निर्वाचन विशेष

लोपोन्मुख वनकरिया भन्छन्: लालपुर्जा दिलाउनेलाई हाम्रो मत

वनकरिया बस्ती । फाइल तस्बिर

मकवानपुरको मनहरी गाउँपालिका–४ टवाङ्ग्राखोला छेउको वनकरिया बस्तीमा चुनावको माहोल अझै पुगेको छैन। सामाजिक सञ्जाल र एफएमबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे थाहा पाए पनि कसलाई र कसरी मत हाल्ने भन्ने अन्योलमा स्थानीय छन्।

पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर दूरीमा रहेको बस्तीमा हालसम्म कुनै उम्मेदवार वा दलका नेता–कार्यकर्ता मत माग्न पुगेका छैनन्। राम वनकरिया भन्छन्, “मोबाइल र रेडियोबाट चुनावको खबर पाएका छौँ, तर कसरी भोट हाल्ने भन्ने थाहा छैन। अहिलेसम्म कसैले सिकाउन पनि आएको छैन।”

उनका अनुसार गाउँ–सहरमा चुनावी चहलपहल बढे पनि वनकरिया बस्ती बेखबरजस्तै छ। “चारैतिर उम्मेदवार मत माग्न पुगेका छन्, तर हाम्रो बस्तीमा कोही आएको छैन,” उनले गुनासो गरे।

२४ परिवार, एउटै बस्ती

यो बस्तीमा वनकरिया समुदायका २४ परिवार बसोबास गर्छन्। कुनै समय पर्साको चुरे क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएका वनकरियालाई सरकारले २०६२ सालमा स्थायी बस्तीमा स्थानान्तरण गरेको थियो। जिल्ला वन कार्यालय मकवानपुरले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर जमिन उपलब्ध गराएपछि उनीहरू त्यहीँ बस्दै आएका छन्।

विसं २०७८ को जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या १८० छ, जसमध्ये ८६ जनाले मातृभाषा बोल्छन्। समुदायकी अगुवा सन्तोषी वनकरियाका अनुसार हाल बस्तीमा ९१ जना छन्, जसमध्ये ५० जनाको नागरिकता बनेको छ भने २६ जनाको नाम मतदाता नामावलीमा छ।

अहिले उनीहरू खेतीपाती, कुखुरा, बाख्रा, भैँसी पालन तथा ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका छन्।

तीन चुनावमा मत दियौँ, समस्या ज्यूँका त्यूँ

स्थानीय सन्तमाया वनकरिया भन्छिन्, “तीन वटा चुनावमा मत हालेर प्रतिनिधि जिताएर पठायौँ, तर कसैले समस्या बुझेन।” उनका अनुसार चुनावका बेला नेताहरू बस्तीमा पुगेर प्रतिबद्धता जनाए पनि जितेपछि फर्केर नआउने प्रवृत्ति दोहोरिँदै आएको छ।

वनकरिया समुदायको मुख्य माग बसोबास गरिरहेको जग्गाको लालपुर्जा हो। “सरकारले यहाँ ल्याएर राखेको २० वर्ष भयो, तर अहिलेसम्म हाम्रो नाममा जग्गा आएको छैन। कहिले यो ठाउँ छोड्नुपर्ने हो भन्ने त्रास छ,” सन्तमायाले भनिन्।

विष्णुमाया वनकरिया पनि त्यही चिन्ता दोहोर्याउँछिन्, “चुनावमा लालपुर्जा दिलाउने वाचा गरिन्छ, तर जितेपछि कोही फर्किँदैन।” लालपुर्जा नहुँदा ऋण लिन, व्यवसाय सुरु गर्न वा कुनै आर्थिक योजना अघि बढाउन कठिनाइ भइरहेको उनीहरूको भनाइ छ।

सन्तोषी वनकरियाले स्थानीयदेखि प्रदेश र सङ्घीय सरकारसम्म गुहार्दा पनि समस्या समाधान नभएको बताइन्। “हामी मत दिन तयार छौँ, तर लालपुर्जा दिलाउने उम्मेदवारलाई मात्र मत दिन्छौँ,” उनले स्पष्ट पारिन्।

२१ उम्मेदवार चुनावी मैदानमा

मकवानपुर क्षेत्र नं २ मा यसपटक १६ दल र पाँच स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन्।

बुद्ध लामा (नेपाली कांग्रेस),

महेशकुमार बर्तौला (नेपाल कम्युनिष्ट पार्टी एमाले),

लवशेर विष्ट (नेपाल कम्युनिष्ट पार्टी),

रामबहादुर थोकर (राष्ट्रिय प्रजातन्त्र पार्टी),

प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायत प्रतिस्पर्धामा छन्।

अघिल्लो २०७९ को निर्वाचनमा एमालेका बर्तौला ३४ हजार ९१६ मत ल्याएर निर्वाचित भएका थिए। राप्रपाका थोकर दोस्रो पटक मैदानमा छन् भने अन्य धेरै उम्मेदवार पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्।

यस क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाका चार वडा, थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, मनहरी, भीमफेदी र मकवानपुर गाउँपालिकाका दुई वडा पर्छन्। कुल १ लाख ५६ हजार ८९९ मतदाता रहेको यस क्षेत्रमा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र छन्।

चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको विकट भौगोलिक क्षेत्र मानिने यहाँ जातीय मत आकर्षित गर्ने रणनीति पनि देखिन्छ।

तर चुनावी समीकरण र दलगत रणनीतिभन्दा टाढा रहेको वनकरिया बस्तीका लागि भने एउटै मुद्दा निर्णायक बनेको छ,जग्गाधनी लालपुर्जा। उनीहरू भन्छन्, “हाम्रो जीवन सुरक्षित बनाउनेलाई नै मत दिन्छौँ।”

प्रकाशित: १० फाल्गुन २०८२ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App