निर्वाचन विशेष

इलाममा शान्तिपूर्ण रूपमा मतदान जारी

इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार रोङ गाउँपालिकास्थित प्युरेको मतदान केन्द्रमा ज्येष्ठ नागरिकबाट जारी गर्नलाई केही ढिलो भएपनि अरू मतदान केन्द्रमा समयमै मतदान जारी भएको बताए।

इलाम क्षेत्र २ का नेकपा एमाले उम्मेदवार सुहाङ नेम्बाङले इलाम नगरपालिका ७, मरब क्याम्पस केन्द्रमा मतदान गरे। यही क्षेत्रका नेपाली कांग्रेस उम्मेदवार भेषराज आचार्यले इलाम नगरपालिका ११, सोयाकको महेश्वरा आधारभूत विद्यालय केन्द्रमा मतदान गरेका छन्।

इलाम क्षेत्र १ का कांग्रेस उम्मेदवार निस्कल राईले सूर्योदय ४ को जनक मावि केन्द्रमा र एमाले उम्मेदवार काजीमान कागतेले सूर्योदय ८ को सिद्धि आवि केन्द्रबाट मतदान गरेका छन्।

मतदानमा ज्येष्ठ नागरिकसमेत उत्साहपूर्ण रूपमा सहभागी भइरहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

इलाममा कुल  २ लाख ३१ हजार ८ सय ९ मतदाता छन्। यसमध्ये महिला १ लाख १२ हजार १ सय ५८, पुरुष १ लाख १९ हजार ६ सय ४८ र अन्य ३ छन्। निर्वाचन क्षेत्र १ मा १ लाख १२ हजार ३ सय २० र क्षेत्र २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

इलाममा १ सय मतदानस्थल र २ सय ९२ मतदान केन्द्र छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १०:२१ बिहीबार