हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गममा पर्छ नार्पाभूमि गाउँपालिका । गाउँपालिकाका पाँचवटा वडाका अधिकांश बासिन्दा चिसो छल्न सहर झरेकोले केहीदिन अघिसम्म गाउँ सुनसान थिए । तर, निर्वाचनका लागि भोट खसाल्ने भनेर अहिले गाउँलेहरु धमाधम घर फर्किरहेका छन ।
गाउँपालिकामा सबैगरि ४ सय ८८ जना मतदाता थिए । ती मध्ये अधिकांश मतदाता सहरमा रहेको भएपनि अहिले गाउँ फर्किने क्रमम रहेको स्थानीयले बताएका छन । वृद्ध उमेरका बाहेकका मतदाता घर फर्किने क्रममा रहेको स्थानीयको भनाइ छ ।
नार्पाभूमि गाउँपालिका–१ नार का अध्यक्ष फुर्वा ठेले लामाका अनुसार अहिले गाउँलेहरु धमाधम फर्किरहेका छन् । ‘हामी अहिले पनि बाटोमै छौ । हिड्न सक्ने पैदल हिडिरहेका छन् । केही घोडा चढेर भएपनि घर फर्किने क्रममा छन् । हामी मतदातालाई घर फर्किन सहजीकरण गरेका छौ,’ उनले भने, ‘वृद्धवृद्धा भने अहिले फर्किने सम्भावना छैन । जो हिड्न सक्छन उनीहरु भने धमाधम घर फर्किरहेका छन् ।’
मंसिरको पहिलो सातातिर चिसो छल्न हिमाली जिल्ला मनाङका धेरैजसो मतदाता काठमाडौं, लम्जुङ, चितवन झरेका थिए । हिमाली जिल्लाका अधिकांश बासिन्दा चिसो बढेसँगै तल झर्ने गरेका छन् । नार्पाभूमि मात्र नभई जिल्लाका सबैतिरका मतदाता चिसो छल्न तल झरेको उनले बताए ।
‘सबैजना फर्किन सक्ने अवस्था छैन । वृद्धवृद्धा भने गाउँ फर्किन नसक्ने भएकोले मतदानबाट बञ्चित हुने सम्भावनाा छ । कतिपय गाउँसम्म गाडीको पहुँच नभएकोले पनि उनीहरु पैदल हिडेर फर्किन सक्दैनन,’ उनले भने, ‘चुनाव केहिदिन पछाडि परेको भए सबैजसो मतदाता घर फर्किन सक्थे । तर, चिसोका कारण अहिले नै फर्किन सक्ने अवस्था नभएको हो ।’
जिल्ला निर्वाचन कार्यालय मनाङका सूचना अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार अहिले मतदाताहरु धमाधाम घर फर्किरहेका छन् । केही अझै फर्कने क्रममा पनि रहेका छन् । ‘चिसो छल्न झरेका मतदाताहरु अहिले धमाधम घर फर्किरहेका छन् । अझै केही गाउँ फर्किने क्रममै छन्,’ अर्यालले भने, ‘चिसो छल्न जिल्लाका सबैतिरका मतदाता अस्थायी बसाई सरेका हुन्छन् । ती मध्ये धेरैजसो फर्किसकेका छन् ।’
गाडी चल्ने ठाउँसम्मका मतदातालाई घर फर्किन समस्या नभएपनि गाडीको पहुँच नभएका गाउँका बासिन्दालाई भने केही दु:ख रहेको उनले बताए । मनाङमा सबैगरी ७ हजार मतदाता छन् । तीमध्ये धेरै मतदाता बसाई सरेका थिए । जिल्लाका दुर्गभ क्षेत्रमा निर्वाचन गराउनका लागि आवश्यक सामान सहित कर्मचारी हिडिसकेको पनि उनले बताए । नार्पाभूमिका मतदातालाई घर फर्किन सहजीकरण गर्नका लागि प्रशासनले सुरक्षकर्मी परिचालन गरेर केहीदिन अघि मात्र बाटोमा जमेको बरफ फ्याकेर बाटो खुलाएको थियो ।
त्यस्तै अर्काे हिमाली जिल्ला मुस्ताङका मतदाता पनि अहिले धमाधम घर फर्किरहेका छन । त्यहाँका मतदाता पनि जाडो छल्न पोखरा, काठमाडौं सहितका सहरमा झरेका थिए । मंसिरको सुरुवाती समयमा उनीहरुले घर छाडेका थिए । कतिपय मतदाता जिल्लाभित्रैका सुगम बस्तीमा पनि झरेका थिए । तर, अस्थायी बसाई सरेका मतदातामध्ये केही मतदाता अहिले निर्वाचनमा भोट खसाल्नका लागि घर फर्किएका छन भने केही मतदाता घर फर्किने तयारीमा छन । मतदातालाई घर फर्काउन गाउँपालिकादेखि निर्वाचनमा होमिएका उम्मेदवार पनि लापिरेका छन । मत खसाल्नका लागि मतदाता धमाधम घर फर्किरहेको स्थानीयको भनाई छ ।
नेकपा एमालेका मुस्ताङका उम्मेदवार इन्द्रधारा विष्ट भन्छन, ‘मतादाताहरु ध्माधम घर फर्किरहेका छन । मुस्ताङका अधिकांश बस्तीसम्म मोटरको पहुँच भएकोले पनि समस्या छैन । तर, हिउँ जमेका कारण कतिपय बस्तीसम्म पुग्न भने मोटरको बाटो भएपनि असहज अवस्था छ ।’ उनका अनुसार बसाई सरेका मध्ये करिब २५ प्रतिशत मतदाता घर फर्किसकेका छन । अझै केही फर्किन बाँकी छन ।
‘जाडो छल्न झरेका मध्ये करिब ६० प्रतिशत मतदाता मात्र घर फर्कने हाम्रो अनुमान हो,’ विष्टले भने, ‘वृद्धवृद्धा भने फर्किने सम्भावना कम छ ।’ उनका अनुसार जिल्लाका करिब ८० प्रतिशत बासिन्दा जाडो छल्न मंसिर लागेसँगै सहरतिर झरेका थिए । गोठालाको रुपमा र घर कुरेर बस्नका लागि मात्र केही मतदाता गाउँमै बसेका थिए ।
मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५ को साङता गाउँका बासिन्दा पनि मतदानका लागि घर फर्किसकेको उनले बताए । साङता जिल्लाकै सबैभन्दा दुर्गम बस्ती हो । सदरमुकाम जोमसोमबाट ३४ किलोमिटर टाढाको यो गाउँका बासिन्दा पनि चिसो छल्नका लागि केही सहरतिर झरेका थिए भने कतिपय मतदाता अर्कै गाउँमा बसाई सरेका थिए । अहिले ती गाउँका बासिन्दा पनि घर फर्किन थालेका छन । उनीहरु मात्र नभई चिसो छल्न घर छाडेका मतदाता अहिले धमाधम घर फर्किरहेका छन । ‘साङतासम्मको मोटरबाटो हिउँले ढाकिएको थियो । डोजर लगाएर बाटो सफा गरेपछि गाउँलेहरु घर फर्केका छन । केही अझै फर्किने क्रममा छन,’ विष्टले भने । मुस्ताङ जिल्लामा सबैगरि ११ हजार ३ सय २८ जना मतदाता छन्।
प्रकाशित: १७ फाल्गुन २०८२ २०:०१ आइतबार



