कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा अघिल्लो पटक प्रतिनिधिसभा निर्वाचनमा एमालेले बाजी मारेको थियो । तिनवटै क्षेत्रमा एमालेले जित्दै गर्दा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तत्कालिन एकीकृत समाजवादी र माओवादी केन्द्रले एमालेलाई पछ्याएका थिए ।
तर, अहिले माहोल केही फरक छ । जेनजी आन्दोलनपछि हुन थालेको यो निर्वाचनमा दलहरुले पहिले भन्दा अधिकांश नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन । अघिकांश नयाँ अनुहारबीच योपटक निर्वाचनमा प्रतिश्पर्धा हुँदैछ । यो पटक एमालेले कास्कीका ३ वटा मध्ये कास्की–३ मात्र दोहो¥याएर उम्मेदवार बनाएको छ । नत्र अरु सबै दलले नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन ।
यो पटक उम्मेदवार मात्र नयाँ छैनन की मतदातामाझ परिवर्तित अवस्था र माहोल भएका कारण निर्वाचनको प्रतिश्पर्धा गर्ने दलहरु पनि फेरिएको राजनीतिक विश्लेषक बताउने गरेका छन ।
कास्की १ मा कांग्रेसका तिलक रानाभाट उम्मेदवार छन । उनी केन्द्रीय नेतृत्वसँग राम्रो पहुँच राख्ने नेता हुन । महाधिवेशन प्रतिनिधि बनिसकेका उनी पहिलोपटक उम्मेद्वार बनेका हुन । एमालेबाट यो क्षेत्रमा बैनबहादुर क्षेत्री अधिकारी उम्मेदवार बनेका छन । त्यस्तै रास्वपाबाट खड््कराज (गनेस) पौडेल पनि उम्मेदवार छन ।
यो पटक चर्चामा रहेका तिनैजना उम्मेदवार पहिलो पटक निर्वाचनमा होमिएका हुन । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका मनबहादुर गुुरुङ विजयी भएका थिए । त्यो बेला कांग्रेस दोश्रो र रास्वपा तेश्रो दल भएको थियो ।
कास्की २ मा पनि प्रतिस्पर्धा उत्तिकै छ । निकै नै प्रतिस्पर्धात्मक देखिएको कास्की २ मा एमालेका रश्मी आचार्य उम्मेदवार छन । पत्रकारितामार्फत परिचय कमाएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो क्षेत्रमा उत्तम पौडेल उम्मेदवार बनेका छन । कास्की २ का कांग्रेसका माधवप्रसाद बाँस्तोला पनि पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन । उनी यसअघि क्षेत्रीय सभापति पनि भएका व्यक्ति हुन ।
मतदाताका लागि उनीहरु तिनैजना नयाँ अनुहार हुन । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेकी विद्या भट्टराईले जित हासिल गरेकी थिईन । भट्टराईसँगको प्रतिस्पर्धी बनेको रास्वपा त्यो बेला उपविजेता बनेका थियो । तेश्रो दलको रुपमा एकीकृत समाजवादी पार्टी बनेको थियो ।
कास्की ३ मा पनि एमालेका उम्मेदवार दामोदर पौडेल (वैरागी) बाहेक मतदाताका लागि सबै नयाँ अनुहार हुन । २०६४ मा बाहेक त्यसपछिका हरेक निर्वाचनमा कास्की ३ मा एमालेले जित हासिल गर्दै आएको थियो । यो पटक एमालेले कास्कीका ३ मध्ये दोहो¥याएर उम्मेदवार बनाएका व्यक्ति पौडेल मात्र हुन ।
कास्की ३ बाट कांग्रेसका मनोज गुरुङ उम्मेदवार बनेका छन । उनी पनि निर्वाचनमा होमिएको पहिलो पटक हो । उनी अहिले कास्की ३ को क्षेत्रीय सभापति हुन । तरुण दल कास्कीका सभापति पनि हुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने यो क्षेत्रमा महिलालाई उम्मेदवार बनाएको छ । कास्की ३ मा रास्वपार्क बिना गुरुङ उम्मेदवार बनेकी छिन । अघिल्लो निर्वाचनमा एमालेका तर्फबाट दामोदर पौडेल (बैरागी) नै विजयी भएका थिए । दोश्रोमा नेकपा (माओवादी केन्द्र) र तेश्रो रास्वपा बनेको थियो ।
पहिलोपटक निर्वाचनमा होमिएका उम्मेदवार अधिकांश उम्मेदवारबीचको प्रतिश्पर्धाले कास्कीमा रौनकता छाएको छ । कास्की– १ मा योपटक १ लाख १६ हजार ८ सय ७८ जना मतदाता छन । कास्की २ मा ८४ हजार १ सय ३४ जना मतदाता छन । कास्की –३ मा भने योपटक १ लाख ७ हजार ५ सय ६० जना मतदाता रहेका छन ।
तीनवटै निर्वाचन क्षेत्रमा अधिकांश नयाँ उम्मेदवारबीच प्रतिश्पर्धा हुन थालेको र पछिल्लो समय रास्वपाको लहर देशैभरि चलिरहँदा दलहरुले योपटकको निर्वाचनमा भने अघिल्लो पटक भन्दा केही बढी दवाव महसुस गरेका छन । अघिल्लो निर्वाचनमा रास्वपा निकै नै नयाँ दल थियो । तर, यो पटक भने रास्वपाले देशभरि प्रभाव बटुल्दै जाँदा पुराना दलहरुले निर्वाचन प्रतिश्पर्धालाई केही दवावको रुपमा लिएका छन ।
कांग्रेस कास्की प्रवक्ता नवीन सिग्देल भन्छन, ‘कांग्रेसको नयाँ नेतृत्वका कारण कार्यकर्ता त सम्हालिएका छन । तर, लहरको कारण प्रतिश्पर्धा बढ्ने सुनिश्चित छ ।’ अघिल्लो पटक एमाले, तत्कालिन माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीच प्रतिश्पर्धामा योपटक नयाँ दल रास्वपा थपिँदा दलहरुले केही बढी मेहनत गर्नुपर्ने अवस्था आएको उनले बताए ।
‘अहिले थपिएको प्रतिस्पर्धालाई नकार्न मिल्दैन । अघिल्ला निर्वाचनमा प्रतिश्पर्धा एमालेसँग मात्र थियो । तर, अहिले अरु प्रतिस्पर्धी पनि छन्,’ सिग्देलले भने, ‘हुन त कांग्रेस यो पटक केही सम्हालिएको छ । मतदातालाई बेलैमा सम्हाल्न नेतृत्व सक्षम बन्यो । यदि नेतृत्व नै कमजोर बनेको भए यो पटक झनै दवाव पर्दथ्यो । तर, नेतृत्व केही सम्हालिएको भएपनि प्रतिश्पर्धा अझै बढेको छ ।’
राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल योपटकको निर्वाचनमा अघिल्लो पटक भन्दा अनुमान गर्न केही अप्ठेरो रहेको बताउँछन । ‘अहिलेको अप्ठेरो नयाँलाई र पुराना सबै दललाई छ । बदलिँदो अवस्थामा नयाँलाई भन्दा पुराना दललाई बढी चुनौती छ,’ दाहाल भन्छन, ‘दल र दलका नीति कार्यक्रम भन्दा पनि बाहिरी माहोलले पनि फरक पार्ने रहेछ । पछिल्लो समय देशव्यापी माहोलकै असर छ ।’
अघिल्लो पटकको निर्वाचनमा भर्खरै उदाएको रास्वपाले कास्कीका तिनवटै निर्वाचन क्षेत्रमा बलियो उपस्थिति बनाएकोमा अहिले त्यो उपस्थिति अझै अब्बल बनेको र माहोल पनि त्यही अनुसार बन्दै गएको उनी बताउँछन । ‘अहिले रास्वपाको माहोल बनेको देखिन्छ । कांग्रेसमा पनि नयाँ नेतृत्व बनेकोले केही थामिएको छ,’ दाहालले भने, ‘कांग्रेसलाई परिवर्तित अवस्थाले केही सहजता बनाएको देखिन्छ ।’
एमालेसँग भने मतदातालाई प्रभाव पारेरै मत तान्ने अवस्था भने नदेखिएको उनले बताए । ‘अहिले त रास्वपा अघि बढेको छ । अरु दल त धेरै पछाडि परेका छन । नेपाली कम्युनिष्ट पार्टी त झनै पछाडि परेको छ । रास्वपको अवस्था सुदृढ पनि भएको छ,’ उनले भने । कांग्रेस केही थामिएको, एमालेसँग प्रभाव पार्न सक्ने क्षमता गुमेकोले बलियो प्रतिश्पर्धामा रास्वपा रहेको उनले बताए । ‘जुनसुकै दलका उम्मेदवारले जिते पनि ठूलो अन्तर रहँदैन,’ दाहालले भने ।
प्रकाशित: ३ फाल्गुन २०८२ १९:४२ आइतबार



