कला

प्राडा गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान

अक्षरमार्गले हरेक वर्ष प्रदान गर्दै आएको श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान यो वर्ष वरिष्ठ साहित्यकार तथा समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमलाई प्रदान गर्ने भएको छ।

नेपाली समालोचना तथा साहित्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकामा समालोचक गौतमलाई सो सम्मान प्रदान गर्न लागिएको हो। यो सम्मान जगतमाया कर्माचार्यले साहित्यकार तथा समाजसेवी श्रीराम कर्माचार्यको स्मृतिमा स्थापना गरेका हुन्।

त्यसैगरी सांस्कृतिक निबन्धशिल्पी, अनुसन्धाता प्राडा पुरुषोत्तम लोचन श्रेष्ठलाई ‘अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान’ समर्पण गरिने भएको छ। यो सम्मान समाजसेवी प्रह्लाद केसीले आफ्नो पिता नरबहादुर केसीको स्मृतिमा स्थापना गरेका हुन्।

नेपाली भाषा, साहित्य र बालसाहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका स्रष्टा प्राडा गार्गी शर्मालाई यो वर्षको कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान समर्पण गर्ने भएको छ। उक्त सम्मान समाजसेवी राजेशकुमार श्रेष्ठले आफ्ना पिता कृष्णदास श्रेष्ठको स्मृतिमा स्थापना गरेका हुन्।

साहित्यिक पत्रकारिता क्षेत्रका नरेशवीर शाक्यलाई यो वर्षको कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान समर्पण गर्ने निर्णय भएको छ। यो सम्मान अक्षरमार्गका सहसम्पादक ध्रुवकृष्ण ताम्राकारले आफ्ना मातापिता सुनमाया ताम्राकार र कृष्णराज ताम्राकारको स्मृतिमा स्थापना गरेका हुन्। सम्मानित स्रष्टाले इलोह, लायकु, पेज थ्री, नः ली, लुँ आख लगायतका पत्रिकाहरू चलाउँदै छन्।

उक्त सम्मान अक्षरमार्गको वार्षिक उत्सवमा प्रदान गरिने अक्षरमार्गका संयोजक सूर्यप्रसाद लाकोजले बताए।                                                                

प्रकाशित: २८ मंसिर २०७९ ०४:४१ बुधबार

अक्षर