निर्वाचन विशेष

समानुपातिकमा ५१ लाख बढी मतसहित रास्वपाको वर्चस्व : कति छ अरू दलको मत?

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता हासिल गरेको छ। 

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म गणना गरिएको कुल एक करोड ७ लाख ३२ हजार ९ सय ३२ सदर मतमध्ये रास्वपा एक्लैले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गरेको छ। यो सङ्ख्या कुल गणना गरिएको मतको झन्डै आधा हो।

पुराना र स्थापित दलहरू भने यसपटकको समानुपातिक दौडमा निकै पछाडि देखिएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३ सय ३६ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) १४ लाख ४८ हजार ४ सय १२ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ। यी दुई ठुला दलको संयुक्त मत जोड्दा पनि रास्वपाको एक्लो मतभन्दा निकै कम रहेको छ।

अन्य दलहरूको अवस्था हेर्दा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १ सय ७१ मत प्राप्त गर्दै आफूलाई चौथो शक्तिका रूपमा उभ्याएको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५ सय ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४ सय ६६ मत ल्याएका छन्।

जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३ सय १४ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४ सय ९७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २७ फाल्गुन २०८२ ०९:५६ बुधबार