पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ। साम्पाङ नेतृत्वको पार्टीले सुनसरी, भोजपुर र खोटाङमा विजय हासिल गरेको हो।
अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नं. १ बाट विजयी भए। धरान उपमहानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले ३५ हजार ७४१ मत ल्याएर जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई आठ हजार ४९२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन्। गोमाले २७ हजार २४९ मत प्राप्त गरिन्।
क्षेत्र नं. १ बाट उनीसहित २८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अघिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि गोमाले थोरै मतान्तरले हार बेहोरेकी थिइन्। अघिल्लो पटक गोमाले १६ हजार ६०६ मत ल्याएकी थिइन्। त्यतिबेला विजयी उम्मेदवार अशोक राईसँग ४५३ मतको मात्र अन्तर थियो।
विजयी भएपछि साम्पाङले संसदमा दरिलो र स्पष्ट प्रस्तुति रहने प्रतिक्रिया दिएका छन्। उनले आगामी प्रधानमन्त्री बालेनभन्दा रवि लामिछाने नै हुन उपयुक्त हुने बताएका छन्। उनले मतदाता, सबै दल तथा निर्वाचन गराउने पक्षलाई धन्यवाद व्यक्त गरेका छन्।
साम्पाङले श्रम गरेर मात्र देश उँभो लाग्ने नारा दिएर मतदाता आकर्षित गरेका थिए। साथै, आफू धरानका मेयर हुँदा खानेपानीको समस्या समाधानका लागि पहल गरेको भन्दै अब देशमा सुशासन कायम गर्ने, अपारदर्शिता हटाउने र भ्रष्टाचार अन्त्य गर्ने भूमिकामा रहने नारा पनि अघि सारेका थिए।
क्षेत्र नं. १ मा जातीय मतको प्रभाव पनि देखिएको छ। साम्पाङ राई समुदायबाट उम्मेदवार हुनु र लाहुरे परिवारबाट आएका कारण उनलाई फाइदा पुगेको देखिन्छ। उनका सबल पक्षमा कुनै पनि काममा प्रतिबद्ध भएर लाग्ने, दृढ इच्छाशक्ति भएको, दातालाई कन्भिन्स गर्न सक्ने क्षमता र सामाजिक सञ्जालमा सक्रिय रहने विशेषता रहेका छन्।
२०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातक हुन्। पूर्व–ब्रिटिस गोर्खा सैनिक परिवारका कान्छा सन्तानका रूपमा हुर्किएका उनले खोटाङकै शारदा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि २०५७ सालतिर उच्च शिक्षाका लागि धरान आएर संघर्षपूर्ण जीवन बिताएका थिए। उनी वैदेशिक रोजगारीमा पनि गएर फर्किएका थिए।
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेले २०४८, २०५१ र २०५६ सालमा पनि निरन्तर विजय हासिल गरेको थियो। नेकपा एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा सो क्षेत्र गुमाए पनि दोस्रो संविधानसभा निर्वाचनमा फेरि ‘कमब्याक’ गरेको थियो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेले जित हासिल गरेको थियो। दस वर्षे जनयुद्धपछि पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा भाग लिँदा माओवादीले क्षेत्र नं. १ जितेको थियो।
२०७९ सालको निर्वाचनमा एमालेसँग तालमेल गरी सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट तत्कालीन जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी भएका थिए। यसपटक भने नयाँ दल श्रम संस्कृति पार्टीले जित हासिल गर्न सफल भएको छ।
क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँच वटा र रामधुनी नगरपालिकाका दुई वटा गरी २७ वटा वडा समेटिएका छन्। क्षेत्र नं. १ मा यसपटक एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ९८ हजार ३७२ मत खसेको थियो। जसमा चार हजार ४९८ मत बदर भएका छन्।
भोजपुरबाट धुव्रराज राई विजयी
भोजपुरबाट श्रम संस्कृति पार्टीका धुव्रराज राई विजयी भएका छन्। उनले कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका एमाले सचिव शेरधन राईलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। धुव्रराजले १६ हजार ६६३ मत ल्याएर जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरे।
विजयी भएपछि भिडियो सन्देशमार्फत उनले अब संसदमा सशक्त ढंगले भूइँमान्छेको पक्षमा भूमिका निर्वाह गर्ने बताएका छन्। भोजपुरमा कुल १ लाख २५ हजार ७६६ मतदातामध्ये ५८ हजार १६७ मत खसेको थियो।
खोटाङबाट ओरेन राई विजयी
खोटाङबाट श्रम संस्कृति पार्टीका ओरेन राई विजयी भएका छन्। उनले १६ हजार ६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे।
बलियो संगठन भएका र गहिरो जरा गाडेका दलहरूलाई पराजित गर्दै २९ वर्षीय ओरेन विजयी भएका हुन्। निर्वाचन मनोनयन दर्ता गरेदेखि नै ठूला दलले नपत्याएको ओरेनले अन्ततः मतदाताको विश्वास जितेका छन्।
मुख्य निर्वाचन अधिकृत फणीन्द्रप्रसाद पराजुलीले राईलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए। निर्वाचित भएको प्रमाणपत्र लिएपछि श्रम संस्कृति पार्टीले दिक्तेल बजारमा विजय जुलुस निकालेको थियो।
प्रतिनिधिसभाको एकमात्र खोटाङ क्षेत्रमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो। निर्वाचनमा ३ हजार ९२८ मत बदर भएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १९:२० आइतबार



