नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। साविकको निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ बाट उम्मेदवार बनेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंहसँग पराजित भएका हुन्।
३५ हजार ६ सय ८८ मतसहित प्रतिनिधिसभा सदस्यमा सिंह निर्वाचित हुँदा ‘कांग्रेस बदलेको अब देश बदल्ने’ भन्दै मत मागेका थापा झण्डै ११ हजार मतले पछि परेका हुन्। उनले २२ हजार ८ सय ३१ मतमा चित्त बुझाउनु परेको छ।
पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवालाई अघि सारेर निर्वाचनमा जान नसकिने भन्दै पुसको अन्तिम साता एकपक्षीय विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्वमा पुगेका थिए। पार्टीभित्रको आन्तरिक विमतिलाई बलका रूपमा उपयोग गर्दै निर्वाचनमा होमिएको कांग्रेसले स्थापनापछि जनताबाट सबैभन्दा ठूलो अस्वीकार भोगेको छ। थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको बैठकले उनैलाई नयाँ प्रधानमन्त्रीका रूपमा पनि घोषणा गरेको थियो। तर, जनताले थापालाई मात्र होइन कांग्रेसलाई नै अस्वीकार गरेका छन्।
२००३ सालमा राणा शासन अन्त्यका लागि स्थापना भएको कांग्रेसले २०१५ सालदेखि नौ निर्वाचनमा सहभागिता जनाएको छ। तीमध्ये कांग्रेसका दुई जना सभापति आम निर्वाचनमा पराजित हुन पुगेका छन्।
२०४६ को राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको आम निर्वाचनमा तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराई पराजित भएका थिए। पार्टीले बहुमत ल्याए पनि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति भट्टराई एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँग पराजित भएका थिए। २७ हजार ३ सय ७२ मतसहित भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा भट्टराई ७ सय ५१ मतले पछि परेका थिए। उनले २६ हजार ६ सय २१ मत पाएका थिए। त्यससँगै कांग्रेसको आन्तरिक कलह चुलिन पुगेको थियो।
२०६४ मा भएको संविधानसभा निर्वाचनमा कार्यवाहक सभापति सुशील कोइराला पनि पराजित भएका थिए। तर सभापति भने गिरिजाप्रसाद कोइराला नै थिए। गिरिजाप्रसाद कोइराला समानुपातिक सूचीमा बसेका थिए। निर्वाचनमा पराजित भएपछि सुशीलले राजीनामा गरे पनि सभापति गिरिजाप्रसादले त्यसलाई अस्वीकार गरेका थिए।
पार्टी स्थापनाको झण्डै आठ दशकमा फागुन २१ गते सम्पन्न निर्वाचनमा दोस्रो पटक कांग्रेस सभापति प्रतिनिधिसभा सदस्यमा पराजित भएका हुन्। उनी आफूमात्र होइन, पार्टीका अधिकांश पदाधिकारी पनि पराजित हुन पुगेका छन्। दुई उपसभापति (विश्वप्रकाश शर्मा र पुष्पा भुसाल) निर्वाचन प्रतिस्पर्धामा नै उत्रिएनन् भने प्रतिस्पर्धामा उत्रिएका सबैजसो पराजित भएका हुन्।
महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे क्रमशः काठमाडौं–५ र मोरङ–४ बाट रास्वपाका उम्मेदवारसँग भारी मतले पछि परे। निर्वाचन प्रतिस्पर्धामा रहेका सहमहामन्त्रीहरू फर्मुल्लाह मन्सुर, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही, योगेन्द्र चौधरी र कर्णबहादुर बुढाका लागि पनि निर्वाचन परिणाम अनुकूल बन्न सकेन।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभाको पहिलो दल बनेको कांग्रेस तीन वर्षपछि भएको निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिटमै खुम्चिन पुगेको छ। शहर र बजारिया मात्र होइन, ग्रामीण मतदाताको पनि विश्वास बटुल्न नसकेको कांग्रेसले कोशीमा तीन, मधेश र बागमतीमा एक–एक, गण्डकी र लुम्बिनीमा दुई–दुई, कर्णालीमा पाँच र सुदूरपश्चिममा तीन क्षेत्रको निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको छ।
त्यो पनि विगतमा पार्टी र सत्ता राजनीतिमा खासै चर्चा र प्रभावमा नरहेका नेताहरूले कांग्रेसको शाख जोगाइदिएका छन्। कोशी प्रदेशबाट नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम) र प्रकाशसिंह कार्की (सोलुखुम्बु), मधेश प्रदेशबाट रौतहट–२ का फिरदोश आलम निर्वाचित भएका छन्।
बागमती प्रदेशबाट मोहन आचार्य (रसुवा), गण्डकी प्रदेशबाट टेकबहादुर गुरुङ (मनाङ) र योगेश गौचन थकाली (मुस्ताङ), लुम्बिनी प्रदेशबाट सन्दीप राना (पाल्पा–१) र अभिषेकप्रताप शाह (कपिलवस्तु–३) निर्वाचित भएका छन्।
त्यस्तै कर्णाली प्रदेशबाट बासना थापा (दैलेख–१), खड्ग शाही (मुगु), विष्णुबहादुर खड्का (सुर्खेत–१), जयपती रोकाया (हुम्ला) र खडकबहादुर बुढा (जाजरकोट) तथा सुदूरपश्चिम प्रदेशबाट भरतबहादुर खड्का (डोटी), भरतकुमार स्वार (अछाम–१) र जनकराज गिरी (बाजुरा) मा कांग्रेसले जित निकालेको छ।
अघिल्लो निर्वाचनमा २७ लाखभन्दा बढी समानुपातिक मत पाएको कांग्रेसले यस पटक त्यसमा पनि गिरावट आएको जारी मतगणनाले देखाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ २०:०५ आइतबार



