निर्वाचन विशेष

दलहरुको घोषणापत्र: स्वास्थ्य बिमा र समृद्ध स्वास्थ्य सेवा साझा एजेण्डा

फागुन २१ को निर्वाचन लक्षित सार्वजनिक भएका दलहरुको घोषणपत्रमा स्वास्थ्य बिमा र समृद्ध स्वास्थ्य सेवा साझा मुद्दा बनेका छन । मुख्य गरी ठूला राजनीतिक दलहररुले आफ्ना  घोषणापत्रमा स्वास्थ्य सेवालाई थप स्तरीय बनाउने घोषणा गरेका हुन ।  

नेपाल कम्युनिष्ट पाटी (एमाले) ले बिहीबार आफ्नो घोषणापत्र जारी गर्दै स्वास्थ्य बिमामा देखिएको वित्तीय तथा व्यवस्थापकीय समस्या हल गरी नगारिकलाई सहज सेवा प्रदान गर्ने, आधारभुत अस्पतालको निर्माण सम्पन्न गरी थप सुदृढीकरण गरी अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको छ । 

आधारभुत स्वास्थ्य सेवालाई प्रमाणमा आधारित प्राथमिकीकरण गरी निःशुल्क स्वास्थ्य सेवा स्थानीय तह मार्फत कार्यान्वयन गर्ने, स्वास्थ्य प्रणालीमा रहेको दोहोरोपनको वित्तीय बोझ हटाउन सामाजिक सुरक्षा कार्यक्रम र स्वासथ्य बिमालाई एकीकृत गर्ने, सर्वव्यापी स्वास्थ्य सेवा सुनिश्चत गर्ने, स्वास्थ्य बिमाको थैली विस्तार गरी बिमा प्रणालीलाई दीगो बनाउने, प्राथमिक स्वास्थ्य सेवा बीचको स्पष्ट परिभााषा,प्याकेज र जिम्मेवारी, वित्तीय व्यवस्था कानुनमै स्पष्ट पार्ने  बताएको छ ।  

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा एक नर्स र एक एमडीजिपी चिकित्सक, फार्मेसी र नर्स सहितको सेवा उपलब्ध गराउने, बिशेषज्ञ सेवा सिफारिसमा आधारित प्रणालीमा विकास गर्ने र जिल्ला अस्पतालको स्तरउन्नति गर्ने घोषणा गरेको छ । निजी अस्पतालको सेवा शुल्क नियमन गर्ने, रोगको भारलाई कम गर्न रोकथाममुलक कार्यक्रम सञ्चालन गर्ने, योगध्यान, आयुर्वेद चिकित्सा प्रणालीको सुधार गर्ने र अप्रभावकारी कार्यक्रमको पुर्नअवलोकन गरी खारेजी गर्नेलगायत कार्यक्रम समावेश छन ।  

घोषणामा तत्कालै गर्ने केही कार्यक्रम समावेश गरेको एमालेले केही आकर्षणजन्य स्वास्थ्य कार्यक्रम पनि समावेश गरेको छ । जसमा  गर्भवतीलाई ५ लाख निशुल्क बिमा प्रदान गर्ने, सुत्केरी पोषणभत्ता २० हजारसहित दिने र गर्भवतीलाई गर्भजाँचदेखि सुत्केरी भएपछि घरसम्म जाने भत्ता समेत दोब्बर दिने घोषणा गरेको छ । त्यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने जनाएको छ । 

त्यसैगरी नेपाली काग्रेसले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरी आगामी दिनमा गर्ने स्वास्थ्य सम्वन्धी कार्यक्रम घोषणा गर्दै ओखती दिने नेपालको परिकल्पना गरिएको छ । यसको लागि विकसित देशकै स्तरको स्वास्थ्य बिमा प्रणाली मार्फत राज्यले नै जिम्मेवारी पूरा गर्ने कांग्रेसको प्रतिज्ञा रहेको छ । गर्भाअवस्थादेखि नै बृद्धाअवस्थासम्म नागरिकको स्वास्थ्यप्रति राज्य संवदेनशिल र जिम्मेवार हुने प्रतिज्ञा गरिएको छ । परिवारमा कसैलाई रोग लागिहालेमा कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरवाट नागरिक मुक्त हुने विषय समावेश छ । 

नेपाली कम्युनिष्ट पाटीले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तब्य हुने घोषणा गरेको छ ।  नागरिकको स्वास्थ्य सम्बन्धी हक पूरा गर्नको लागि स्वास्थ्य बिमालाई अनिवार्य र प्रगतिशिल बनाइने उद्देश्य लिएको छ । हाल करिब ३०५ वटा सीमित स्वास्थ्य बिमाको आबद्धतालाई सबैलाई अनिवार्य गरी २०८८ सम्म सय प्रतिशत बनाउने घोषणा गरेको छ । अशक्त, दीर्घरोगी र ज्येष्ठ नागरिकको बिमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणाममुखी तथा पारदर्शी बनाउने जनाएको छ। 

हरेक वडामा मिड–लेभल स्वास्थ्य टोली  परिचालन गर्ने, वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क तथा ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवती, नवजात शिशु तथा विपन्न नियमित स्वास्थ्य जाँच, जीवनशैली परामर्श तथा रोकथाम सेवा प्रदान गरिने, ग्रिन च्यानलमार्फत प्राथमिकता दिने जनाएको छ । 

मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्यसँग एकीकृत गरी गाउँ तहसम्म विस्तार गरेर मनोसामाजिक परामर्श हेल्पलाइन सञ्चालन गर्ने,सातै प्रदेशमा  विशिष्टीकृत प्राज्ञिक तथा रिफरल अस्पताल स्थापना गरी राजधानी धाउनु पर्ने बेथितिको अन्त्य गर्ने जनाएको छ ।  

चारभन्दा रोकथामलाई प्राथमिकता दिई शारीरिक व्यायाम, योग, ध्यान तथा पोषिलो खानाको संस्थागत प्रवर्द्धन गरिने विषय समावेश छकऔषधि खरिदमा हुने अनियमितता अन्त्य गर्न केन्द्रीय फ्रेमवर्क सम्झौता तथा सरकारी खरिद प्रणाली लागू हुने बताइएको छ। नेपाल औषधि लिमिटेड तथा सिंहदरबार वैद्यखानाको क्षमता वृद्धि गर्ने लगायतका विषय समावेश छन्।  

राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो  बाचापत्रमार्फत् स्वास्थ्य सम्वन्धी कार्यक्रम घोषणा गरेको छ । पत्र अनुसार आधारभुत स्वास्थ्य सेवामा देशभरी एउटै नमूनाको रुपमा विकास गरी सुर्दढीकरण स्वास्थ्य सेवा प्रदान गर्ने र दुर्गमको स्वास्थ्य सेवामा सुधार गर्ने जनाएको छ । मानसिक स्वास्थ्य सुदृढीकरण गर्न बिद्यालय, समुदाय तथा स्वास्थ्य संस्थामा ध्यान कार्यक्रम राख्ने, जनलपीडितको निःशुल्क उपचार र जलनपीडितको लागि बिशेषज्ञ अस्पताल तत्काल निर्माण गर्ने घोषणा गरेको छ । 

त्यसैगरी मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्ने, अपाङ्गता भएका व्यक्तिलाई गुणस्तरीय एकीकृत सेवा प्रदान गर्ने, अपाङ्गतावाट हुने व्यक्तिगत तथा पारिवारिक भार न्युन गर्ने, बालबालिकामा हुने अटिजम, सुस्त श्रवण समयमै पहिचानको लागि स्थानीय स्वास्थ्यसंस्थामा परिक्षण गर्ने आधुनिक उपकरण उपब्ध गराउने घोषणा गरेको छ । 

कीटजन्य रोगवाट बच्नको लागि कीरा नियन्त्रण आवास निर्माणमा जोड दिने जनाइएको छ । मानसिक स्वास्थ्यमा पहुँच वृद्धि  गर्ने, मानसिक स्वास्थ्य सुधार गर्न आधारभुत पुर्वाधारको सुनिश्चत गरी मानसिक स्वास्थ्य महाशाखाको स्थापना गर्ने घोषणा गरेको छ । यसको साथै क्यान्सर जस्ता नसर्ने रोगको नियन्त्रणको लागि उपचारत्मक भन्दा रोकथाममुलक कार्यक्रमलाई जोड दिने घोषणा गरेको छ ।  

प्रकाशित: ७ फाल्गुन २०८२ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App