निर्वाचन विशेष

ललितपुर-३ : मौलिक पूर्वाधार जोगाउँदै विकासको माग

निर्वाचन सही प्रतिनीधि छानेर पठाउने एउता राष्ट्रिय महोत्सव हो। यतिबेला देशभर प्रतिनिधिसभा चुनावको चहलपहल बढिरहेको छ। मतदान दिन चार दिन बाँकी रहँदा उम्मेदवारहरू घर दैलो कार्यक्रममा व्यस्त छन्, भने ललितपुर क्षेत्र नं. ३ लाई मौलिक पूर्वाधार, सम्पदा र सांस्कृतिक पहिचान जोगाउँदै दिगो विकास चाहिएको छ।

ललितपुर–३ स्थित सुनाकोठीका स्थानीय बासिन्दाले भित्री ऐतिहासिक बस्तीभित्र सडक विस्तार नगर्न आग्रह गरेका छन्। स्थानीय बासिन्दा भन्छन्, ‘सडक ठुलो बनाउनु नै विकास होइन। यहाँको मौलिकता जोगाउनुपर्छ। भित्री बस्तीमा बाटो बढाउँदा पुराना घर, मठ–मन्दिर र पाटी–पौवा भत्किन्छन्, जसले हाम्रो सम्पदा नष्ट हुन्छ।’

उपत्यकाकै पुरानो बस्तीका रूपमा चिनिने सुनाकोठीमा सडक विस्तारको बहस चर्किँदै जाँदा स्थानीयले वैकल्पिक मार्ग खोज्न र हालको बाटो मर्मत–सम्भार गरेर सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। ‘यो ‘कान्तिलोकपथ बाटोलाई प्राथमिकता दिने हो भने वैकल्पिक बाटो खोज्नु उपयुक्त हुन्छ,‘ ललितपुर–३ सुनाकोठीका शिवोम महर्जन भन्छन्, ‘भित्री बस्तीमा बाटो बढाउँदा सम्पदा नष्ट हुन्छ। सुनाकोठी ऐतिहासिक बस्ती हो। यसलाई जोगाउनु हाम्रो दायित्व हो।’ सडक विस्तारको सट्टा वैकल्पिक मार्ग खोज्नुपर्छ र अहिलेको बाटोलाई स्तरोन्नति गरेर चलाउनु पर्ने उनले नागरिकलाई बताए।

चुनावी माहौल चर्किँदै गर्दा सुनाकोठीकै अर्का राम महर्जनले नेतृत्वप्रति गुनासो समेत पोखेका छन्। यस क्षेत्रमा २०४८ सालयता क्षेत्रको अपेक्षित विकास नभएको गुनासो उनले गरे। साथै २०७९ सालमा भएको निर्वाचनमा जिताएर पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तोसिमा कार्की कहिल्यै नफर्किएको उनको गुनासो छ।

‘नयाँले केही गर्लान् कि भनेर यसअघि हामीले तोसीमालाई जिताएर पठायौँ। तर, त्यसपछि कहिले उनको अनुहार देखिएन। बरु अहिले पुनः भोट माग्न आएकी छिन्,’ नागरिकसँग स्थानीय रामले भने, ‘हामीलाई विकास त चाहिन्छ, तर हाम्रो नेवारी पहिचान र संस्कृतिलाई सिद्ध्याएर गरिने विकास स्वीकार्य छैन।’

उनका अनुसार सडक विस्तारका क्रममा कतिपय घरहरू मुआब्जा टुङ्गो नलागेर आधा भत्काएर राखिएको छ। यो ऐतिहासिक ठाउँलाई जर्गेणा गर्दै नख्खु खोलाको किनारै किनार वैकल्पिक सडक निर्माण गर्न पनि सकिन्छ। जसले गर्दा ट्राफिक समस्या समाधानसँगै सम्पदा संरक्षण पनि हुने उनले नागरिकलाई बताए।

अहिलेको यो निर्वाचनमा भाषण भन्दा पनि काम गर्ने व्यक्ति चाहिएको उनी बताउँछन्। यस अघि भाषण गरेरै जित्दै आएका उम्मेदवारहरूले केही पनि काम नगरेकोमा उनी चिन्ता व्यक्त गर्छन्। ‘हामीलाई कुरा मात्र गर्ने होइन, काम गर्ने नेता चाहिएको छ,’ नागरिकसँग उनले भने। केहीले बालेन्द्र शाह र रवि लामिछानेको राजनीतिले आशा जगाएको बताए पनि स्थानीय संस्कृति बुझ्ने प्रतिनिधिको आवश्यकता औँल्याए।

ललितपुरको सुनाकोठी–ठेचो क्षेत्रबाट सुरु भएर हेटौँडासम्म जाने कान्तिलोकपथ तर अहिले समस्या र जोखिमपूर्ण अवस्थामा छ। दुई लेनको बाटोमा साँघुरो, कमजोर र जोखिमपूर्ण उस्तै रहेको छ। सुनाकोठीमा सडक विस्तारबारे भने असहमति रामले जनाए। दुई सवारी साधनले सरलतापूर्वक पास गर्नुका साथै ओभरटेक वा अघिपछिको सवारी पार गर्न पनि कठिन छ। त्यसै गरी पैदल यात्रुका लागि फुटपाथको कमी र सडकको सुरक्षित संरचना नहुँदा विद्यार्थी, वृद्ध र महिलाहरूका लागि हिँड्न झनै कठिनाइ छ।

सुनाकोठी हुँदै आउँदै गरेका लेलेका एक स्थानीयले भने, ‘यो बाटो साँच्चै साँघुरो छ। दुई गाडी ओभरटेक गर्दा झनै समस्या। पैदल यात्रु कहाँबाट हिँड्ने? नेवारको उत्सव–भोजभतेर वर्ष भरी जसो यही बाटोमा हुन्छ। त्यही माथि ट्राफिक जाम। बिजोक छ यो बाटो फराकिलो नहुँदा।’

यो समस्या सुनाकोठी तथा ठेचो आसपासका नेवारी सांस्कृतिक विभिन्न जात्रा तथा पर्वको समयमा अझ गहिरिन्छ। जहाँ भीड र मोटरसाइकल र साना सवारी साधन ओहोरदोहोर गर्न अझै गाह्रो हुने गरेको सवारी चालहरूले बताउँदै आएका छन्। कान्तिलोकपथ ललितपुर ठेचो देखि हेटौँडा जोड्ने लगभग ९२ किमी लामो राष्ट्रिय मार्ग हो र विगत केही वर्षदेखि निर्माण कार्य भइरहेको छ।

सुनाकोठीका अर्का स्थानीय श्याम महर्जनले कान्तिलोकपतलाई वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बताउँदै आएका छन्। सुनाकोठीमा धेरै जात्रा हुन्छ। खट परिक्रमा गराउनुपर्छ। नेवारी समुदायमा कसैको मृत्यु भएमा पुरानो घरबाटै लास उठाउनु पर्छ। सडक हाइवे जस्तो बाटो बनाउँदा नेवारी समुदायको मौलिकता र जात्रामा असर पर्ने गरेको उनले जानकार गराए।

यस्तै, स्थानीय बाबुकान्छा महर्जनले सांसदको मुख्य काम संसदमा गएर नीति–नियम र संविधान निर्माण गर्नु हो। जबकि खानेपानी, सडकजस्ता पूर्वाधार विकास स्थानीय तहको प्राथमिकतामा पर्छन्।

‘विकास हुन आवश्यक छ, तर ऐतिहासिक बस्तीको मौलिकता मासेर होइन,’ उनले नागरिकसँग भने, ‘सडक ठुलो बनाउनु नै विकास होइन, मौलिक पूर्वाधार जोगाएर सुधार गर्नु नै वास्तविक विकास हो।’

यस प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर –३ मा पुरुष ४९ हजार ४११ र महिला ५३ हजार ०२६ गरी कुल मतदाता १ लाख २ हजार ४३७ मतदाता छन्। यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट सात गरी कुल २३ उम्मेदवार छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल २ लाख ६९ हजार २५६ मतदाता रहेका छन्।

तीमध्ये काँग्रेसका जीतेन्द्रकुमार श्रेष्ठ, एमालेका सन्दन थापा मगर, रास्वपाका तोसिमा कार्की, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजकाजी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सविनकुमार खड्का, उज्यालो नेपाल पार्टीका विजय पन्त, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खगेन्द्र महर्जनलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन्।

प्रकाशित: १७ फाल्गुन २०८२ १३:४६ आइतबार