कला

चुच्चे नक्सा सजाएर मात्र भएन

पाँच मुक्तक

 १.मुक्तक

आएन मज्जा पिउँदा बारमा तिम्रो भट्टीमा जस्तो,

म्यारिजमा नि छैन दम बालपनको गट्टीमा जस्तो।

महलबाट गाडी चढी जान्छौ नि व्यायामशालामा,

कहाँ छ र मज्जा तारा गन्दै सुत्ने त्यो चट्टीमा जस्तो।

 २.मुक्तक

कस्लाई के थाहा पहिल्यै को जलेर मर्छ, को मरेर जल्छ भनेर,

ज्योतिषलाई आफ्नै त थाहा छैन, भाग्य निभ्छ वा बल्छ भनेर।

सूर्यको राप र ताप पनि सधै एकनासको हुँदैन अरूको के कुरा,

छैन कुनै निश्चितता सधैं पद, पावर, पैसाको रवाफ चल्छ भनेर।

  ३.मुक्तक

अघि बढन खोज्यो खुट्टा तान्छन् यहाँ,

काम गर्न लाग्यो हात बान्छन यहाँ।

सक्षम र इमानदारहरू पलायन हुँदैछन्,

कामचोरहरूलाई योग्य ठान्छन् यहाँ।

 ४.मुक्तक

छेक्छ बादलले घामलाई के दोष,

मूर्ति बोलेन रे! धामलाई के दोष।

च्यातचुत पारी चिठी फाल्यौ अरे,

लेख्छ कलमले खामलाई के दोष।

 ५.मुक्तक

चुच्चे नक्सा सजाएर मात्र भएन,

एमसीसी भजाएर मात्र भएन।

खोजेको हो विकास र समृद्धि,

शंख-घण्टी बजाएर मात्र भएन।

प्रकाशित: १ फाल्गुन २०७९ ०३:४६ सोमबार

अक्षर