रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको पुरानो विरासत रहेको छ । शेख इद्रिसदेखि महम्मद आफताब आलमसम्मले निरन्तर यस क्षेत्रका जनताको प्रतिनिधित्व गर्दै आएका थिए ।
महम्मद आफताब आलमको देहान्तपछि जेठो छोरा डा. फिर्दोष आलमलाई नेकाले विरासत जोगाउने जिम्मेवारी दिएको छ । मनोनयन गरेदेखि नै चर्चामा रहेका डा. आलमको मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरण साहसित हुने अनुमान गरिएको थियो ।
२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित साहले मतदानकै दिन फागुन २१ मा केही मतदान केन्द्रमा नेका कार्यकर्ताहरुले गडबडी गरेको आरोप लगाएका थिए । साहले मृतक मतदाता र परदेशमा रहेका मतदाताको नाममा नेका कार्यकर्ताले मतदान गरेको आरोप लगाएका थिए ।
साहले आफूमाथि नेका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप पनि लगाएका थिए ।
मृतक र परदेशमा रहेकाहरुको नाममा कसरी मतदान भयो ? यस विषयमा छानबिन हुनुपर्ने माग अगाडि सार्दै साहले सम्पूर्ण मतदानमा नै नेका कार्यकर्ताहरुले धाँधली गरेको आरोप निरन्तर लगाइरहेका छन् ।
साहलाई केही उम्मेदवारले समर्थन पनि गरेका छन् । साहले सर्वदलीय बैठकमा मृतकको नाममा मतदान भएको र विदेशमा रहेका मानिसहरुले पनि मतदान गरेको विषयलाई उठाउँदै छानबिनको माग गरेका थिए । उक्त मागलाई केही उम्मेदवारहरुले समर्थन पनि गरेका थिए तर बहुमतले मतगणना हुनुपर्ने निर्णय गरेपछि मतगणना कार्यलाई अगाडि बढाइएको छ ।
मुख्य प्रतिस्पर्धी मानिएका साहले मतगणना बहिस्कार गर्दै धर्नामा बसेका छन् । साह धरनामा बसिरहँदा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्रकाशित: २२ फाल्गुन २०८२ २२:३८ शुक्रबार