निर्वाचन विशेष

‘भाँडाकुँडा दियौँ तर मत दिँदैनौँ’

मतदान गराउनका लागि निर्वाचन टोली तथा सुरक्षाकर्मीको दुई फरक-फरक टोली जिल्लास्थित बबई १ र बबई ७ को मतदान केन्द्रमा पुगे। बबई १ स्थित जनता आवासीय मावि जिला र बबई ७ स्थित देउती मावि मलै मतदान केन्द्रमा निर्वाचनका लागि पुगेको टोलीलाई स्थानीयले सबथोक सहयोग गरे।

खानपिनका लागि भाँडाकुँडादेखि बास बस्नका लागि बिस्ताराको समेत व्यवस्था गरिदिए। अर्थात निर्वाचनका लागि खटिएको टोलीलाई स्थानीयहरूले गर्नुपर्ने सबै सहयोग अन्तर्गत सरसामान दिए। तर निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराएका स्थानीयले मत भने दिएका छैनन्। उनीहरू भन्छन्, ‘सबै सहयोग गरेका छौँ, तर मत दिँदैनौँ’। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने यि दुई मतदान केन्द्रका मतदाताहरूको माग बस्ती स्थानान्तरणको हो।  

वन्यजन्तुबाट असुरक्षित रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरेका उनीहरूमध्य अहिलेसम्म यि दुई मतदान केन्द्रमा एक मत पनि खसेको छैन। ‘हामीले खाना पकाउनका लागि गाउँलेहरू मिलेर निर्वाचन टोलीलाई भाँडाकुँडा दियौँ, ओढ्ने ओछ्याउने केही कपडा पनि दियौँ, मतदान स्थल निर्माण गर्नका लागि सहयोग पनि गर्यौँ,’ बस्ती स्थानान्तरण संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर राङु मगरले भने, ‘हामीहरूले उहाँहरूलाई गर्नु पर्ने यो हाम्रो दायित्व हो, हामीले उहाँहरूको सहजताका लागि दिनु पर्ने चिज सबै दिएका छौँ, तर मत भने दिँदैनौँ।’

मतदान बहिष्कार गरेका स्थानीयहरू निर्वाचनका लागि खटिएको टोलीसँग निरन्तर समन्वयमै छन्। उनीहरूले निर्वाचन टोलीको अप्ठ्यारोबारे जानकारी लिइरहेका छन् र सहयोग पनि गरिरहेका छन्। उनीहरूले निर्वाचन टोलीलाई कुनै असुविधा नहोओस् भनेर मतदान अधिकृतसँग समन्वय गरिरहेका छन्। ‘म मतदान अधिकृतलगायत निर्वाचनका लागि खटिएको टोलीसँग बसिरहेको छु, उहाँहरूलाई कुनै असुविधा भए नभएको बारे कुराकानी गरिरहेको छु,’ संघर्ष समितिका अध्यक्ष मगर भन्छन्, ‘आफूहरूले मतदान नगर्ने भनेर मैले जानकारी पनि गराएको छु, उहाँहरू निर्वाचनको प्रकृयाका लागि खट्नु भएको छ, हामीहरू उहाँहरूलाई मत बाहेक सबै कुराको सहयोग गर्छौँ।’ 

निर्वाचन बहिष्कार गरेका दुई मतदान केन्द्रका मतदाताहरूलाई कसैले पनि मत खसाल्नका लागि भनेको भने छैन। दलका प्रतिनिधिहरूले समेत मतदान गर्नका लागि आफूहरूलाई नभनेको अध्यक्ष मगरले जानकारी दिए।  

बबई १ स्थित जनता आवासीय विद्यालय जिला मतदान केन्द्रमा ६ सय ८२ र देउती मावि मतदान केन्द्रमा ५ सय ८५ मतदाता छन्। तर अहिलेसम्म यि दुई मतदान केन्द्रमा एक मत पनि खसेको छैन। यि दुई मतदान केन्द्र दाङ क्षेत्र नम्बर ३ मा पर्दछन्।

यो पनि पढ्नुहोस्

बस्ती नसारिएको भन्दै दुई मतदान केन्द्रमा शून्य मत

प्रकाशित: २१ फाल्गुन २०८२ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App