निर्वाचन विशेष

कांग्रेसमा नेता बदलियो, मत बदलिएन

‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेपाली कांग्रेसलाई जनताले अपेक्षाअनुसार समर्थन नदिएको देखिएको छ। नेतृत्व परिवर्तन भए पनि मतदाताको मन जित्न कांग्रेस असफल भएको चुनावी परिणामले संकेत गरेको छ।

२००३ सालमा राणा शासन अन्त्य गर्ने उद्देश्यसहित बिपी कोइराला लगायतका नेताहरूले स्थापना गरेको कांग्रेस झन्डै आठ दशकसम्म नेपालको राजनीतिमा प्रभावशाली शक्ति रहँदै आएको थियो। २००७ सालमा १०४ वर्ष लामो राणा शासनको अन्त्यदेखि ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनासम्मका महत्वपूर्ण राजनीतिक परिवर्तनमा कांग्रेसको अग्रणी भूमिका रहेको थियो।

त्यसैगरी सशस्त्र संघर्षमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने प्रक्रिया, २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य तथा संविधानसभामार्फत २०७२ सालमा नयाँ संविधान जारी गर्नेसम्मका ऐतिहासिक घटनामा पनि कांग्रेसले महत्वपूर्ण नेतृत्व गरेको थियो।

तर पछिल्ला वर्षहरूमा भ्रष्टाचार, कुशासन र कमजोर आर्थिक प्रगतिप्रति जनतामा असन्तुष्टि बढ्दै गयो। नागरिकहरूले सुशासन र तीव्र आर्थिक विकासको अपेक्षा कांग्रेसबाट गरे पनि सत्ता, गुटबन्दी र व्यक्तिगत स्वार्थमा नेताहरू अल्झिँदै जाँदा पार्टी जनताबाट टाढिँदै गएको विश्लेषण गरिन्छ।

युवा नेतृत्व आए पनि परिणाम बदलिन सकेन

कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टीमा केही युवा नेतृत्व अगाडि आएको थियो। सभापतिमा शेरबहादुर देउवा दोहोरिँदा झन्डै ३० वर्ष कान्छा विश्वप्रकाश शर्मा र गगनकुमार थापा महामन्त्री बनेका थिए। साथै बद्री पाण्डे, किशोरसिंह राठौर र जीवन परियार सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

युवा पुस्ताको आगमनसँगै पार्टीमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको थियो। पाका र युवा नेतृत्वको समिश्रणले कांग्रेसलाई विधि र विधानअनुसार सञ्चालन गर्दै देशलाई विकासतर्फ लैजाने विश्वास धेरैले गरेका थिए।

तर महाधिवेशनपछि भएको तीन तहको निर्वाचनमा कांग्रेसको मत अपेक्षाअनुसार बढ्न सकेन। झन्डै ९ लाख क्रियाशील सदस्यता बनाएको कांग्रेसले पछिल्लो आमनिर्वाचनमा २७ लाख १५ हजार २२५ (२५.७१ प्रतिशत) मत मात्र पायो, जुन २०७४ को निर्वाचनमा पाएको ३२.७७ प्रतिशत भन्दा कम हो।

संगठन कमजोर, गुटबन्दी बलियो

पार्टीभित्र विधि र विधानअनुसार सञ्चालन हुन नसकेको आरोप नेतृत्वमाथि लाग्दै आएको छ। भ्रातृ संगठनहरू, विशेषगरी नेपाल विद्यार्थी संघको महाधिवेशन लामो समयसम्म हुन नसक्दा संगठनहरू तदर्थवादमै चले।

नेताहरू जनहितभन्दा गुटबन्दी, धनवाद र शक्ति संघर्षमा केन्द्रित हुँदा पार्टीको जनाधार कमजोर हुँदै गएको विश्लेषकहरू बताउँछन्।

आन्तरिक विवादको असर

पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनका विषयले पनि चुनावी परिणामलाई असर गरेको देखिन्छ। काठमाडौंमा भएको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरी कांग्रेस निर्वाचनमा होमिएको थियो।

तर पार्टीभित्र परिवर्तन चाहने र पुरानै शैली कायम राख्न चाहने समूहबीचको द्वन्द्वले कांग्रेसलाई कमजोर बनाएको बताइन्छ। केही नेताहरूलाई उम्मेदवार नबनाइएको वा अपमान गरिएको आरोपका कारण विशेषगरी सुदूरपश्चिमलगायत क्षेत्रमा पार्टीको मत प्रभावित भएको देखिएको छ।

घट्दो जनसमर्थन

२०७४ को निर्वाचनको तुलनामा २०७९ मै ७ लाख ५४ हजार मत गुमाएको कांग्रेसले पछिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ मात्र होइन समानुपातिकतर्फ पनि अघिल्लोभन्दा कम मत पाउने सम्भावना देखिएको छ।

विश्लेषकहरूका अनुसार युवासँग दूरी बढ्दै जानु, संगठन कमजोर हुनु र आन्तरिक गुटबन्दीले कांग्रेसको जनसमर्थन क्रमशः घट्दै गएको छ। नेतृत्व परिवर्तन मात्र पर्याप्त नभई पार्टीको सोच, कार्यशैली र संगठनात्मक संरचनामा वास्तविक सुधार आवश्यक रहेको चुनावी परिणामले संकेत गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ २१:०६ शुक्रबार