राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेपछि रास्वपालाई अहंकारबाट टाढा रहन पुष्पकमल दाहालले सुझाव दिएका छन्।
बिहीबार रुकुम पूर्वबाट जित प्राप्त गरेसगैं उनले नयाँ दलले ठूलो जनसमर्थन प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो सफलता पछि नेतृत्वले विनम्रता कायम राख्नुपर्ने बताएका छन्।
दाहालले भने, ‘नयाँ पार्टीले ठूलो विजय हासिल गर्नु भएको छ। उहाँहरूलाई म बधाई दिन चाहन्छु र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तर यदि यही विजयले अहंकार जन्मायो भने त्यो देशका लागि दुर्भाग्यपूर्ण हुन सक्छ।’
रास्वपाका केही नेता क्याबिनेटमा यसअघि पटक–पटक मन्त्री भइसकेको बताउँदै राजनीतिक नेतृत्वले देशको परिस्थितिलाई बुझेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।
दाहालले आफूले २०६४ सालम यस्तै जनलहर देखिसकेको भन्दै नयाँ विजयी नेताहरूलाई अहंकारबाट बचेर काम गर्न आग्रह गरेका हुन्। ‘म तपाईहरूको लागि ठूलो गुरु हुन सक्छु, यसकारण अनुभवबाट सिक्दै विनम्र भएर देश र जनताको हितमा काम गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: २३ फाल्गुन २०८२ ०९:३४ शनिबार