिइन्, जो भर्खरै आत्मा कुटिरो पारेर हिँडेका सानोबुवालाई खुब माया गर्छिन्।

'पछिल्लो समय सानोबुबासँग मेरो निकटता त्यतिसाह्रो थिएन,' उनले सुरुमै भनिन्।
मैले टिपँ।

यता गिरिजाबाबुको राजनीति उत्कर्षमा थियो, उता मुम्बईमा मनिषाको कलाकारिता। यता गिरिजाबाबुको राजनीतिमा खुबै उतारचढाव आयो, उता मनिषाको जीवनमा। यता गिरिजाबाबुको पछिल्लो समय रोग र व्यस्ततासँग लड्दै बित्यो, उता मनिषाको समय ओरालो लाग्दै गएको करिअर थाम्दै।
त्यै पनि 'अति व्यस्तता'का बीच 'आत्मियता' सम्भव छ!
बेलाबेला मुम्बईबाट मनिषा गिरिजाबाबुलाई फोन गर्थिन्। गिरिजाबाबु फोनमा लामो कुरा गर्दैनथे।
'सानोबुवा, सन्चै हुनुहुन्छ?' मनिषा सोध्थिन्।
'छोरी, अब म बम्बे आउँछु,' गिरिजाबाबु भन्थे, 'तँसँगै बस्छु। म थाकेँ।'
तर, गिरिजाबाबु कहिल्यै बम्बे गएनन्। थाकेर पनि बसेनन्।

मनिषा एकछिन टोलाइन्। उनी झट्ट भन्न सक्दिनन् — गिरिजाबाबुले उनलाई कहाँ–कहाँ के–के भनेका थिए! शोकमा यस्तै हुन्छ — आँखाभरि, भर्खरै कहिल्यै भेट नहुनेगरी बिदा भएको मानिसको अनुहारमात्र आइरहन्छ।

मनिषाले सम्झिइन् : 
दुई वर्षअघि भाइ सिद्धार्थको बिहे थियो। मनिषाले 'जसरी पनि तपार्इं आउनुपर्छ' भनेर सन्देश पठाइन्। 
'छोरी, म आउन सक्दिनँ,' गिरिजाबाबुले फोनमा भने, 'बिरामी छु।'
आएनन्।
केही दिनपछि, मनिषा 'नवविवाहित जोडी'लाई लिएर गिरिजाबाबुकोमा पुगिन् — आशीर्वाद थाप्न। गिरिजाबाबु बिरामी नै थिए र थकित। उनले आशिष दिए। बिरामी भएर धुमधुम्ती बसिरहँदा मनमा धेरै कुरा खेल्छन्, त्यसैले गिरिजाबाबु उदास थिए। 
सामूहिक फोटो खिच्दा भने अलिकति हाँसे। 
त्यही दिन गिरिजाबाबुले भने, 'मलाई जो–जो भेट्न आउँछन्, केही चाहिएरमात्र आउँछन्।'
मनिषाले गिरिजाबाबुको दुब्लो हात समाइन्।
गिरिजाबाबु झन् भावुक भए, 'छोरी! मलाई कसैले माया गर्दैन। म एक्लो छु।'
....

बनारस। मनिषा त्यहीँ हुर्किन्। मनिषा बनारसका स्मृतिहरू त्यतिबेलाका मात्र सम्झिन्छिन्, जब उनी ८–९ कक्षामा पढ्थिन्। मनिषाका गहिरो आत्मियता सुशीला कोइरालासँग थियो। गिरिजाबाबु पनि सँगै थिए, उनी दिनभरि कहा–कहाँ पुग्थे! साँझ ७–८ बजेतिर फर्कन्थे थाकेर। गिरिजाबाबु प्रायः बाहिरका तनाव घरमा देखाउँदैनथे।
'एकदमै नजिकका मानिसले सानोबुवाको चिन्ता देख्न सक्थे,' मनिषा भन्छिन्।
घर पस्नेबित्तिकै गिरिजाबाबुको प्रश्न हुन्थ्यो, 'के–के खाना छ, भाउजु?'

तारेको माछा गिरिजाबाबुलाई सबैभन्दा प्रिय थियो। चित्त नबुझेको तरकारी देख्यो भने उनी बेस्मारी नाक खुम्च्याउँथे।
'सबैले खाए?' सधैं खाना खानुभन्दा अघि गिरिजाबाबु सोध्थे।
थोरै खान्थे तर स्वादले।

गिरिजाबाबु घरमा आउनेबित्तिकै अनुशासित वातावरण बन्थ्यो। उनको कोठा सधैं चिरिच्याट्ट। मिलेको तन्ना। सुकिला लुगा उनका कमजोरी थिए।

जीवनको अत्तरार्द्धमा बिरामी भएर ओछ्यानमा लडिरहेको भएपनि, कोही मान्छे भेट्न आयो भने उनी चिटिक्क परेर बस्थे। उनी एक्लो हुँदा नक्कली दाँत झिकेर राख्थे तर अरूका अगाडि कहिल्यै थोते हाँसो हाँसेनन्।

मनिषा मुस्कुराउँछिन्, 'मान्छे आउने कुरा थाहा पायो कि सानोबुवा दाँत लगाइहाल्नुहुन्थ्यो। उहाँ आफूलाई कहिल्यै 'डिस्ग्रेसफुल' देखाउनु हुन्नथ्यो।'

बनारस छँदा नै मनिषाले थाहा पाएकी थिइन् — बुवाहरू क्रान्तिमा लागेका छन्। मनिषा भन्छिन्, 'मलाई सुशीला आमा धेरै कुरा सुनाउनुहुन्थ्यो।'

मनिषालाई अहिले पनि झल्झली सम्झना आउँछ — नेपाल र भारतका कैयौं नेता भेट्न घरमै आउँथे। कैयौं गोप्य बैठक हुन्थे। जब बिपी घर आउँथे, हुरी आएजस्तो हुन्थ्यो, गएपछि निसम्म। पात पनि नहल्लिएजस्तो।

अहिले चिया पिउँदै गर्दा लाग्छ — त्यो निसम्म वातावरणले परिवारका मान्छेलाई सधैं तर्साइरह्यो।

त्यसताका गिरिजाबाबुलाई सिनेमा होस् या संगीत, रुचि थिएन। क्रान्तिमा लागेका मान्छे क्रान्तिकारी फिल्म भनेपछि, हेर्लान् नि भनेर मनिषाहरूले कर गरेर फिल्म हल पुर्‍याएछन्। फिल्म थियो — मनोज कुमारको 'क्रान्ति'। मनिषा र सुशीला कोइरालाका साथमा थिए — बिपी, चन्द्रशेखर र गिरिजाबाबु।
फिल्म सुरु भो।
पन्ध्र–बीस मिनेटपछि एकएक गर्दै  फुत्त–फुत्त बिपी, चन्द्रशेखर र गिरिजाबाबु निस्केर भागेछन्।

'लोग्नेमान्छेहरू जति हिँडे,' चियाको कप भुइँमा राख्दै मनिषा हाँसिन्, 'हामी आइमाइले मात्र फिल्म हेर्‍यौं।'

जब गिरिजाबाबु काठमान्डुको राजनीतिक माहोलमा व्यस्त भए, मनिषाले आफ्नो बाटो रोजिसकेकी थिइन्। बम्बे जाने भइन्। 
मनिषाको कलायात्रामा धेरै नै समर्थन सुशीला आमाले नै गरिन्। उनले भनेकी थिइन्, 'जे मन लाग्छ गर तर पहिलो बन।'
मनिषा सफल भइन्। पहिलो पनि बनिन्।
मनिषाले बम्बे पुगेर के–के गरिन् — गिरिजाबाबुलाई के थाहा! भेट हुँदा मनिषा आफै भन्थिन्, 'सानोबुबा, मैले त अवार्ड पाएँ नि!'
'छोरी... यु डन गुड,' गिरिजाबाबु हाँस्दै बुढी औंला उठाउँथे।
र, पनि मनिषालाई चित्त दुख्ने कुरा एउटै हो — सानोबुवाले उनको एउटै फिल्म हेरेका छैनन्।
यत्ति सुनाएर मनिषा चुप लागिन्।

घरको मूलढोकानेर पिता प्रकाश कोइराला चुरोटको सर्को तान्दै दुई–तीनजना कार्यकर्तासँग कुरा गरिरहेका छन्। घामको एकधार मनिषाको देब्रे गालातिर सरिरहेको छ।
एकैछिनमा मनिषा मुस्कुराइन्। उनले एउटा नयाँ कुरा सम्झिइन्। कुरा यस्तो रैछ :  गिरिजाबाबु जमानामा 'चेन स्मोकर' नै थिए। कैयौं प्रयासपछि, उनले धुमपान छाडे।
'सानोबुबा तपार्इंलाई तलतल लाग्दैन?' एकदिन मनिषाले सोधिछन्।
'लाग्दैन, छोरी,' गिरिजाबाबु हाँसेछन्, 'अचेल त म सपनामा चुरोट पिउँछु।'
...

दुःख पर्दा एक्लै बस्ने स्वभाव थियो — गिरिजाबाबुको। मनिषालाई थाहा छ — गिरिजाबाबु हत्तपत्त मनको कुरा कसैलाई भन्दैनथे। भन्छिन्, 'सानोबुवा खुसी पनि एकदमै कन्ट्रोल गर्नुहुन्थ्यो।'
सत्तामा हुन् या बाहिर, उनको स्वभावमा कुनै परिवर्तन आउँदैनथ्यो।

जब सुशीला कोइराला हिँडिन्। गिरिजाबाबु त्यसपछि, एकदमै रुन्चे देखिएका थिए। केही दिन त उनी भित्रकोठामा रोएर फर्किएजस्ता देखिन्थे। एकदम कमजोर। 
'उहाँ मान्छे मरेको देख्दा कहिल्यै रोएको देखकी छैन, केवल अनुभव गरेकी छु,' मनिषा सुनाउँछिन्, 'हेर्नेलाई त थाहै हुँदैनथ्यो।'

सुशीला आमा गएपछि, मनिषालाई पनि ठूलो चोट पुग्यो। मनिषा जब प्लेन चार्टर गरेर आइपुगिन्, उनको चिता जलिसकेको थियो।
अहिले पनि त्यो चिताले मनिषाको आत्मा पोलिरहन्छ।
मनिषा भन्छिन्, 'सुशीला आमा गएपछि सानोबुबा हामीसँग निकट हुनुभएको हो।'

नजिक भएपछि, मायाप्रेम हुन्छ, कहिलेकाहीँ चर्काचर्की पनि।
पिता प्रकाश कोइरालाले कांग्रेसबाट टिकट नपाउँदा मनिषा बेस्मारी रिसाइछन्। 
'उहाँ पनि समर्पित कार्यकर्ता हो,' उनले भनिन्, 'टिकट किन नदेको?'
मनिषा कराइरहिन्, गिरिजाबाबुले सुनिरहे। बोलेनन्।
पछि थाहा भो — टिकट दिएछन्।
रौतहटबाट टिकट दिएको थाहा पाएर मनिषा फेरि कराइछन्, 'तपार्इंले हराउनलाई रौतहटको टिकट दिनुभएको हो! किनभने त्यो कांग्रेसको पकेट क्षेत्र होइन।'
गिरिजाबाबु हाँसिरहे।
गिरिजाबाबु कुनै पनि कुराको झ्वाट्ट जवाफ दिँदैनथे, दिएनन्। उनले कैयौं जवाफमा कतिको साथ पाए, कतिमा पाएनन्। कहिले 'नाम' भयो, कहिले 'बद्नाम'।
मनिषालाई अर्को कुरा पनि थाहा छ। सुनाइन्, 'उहाँका एकदमै नजिक बस्नेहरूले गलत सल्लाह दिएको पनि देखेकी छु।'
पछिल्लो समय गिरिजाबाबुसँग आफ्नो पुस्ताका साथी थिएनन्। निकटतम मित्र पनि कोही थिएनन् जसलाई उनी 'मनका कुरा' सुनाउन सक्थे। उमेरको सिढी उक्लिएर धेरै माथि पुगेपछि उनलाई यस्तै मित्रहरूको अभाव महसुस भएको थियो।

मनिषा उदास हुन्छिन्, 'उहाँ सधैं एक्लो हुनुहुन्थ्यो।'
...

सिनेमा र जीवनमा यही फरक छ — सिनेमामा मनिषाले चिता जल्नुअघि कैयौं मानिसको अनुहार हेरेकी छन्। तर, यथार्थमा उनले निकटतम व्यक्तिहरूको अनुहार अन्तिमपल्ट हेर्न पाएकी थिइनन्।
बिपी खस्दा मनिषा सानै थिइन्, मृत्युलाई खासै महसुस गर्न सकिनन्।

यसपालि रोगले बेस्मारी न्याकेका गिरिजाबाबुलाई भेट्न गएकी थिइन्। गिरिजाबाबुले ट्वाल्ल परेर हेरे, तर बोल्न सकेनन्। एकदम कमजोर देखिन्थे। अनुहारमा रौनक थिएन, फुङ्ग उडेको थियो।
आँसु थाम्दै मनिषा फर्किन्।
मनिषालाई लागिरहेको थियो — सानोबुबा यस्ता कैयौं अवस्थाबाट गुज्रिसक्नुभएको छ। उहाँ रोगलाई जितेर फर्किनुहुन्छ।
तर, सधैं 'मृत्युको ग्राफ'लाई तोड्न सकिन्न।

शनिबार। मनिषा एउटा साहित्यिक कार्यक्रममा थिइन् — अतिथि भएर।
दिउँसो एक बजेतिर फोन आयो।
फोन सहयोगी हरिदाइले गरेका रैछन्। उनले हतास स्वरमा भनेछन्, 'आइहाल्नुपर्‍यो।'
मनिषाको मुटु हिउँ भयो।
उनी अत्तालिँदै पुग्दा सानोबुबा त हिँडिसकेछन्!

घर पुग्दा भीडभाड थियो। गेटबाहिर मानिसहरूको ठेलमठेल। सबैका गला अवरुद्ध। पत्रकारले अन्तर्वार्ता पनि लिन खोजे, तर मनिषाको बक फुटेन।
उनी भीड पन्छाउँदै भित्र पसिन्।

घरभित्र सबै सन्न थिए। सबैका आँखा रसिला। छट्पटी। हतारमा कोही कता कुदिरहेछ, कोही कता।
डाक्टरहरू अझै प्रयास गरिरहेका थिए — अन्तिमपल्ट। आखिरमा डाक्टरले पनि हरेस खाए!

मनिषाले गिरिजाबाबुको मृत शरीर देखिन्। एकदम दुब्लो। न त कुनै कम्पन छ, न त कुनै स्पन्दन। जीवनको हजारौं मिल हिँडेर आएको मानिस यसरी निर्जीव पनि हुन सक्दोरैछ। गोडाहरू यति शान्त पनि हुन सक्दारैछन्। अनुहारमा पीडाको कुनै रेखा छैन। बुढो मानिस यत्ति चिर निदाउँदोरैछ — सन्तुष्ट बालक निदाएजस्तो।

'मान्छेको अन्तिम सत्य यै रैछ,' त्यस घडीमा मनिषाले पाएको ज्ञान हो।  
अर्को कोठामा गएर मनिषाले केहीबेर विपश्यना गरिन्।
'जीवन र मृत्युको बीचमा अलिकति मात्र समय हुँदोरैछ,' अहिले उनलाई लाग्छ, 'त्यतिबेलासम्म आफूलाई चिनिसक्नुपर्छ।'
...

घाम झन् चर्को हुँदै गयो। मनिषाको लन्च टाइम पनि हुन थाल्यो। कुरा भने लम्बिँदै गएका छन्। यसमा मनिषाकै ठूलो हात छ।

चिता जलिरहँदा पनि लाग्छ, कहिलेकाहीँ त्यही मानिस त्यहाँ आइपुग्छ किजस्तो। मैले सोधेँ, 'तपाईंलाई त्यस्तो लागेन?'
उनी आधा ओठ हाँसिन्।
'लागेन। कालगतिले मरेकाहरूको सम्झनाले जीवनको शाश्वत सत्य याद दिलाउँछ,' थपिन्, 'दुर्घटनामा मरेकाहरूको सम्झनाले भने पछिसम्म मृत्युको त्रास दिइरहन्छन्।'
अब मनिषासित सानोबुवाका स्मृतिहरू मात्र रहनेछन्। र, रहनेछन् — अझै संघर्ष गर्ने प्रेरणा।
मनिषा गिरिजाबाबुलाई ऊर्जाको स्रोत मान्छिन्। युवाकालमा पनि उस्तै, बुढेसकालमा पनि उस्तै, बिरामी हुँदा उस्तै, उनले गिरिजाबाबुको अनुहारमा सधैं ताजगी देखेकी छन्। र, देखेकी छन् एउटा हौसला। भन्छिन्, 'उहाँ कमिटेड पर्सन — स्ट्रङ म्यान हुनुहुन्थ्यो।'
मनिषालाई लाग्छ —  सानोबुवाले न त घरबार जोर्नु भो, न त पैसा। जे जति गर्नु भो, अरूकै लागि।
'सानोबुवाले एकदमै त्याग गर्नुभाछ,' अहिले त्यागको परिभाषा मनिषालाई राम्रोसँग थाहा छ, 'मैले कहिल्यै होलीडेमा देखिनँ। पारिवारिक वातावरणमा पनि देखिनँ।'

भारतमा मनिषाका साथीहरूले खबर पाएर समवेदना व्यक्त गरेछन्। मनिषालाई लाग्छ, 'एक–दुईपल्ट पत्रपत्रिकामा समाचार आउलान्, त्यत्ति हो।'
मृत्युको अर्थ समाचारभन्दा धेरै माथि हुन्छ, मनिषा सोच्छिन्। किनभने, जाँदा सानोबुवाले छोरीलाई धेरै कुरा सिकाएका छन्।

जीवनभर गिरिजाबाबुले मनिषालाई कुनै उपहार दिएका रैनछन्। किनभने मनिषाले कुनै पनि दसैंमा गिरिजाबाबुको हातबाट टिका थाप्न पाएकी छैनन्। उपहार त मनिषाले पनि दिने मौका पाइनछन्। 
केही दिन नपाएको गुनासो छ? मैले सोधेँ।
'छैन,' उनले भनिन्, 'म के दिन सक्थेँ र?'
त्यत्तिकै सानोबुवा भइँदैन — गिरिजाबाबुले धेरै अर्थमा मनिषालाई 'जीवनको अर्थ' सिकाएर गएका छन्। उनी भन्छिन्, 'म पनि कम्तीमा ८६ वर्षको उमेरसम्म सक्रिय हुनेछु। आफ्ना लागि धेरै गरेँ, अब अरूका लागि गर्नु छ।'
यत्ति भनेर मनिषा मौन भइन्।
मनिषालाई डर पनि छ — जीवनको उत्तरार्द्धमा कतै म पनि एक्लो त हुन्नँ?
ओठहरू बिस्तारै काँपे, प्वाँख हल्लेजस्तो।
...

विजेताहरू आफ्नै अन्तर्आत्मामा 'एक्लो' भए पनि केही छैन। किनभने, त्यस्ता 'एक्ला' मान्छेको साथमा सारा संसार हुन्छ।
गिरिजाबाबुले सावित गरिदिएका छन्।

प्रकाशित: १४ चैत्र २०६६ ०१:३१ शनिबार