निर्वाचन विशेष

अरूलाई होच्याएर अग्लिन खोज्दै नेताहरू

कतै एउटा कथा सुनेको थिएँ। दुई मानिसबिच कुनै विषयमा बहस भइरहेको थियो। सुरुमा बहस शान्त भए पनि बिस्तारै चर्कियो, अहंकार मिसियो, र झगडामा परिणत भयो। अन्ततः एकले ‘सज्जन’ ठानिने व्यक्तिमाथि हात उठाएछन्।

परबाट त्यो दृश्य हेरेको एक जनाले भन्यो - हेर त, दुइटा मुर्ख लडिरहेका छन्। पहिलो नजरमा उक्त टिप्पणी अन्याय जस्तो लाग्न सक्छ। हात उठाउने त उही थियो, दोषी उही देखिन्छ। तर गहिरिएर सोच्दा त्यो टिप्पणीमा लुकेको अर्थ फरक छ। साँचो सज्जन त्यो हो, जसमा आफू सही हुँदाहुँदै पनि लडाइँबाट बाहिर निस्कन सक्ने क्षमता हुन्छ। जित्नु भनेको अर्कोलाई परास्त गर्नु होइन। कहिलेकाहीं जित्नु भनेको अनावश्यक झगडाबाट टाढा रहन सक्नु पनि हो।

तर नेपाली राजनीतिमा त्यस्तो सज्जन देखिएनन्। जति चुनाव नजिँकिदै छ आरोप–प्रत्यारोपको स्वर पनि बढ्दै छ। एकले अर्कोलाई होच्याउने क्रमले समग्र राजनीतिलाई ‘होचो’ बनाएको छ। ‘राजनीतिमा एक अर्कालाई सम्मान गर्नेभन्दा पनि होच्याउने क्रम बढेको छ, ‘समाजशास्त्री कृष्ण भट्टचन भन्छन्, ‘अर्कोलाई सानो देखाएर आफू ठुलो हुन्छु भन्ने भ्रम सबैमा देखिन्छ, जसले समाजलाई गालीगलोजको बाटोमा लगेको छ।’

उनका अनुसार मन नपर्र्नेलाई दानव र मन पर्नेलाई देवता मान्ने संस्कारले नेपाली समाजलाई गाँजेको छ। ‘आफ्नो मान्छे अहंकारले खाल्डोमा खसे पनि वाहवाह भन्ने जमात छ। यही जमात नेता र सिंगो समाजका लागि खतरनाक हुन्छ,’ भट्टचन भन्छन्।

चुनाव नजिकिँदै गर्दा केपी शर्मा ओली, बालेन्द्र शाह, गगन थापा, अमरेशकुमार सिंह र रवि लामिछानेलगायत नेताहरू सभामा नीतिगत बहसभन्दा व्यक्तिगत कटाक्ष र आरोपमा बढी केन्द्रित देखिन्छन्।

चुनावी सभाहरूमा नेताहरूको भाषण आक्रामक र असन्तलित सुनिन्छ। पूर्वप्रधानमन्त्री ओलीले आफ्ना विपक्षीलाई ‘अराजक’ र ‘अनुभवहीन’को संज्ञा दिएका छन्। ओलीका प्रतिस्पर्धी शाहले पुराना दलहरूलाई ‘सिस्टम बिगार्ने’ शक्ति भन्दै कटाक्ष गरिरहेका छन्। उनले विकासका काम रोकिएको विषयमा निर्माण व्यवसायी र केन्द्रीय नेतृत्वलाई लक्षित गर्दै कठोर अभिव्यक्ति दिएका थिए, जसलाई धेरैले ‘लोकप्रिय तर असंयमित’ भने।

थापाले कानुनी संरचना र नीतिगत सुधारको पक्षमा बोल्ने प्रयास गरिरहेका छन्। तर उनले पनि आफ्ना प्रतिस्पर्धीमाथि ‘अव्यवस्थित सोच’ र ‘भावनात्मक राजनीति’ को आरोप लगाएका छन्।

लामिछानेले संसद् र सत्ता गठबन्धनलाई ‘पुरानै खेलको निरन्तरता’ भन्दै आलोचना गरेका छन्। सहकारी प्रकरण र संसदीय भूमिकाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले उल्टै विपक्षीलाई ‘आत्मरक्षामा उत्रिएको पुरानो शक्ति’ भनेर प्रहार गरेका छन्। सिंहले पुराना दलका नेतृत्वप्रति असन्तुष्टि पोख्दै ‘नेतृत्वको नैतिक दिवालियापन’को आरोप लगाउँदै आएका छन्।

हराउँदै नीति

राजनीतिमा मूलतः नीतिको प्रतिस्पर्धा हुनुपर्ने हो तर अहिलेको दृश्य फरक छ। विकास, शिक्षा, स्वास्थ्य, अर्थतन्त्रका अजेन्डाभन्दा पनि को कसप्रति कति ‘कडा’ बोल्यो भन्ने कुरामा चर्चा चल्छ। सामाजिक सञ्जालमा क्लिप काटेर भाइरल गरिने भाषणहरूमा नीति होइन, तिक्त शब्दहरू हाइलाइट हुन्छन्। ‘उनीहरू के बोल्दै छु भनेर ख्याल गर्दैनन्। शब्द चयन फोहोरी जस्तो देखिन थालेको छ,’ सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेय भन्छिन्, ‘अहिले विनम्रता कम, अहंकार बढी देखिन्छ।’

उनका अनुसार सार्वजनिक व्यक्तित्वले प्रयोग गर्ने भाषा समाजको व्यवहारमा प्रतिविम्बित हुन्छ, नेताले प्रयोग गर्ने आक्रामक शब्दले समर्थकलाई पनि त्यही बाटोमा लैजान्छ।

नेताहरुको निराशाजनक टिप्पणीले सर्वसाधरण दुःखि छन्। ‘विकास गर्न हिँडेकाहरू गालीगलोजमा उत्रिँदा हामीलाई दुःख लागेको छ,’ काठमाडौं थलीका दिपक पुडासैनी भन्छन्, ‘नयाँ पुस्ताले आशाभन्दा निराशा बढी देख्न थालेको छ।’

पुडासैनीको भनाइमा नेताहरूबिचको गालीगलोजले जनताका मुद्दा ओझेलमा पर्छन्। रोजगारी सिर्जन, मूल्यवृद्धि नियन्त्रण, शिक्षा, स्वास्थ्यमा सुधार जस्ता विषय बहसको केन्द्र बन्नु पर्नेमा व्यक्तिगत जीवन र आरोप–प्रत्यारोपले ठाउँ पाएको छ।

जानकारहरु अरुलाई दोष दिनुभन्दा आफूलाई नियाल्नु पर्ने बताउँछन्। ‘अरूलाई दोष देखाउनेभन्दा आफ्ना कमजोरी नियाल्न सक्नुपर्छ, ’ डा. टीकाराम गौतम भन्छन्, ‘तर नेताहरू आफ्ना कमजोरी स्वीकार गर्न तयार देखिँदैनन्।’

उनका अनुसार जब तर्क सकिन्छ, तब गाली सुरु हुन्छ। अहिले राजनीतिमा यही प्रवृत्ति हाबी छ। गाली गर्नकै लागि विगतका कमजोरी कोट्याउने चलन बढेको छ। परिवारका सदस्यसमेत सामाजिक सञ्जालमा ट्रोल हुने अवस्थाले राजनीति व्यक्तिगत आक्रमणमा झरेको देखिन्छ। ‘कतिपय शब्द चयन निकै लाजलाग्दो छ,’ गौतम भन्छन्, ‘यसले समाज कता जाला भन्ने डर बढाएको छ।’

दलभित्रै टकराव

पछिल्लो समय फरक दल मात्र होइन, आफ्नै दलका नेतामाथि पनि प्रहार हुन थालेको छ। कांग्रेसभित्र गुटको आलोचना, एमालेभित्र नेतृत्वमाथि कटाक्ष र नयाँ दलमा नेतृत्वको शैलीलाई लिएर सार्वजनिक स्थलमा टीकाटिप्पणी हुने गरेको छ। व्यंग्यमा सीमित भाषण अहिले सिधै गालीमा परिणत भएको छ। आफ्नो पक्षलाई ‘देवता’ र विपक्षलाई ‘दानव’ ठान्ने प्रवृत्ति बढ्दो छ।

लोकतन्त्र संवादको अभ्यास हो तर संवाद असंयमित भाषामा परिणत हुँदा त्यसले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ। छिमेकी मुलुक भारतमा समेत नेताबिचको अरोपप्रत्यारोप हात हालाहालमा पुगेका घटना छन्। नेपालमा पनि यही क्रम बढ्दै गयो भने राजनीतिक अराजकता गहिरिन सक्छ।

यस्तो अवस्थामा के नेताहरु अब कहिल्यै सुध्रिदैनन् त भन्ने प्रश्न पनि उठेको छ। उनीहरुले चाहेमा सुधार सम्भव देखिन्छ। ‘सुधारको ठाउँ जहाँ पनि रहन्छ तर सुधार्न र सुध्रिन तयार हुनुपर्छ,’ डा. नम्रता भन्छिन्, बोल्नुअघि एक पटक सोच्ने बानीले मात्र पनि धेरै समस्या समाधान हुन सक्छ।’

समाजशास्त्री भट्टचनको निष्कर्ष स्पष्ट छ  - अर्कोलाई सानो देखाएर आफू ठुलो हुने भ्रम त्याग्नुपर्छ। नत्र राजनीतिसँगै समाजको कद पनि सानो हुँदै जानेछ।

चुनाव नजिकिँदै गर्दा प्रश्न उभिएको छ - के नेताहरू आरोपको बाटो छोडेर नीतिको बहसमा फर्किन्छन् वा गालीगलोजको राजनीतिलाई नै मुख्य अस्त्र बनाउँछन्? ‘आजको अवस्था हेर्दा राजनीतिमा नीतिभन्दा गाली हाबी भएको स्पष्ट देखिन्छ। लोकतन्त्र जोगाउने जिम्मेवारी केवल नेताको मात्र होइन, समर्थक र नागरिकको पनि हो,’ समाजशास्त्री भट्टचन भन्छन्, ‘सम्मानजनक संवादको अभ्यास नगरेसम्म राजनीतिक संस्कृति परिपक्व बन्न सक्दैन।’

थापा-शाह संयमित

तर यही राजनीतिक घाम–छायाबिचमा एउटा रोचक दृश्य देखिन्छ । भावी प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह र गगन थापाबिच प्रत्यक्ष आरोप–प्रत्यारोप अपेक्षाकृत कम छ। यो मौनता संयोग हो कि रणनीति वा भविष्यको समीकरणको संकेत हो? उनीहरुबिच आरोपप्रत्यारोप हुँदै नभएको होइन। तर त्यो अलि शालिन र अप्रत्यक्ष ढंगबाट देखिन्छ। जस्तै: धनगढीमा आयोजित चुनावी सभामा शाहले भने, ‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म पनि बन्दैन, अब डेढ वर्षमा बन्नुपर्‍याे। रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ, जसरी पनि बाटो बन्नुपर्‍यो।’

यसमा उनी कानुनविपरीत नै देखिएका छन्। रास्वपाद्वारा भावी प्रधानमन्त्रीमा प्रस्तावित उनको यो अभिव्यक्ति अशोभनीय चाहिँ हो। प्रधानमन्त्रीमा दाबी राख्नेले सार्वजनिक मञ्चमा संयमित अभिव्यक्ति दिनुपर्छ। समस्या समाधानका लागि विधिसम्मत योजना प्रस्तुत गर्नु पर्छ। तर शाहको शैली खुलेआम ‘ग्याङस्टर’ जस्तो देखिएको गुनासो निर्माण व्यवसायीको छ।

यसै सन्दर्भमा कांग्रेसद्वारा भावी प्रधानमन्त्रीमा प्रस्तावित पार्टी सभापति थापा गम्भीर र नियन्त्रित शैलीमा प्रस्तुत भए। उनले भिडको तालीभन्दा बढी भिडलाई निर्देशित गर्ने शैली अपनाउन खोजे। शाहकै ‘खोरमा जाकेर’ भन्ने अभिव्यक्तिमा थापाले भने, ‘मैले कसैलाई घोक्र्याउँदैमा सडक समयमा बन्दैन, कम्तीमा अहिलेका ४१ कानुन संशोधन गर्नुपर्छ, त्यसबिना समस्या कायमै रहन्छ।’

काठमाडौं महानगरपालिकाको मेयर हुँदा शाहले शैक्षिक संस्थालाई राजनीतिबाट अलग राख्नुपर्ने थापाको अभिव्यक्तिलाई व्यवहारमा ल्याउन आग्रह गरेका थिए। तीन वर्षअघि थापाले गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहमा विश्वविद्यालयमा दलका झोला बोकेर प्रवेश गर्ने विद्यार्थीलार्य रोक्नुपर्नेमा जोड दिएका थिए। शाहले सामाजिक सञ्जालमा त्यतिबेला लेखेका थिए, ‘माननीय गगन थापाज्यू, तपाईंले भनेझै, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेसको कुनै भातृ संगठन छैन भन्ने घोषणा गर्छौं। बोलेको कुरा पूरा गर्नुहोला, माननीयज्यू।’

किन प्रत्यक्ष टकराव छैन

थापा र शाह दुवै ‘नयाँ पुस्ता’का प्रतिनिधि हुन्। उनीहरूले पुराना शक्तिकेन्द्रले भन्दा फरक शैली अपनाउँछन्। थापा कांग्रेसभित्र सुधारवादी छविमा देखिन्छन् भने शाह स्वतन्त्र र संस्थाबाहिरको विकल्प बनेका छन्। एकअर्कामाथि प्रत्यक्ष आक्रमण उत्रिएमा ‘नयाँ पुस्ता’को साझा छवि कमजोर पर्न सक्छ। त्यसैले दुवैले सचेत दूरी कायम गरेको हुन सक्छ। त्यस्तै यी दुवैको राजनीतिक आधार फरक छ । उनीहरूको प्रतिस्पर्धा प्रत्यक्ष निर्वाचनमा नभएर भविष्यको नेतृत्वको प्रतीकात्मक क्षेत्रमा केन्द्रित छ। त्यसैले तत्कालीन लाभका लागि टकराव आवश्यक देखिँदैन।

थापा र शाह प्रत्यक्ष टकरावमा नउत्रिनु अर्थात उनीहरूबिचको मौनता सम्भवतः भविष्यको सहकार्यको सम्भावनालाई खुला राख्ने संकेत पनि हो। राजनीतिक विश्लेषकहरूका अनुसार यसलाई ‘सावधानीपूर्ण प्रतिस्पर्धा’ भनिन्छ । तर मौनताको अर्थ आलोचना नगर्नु होइन। थापाले स्थानीय सरकार प्रभावकारी हुनुपर्ने र कानुनी प्रक्रिया सम्बन्धमा टिप्पणी गर्छन्। शाहले ‘पुराना दलहरूले काठमाडौंलाई यस अवस्थामा पुर्‍याए’ भन्ने अभिव्यक्ति दिन्छन्। तर नाम लिएर प्रत्यक्ष व्यक्तिगत आरोपप्रत्यारोपमा उनीहरू देखिएका छैनन्। यो परिपक्वता र संयम भएको भट्टचनको बुझाइ छ। ‘संयमित प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको सकारात्मक संकेत हो,’ उनी भन्छन्, ‘यसले समग्र राजनीतिको उचाइ बढाउँछ।’

प्रकाशित: १५ फाल्गुन २०८२ ०७:०१ शुक्रबार