नेपाली कांग्रेसले लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गर्ने प्रतिज्ञा गरेको छ। जनकपुरमा बुधबार आयोजित सभामा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेसले लोकतन्त्र, नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने अठोट गरेको हो। जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहास मूल प्रेरणा भएको कांग्रसले भनेको छ।
‘हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ। कानुनको परिधिभित्र रही इच्छाअनुसारको काम, पेसा-व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ। देश-विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन्’, प्रतिज्ञापत्रमा उल्लेख छ।
कांग्रेसले जनता-जनार्दनको बलमा कोही पनि भोको, नांगो वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने, कुनै कुराको अभाव नभएको व्यवस्था ल्याउने महान् उद्देश्य बोकेर यो पार्टी स्थापना भएको जनाएको छ। उसले प्रतिज्ञापत्रमा जनतालाई सम्पन्न र सम्मानित बनाउने संघर्षकालीन इतिहास नै कांग्रेसको मूल प्रेरणा भएको उल्लेख गरेको छ।
१० वटा बुँदामा प्रतिज्ञापत्र सार्वजनिक गरेको कांग्रेसले देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने अवस्था आउन नदिने दाबी गरेको छ। ‘हामी यस्तो समाज निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैंगिक हिंसाबाट मुक्त हुनेछ। वंश, जात वा लिंगका आधारमा प्राप्त हुने विशेषाधिकार तथा जन्मेको परिवार वा स्थानका आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ’, प्रतिज्ञापत्रमा लेखिएको छ।
प्रतिज्ञापत्रमा नेपाललाई प्रगति र उन्नतिको सपना देख्ने नागरिकहरूको देश बनाउने उल्लेख छ। दिगो आर्थिक विकास, नीतिगत स्थिरता र झन्झटमुक्त सेवा प्रवाहसँगै आम पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयासले ती सपना साकार हुने कांग्रेसको धारणा छ। ‘उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँग रमाउँदै मर्यादित र आकर्षक अवसरहरू प्राप्त हुनेछन्। बिदेसिएका नेपालीलाई फर्कन रहर लाग्ने र स्वदेशमै रहेकालाई यहीं सुनौलो भविष्य देखिने जीवित देश निर्माण हुनेछ’, प्रतिज्ञापत्रमा भनिएको छ।
प्रतिज्ञापत्रमा लगानी गर्ने, रोजगारी गर्ने र सम्पत्ति सिर्जना गर्ने र उत्पादनमा जोडिने सबैलाई राज्यले साथ दिने उल्लेख छ। साना-ठुला व्यवसायीलाई हरतरहले प्रोत्साहन गर्ने नीति ल्याउने प्रतिज्ञा गर्दै कांग्रेसले आर्थिक रूपमा पछाडि परेकालाई पनि आयआर्जनको मूलधारमा समेट्ने भनेको छ। ‘श्रमिकको पसिना पवित्र छ। उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान सुनिश्चित गरिनेछ। अवैध तरिकाले सम्पत्ति थुपार्ने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनेछ’, प्रतिज्ञापत्रमा भनिएको छ।
यसैगरी किसानलाई देशको प्रगतिको प्रमुख सारथी बनाउने, कृषि पेसालाई बाध्यता होइन, आधुनिक र मर्यादित बनाउने, प्रविधिको उच्च प्रयोग गर्ने, बजार पहुँच र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सिँचाइ, मल, किमा र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने, नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने प्रतिज्ञा कांग्रेसेले गरेको छ।
यसैगरी गर्भावस्थादेखि वृद्धावस्थासम्म नागरिकको स्वास्थ्यप्रति राज्य जिम्मेवार हुने, उपचार नागरिकको मौलिक अधिकार हुने, विकसित देशसरह उन्नत स्वास्थ्य बिमा प्रणालीमार्फत राज्यले जिम्मेवारी पूरा गर्नुपर्ने प्रतिज्ञापत्रमा उल्लेख छ।
कांग्रेसल गुणस्तरीय शिक्षा पाउनबाट कोही पनि वञ्चित हुने अवस्था आउन नदिने वाचा गरेको छ। ‘शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मानिने छ। आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुने छैन। शिशु कक्षादेखि विश्वविद्यालयसम्म प्रविधि र प्रयोगमा आधारित शिक्षा प्रणाली विकास गरिनेछ। जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रदान गरिनेछ’, प्रतिज्ञापत्रमा उल्लेख छ।
सबै नागरिक कानुनको नजरमा समान हुने, अदालत, संवैधानिक निकाय र राज्य संस्थामा दलीयकरणको अन्त्य गर्ने, डिजिटल नेपाल अवधारणामार्फत प्रविधिको उच्च प्रयोग गरी नागरिकले घरमै सरकारी सेवा पाउने व्यवस्था गर्ने, भ्रष्टाचार र ढिलासुस्ती अन्त्य गर्ने वाचा उसले गरेको छ।
कांग्रेसले विविधताबिच एकता कायम गरी भाषा, धर्म, संस्कृत र परम्पराको पनि रक्षा गर्ने जनाएको छ। ‘नेपालको विविधता नै यसको शक्ति हो। भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गरिनेछ। मौलिकतामा गर्व गर्दै आधुनिकतासँग समन्वय गरेर अघि बढिनेछ। नेपाल विश्व समुदायमा सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित हुनेछ। छिमेकी राष्ट्रहरूसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध विकास गरिनेछ’, प्रतिज्ञापत्रमा भनिएको छ।
त्यस्तै कांग्रेसले नेपाललाई सगरमाथा, गौतम बुद्ध, पशुपतिनाथ मन्दिर र सीताको देशका रूपमा मात्र होइन, विश्व समुदायको जिम्मेवार सदस्यका रूपमा चिनाउने, कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद र यातायात क्षेत्रलाई आधुनिक र सबल बनाउने, हिमाल, नदी र वनजंगल जस्ता प्राकृतिक सम्पदाको संरक्षण गर्ने, खुला, प्रतिस्पर्धी र प्रविधिमैत्री अर्थतन्त्र विकास गर्ने, समृद्धिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने व्यवस्था सुनिश्चित गर्ने वाचा पनि गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८२ १०:५४ बिहीबार