निर्वाचन विशेष

चितवन–३मा आफ्नै चुनाव चिह्नमा भोट हाल्न पाइने भन्दै सुखी साट्दै

चितवन क्षेत्र नं ३ मा यसपटक चुनावी माहोल केही फरक देखिएको छ। १२ वर्षपछि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मतदाताले आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्।

अघिल्ला निर्वाचनमा तालमेलका कारण दुवै दलका मतदाताले आफ्नो चिह्नमा भोट हाल्न पाएका थिएनन्। २०७९ सालमा कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीलाई सघाएको थियो भने २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी का विक्रम पाण्डेलाई समर्थन गरेको थियो। त्यसैले मतपत्रमा ‘रुख’ चिह्न थिएन।

एमालेले पनि २०७९ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई र २०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सघाएको थियो। २०७० सालको संविधानसभा निर्वाचनपछि पहिलो पटक एमाले मतदाताले ‘सूर्य’ चिह्नमा मतदान गर्न पाउने भएका छन्।

इतिहास हेर्दा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुशील कोइराला निर्वाचित भएका थिए। पछि प्रधानमन्त्री बनेका उनले एक क्षेत्र त्यागेपछि उपनिर्वाचनमा कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका थिए।

२०७४ मा निर्वाचन क्षेत्र घटेर तीन वटा हुँदा एमाले र माओवादीबीच एकता भई नेकपा बनेको थियो। त्यतिबेला प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले हराएका थिए।

तर २०७९ को निर्वाचनमा परिणाम उल्टियो। राप्रपाका विक्रम पाण्डे विजयी भए। उनले माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गरे। पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत पाए। त्यही चुनावमा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत ल्याएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी की जिता बराल १४ हजार ८४२ मतसहित तेस्रो भएकी थिइन्।

अब आसन्न निर्वाचनमा समीकरण फेरिएको छ। कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट शंकरराज थपलिया उम्मेदवार छन्। दुवै दल आफ्नै चुनाव चिह्नसहित मैदानमा छन्।

यसैगरी माओवादी केन्द्रबाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन्। दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यो क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। कुल एक लाख ५५ हजार ३०९ मतदाता छन्। तीमध्ये ७५ हजार ६९६ पुरुष, ७९ हजार ६१२ महिला र एक तेस्रोलिङ्गी मतदाता छन्। ६३ मतदानस्थलका १७४ केन्द्रबाट मतदान हुनेछ।

यसपटकको चुनावमा मुख्य चासो यही छ, आफ्नै चिह्नमा फर्किएका कांग्रेस र एमाले मतदाता कति एकजुट हुन्छन्, र अघिल्लो निर्वाचनमा जित हात पारेको राप्रपा आफ्नो पकड जोगाउन सक्छ कि सक्दैन। चितवन–३ मा प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ।

प्रकाशित: १० फाल्गुन २०८२ १५:१३ आइतबार