निर्वाचन विशेष

धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उम्मेदवार

मोरङ क्षेत्रनं ६ का नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकाल आइतबार कोराबाटै स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै। तस्बिरः चुमन बस्नेत/नागरिक

केन्द्रमा दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आ–आफ्नो पार्टीका तर्फबाट घोषणापत्र जारी गरिरहँदा मोरङका उम्मेदवारहरू पनि स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन्। पार्टीको घोषणापत्रभन्दा फरक स्थानीय मुद्दाहरूलाई समेटेर उम्मेदवारहरूले प्रतिबद्धतापत्र सार्वजनिक गर्न थालेका हुन्।

आइतबार मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरे। यसअघि मोरङ क्षेत्रनं ४ का उम्मेदवार जीवन घिमिरेले पनि १५ बुँदे स्थानिय प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए। 

नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्रनं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ढकालले आइतबार सार्वजनिक गरेको ३० बुँदे प्रतिबद्धतापत्रमा क्षेत्रको दीर्घकालीन विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी योजनाहरू अघि सारिएको छ।

विगत एक दशकदेखि क्षेत्रका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्दै आएको उल्लेख गर्दै यसपटक विकास निर्माणलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेका छन्। क्षेत्रका मुख्य समस्याका रूपमा रहेको बाढी तथा डुबान नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको प्रतिबद्धतापत्रमा उल्लेख छ। प्रतिबद्धतापत्रमा बुढीखोला, केसलिया र सिंघिया नदी नियन्त्रणका लागि दीर्घकालीन गुरुयोजना ल्याइने, तटबन्ध सुदृढीकरण तथा निकास व्यवस्थापनमा विशेष पहल गरिने उल्लेख छ।

यस्तै पूर्वाधार विकासअन्तर्गत मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति, कालोपत्रे विस्तार र आवश्यक स्थानमा नयाँ पुल निर्माण गरिने योजना सार्वजनिक गरिएको छ। ग्रामीण बस्तीलाई यातायात सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने, प्रशासनिक सेवा सहज बनाउन आवश्यक संरचना निर्माण गर्ने र औद्योगिक क्षेत्रसम्म पहुँच मार्ग सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। बन्द अवस्थामा रहेका उद्योग पुनः सञ्चालनका लागि पहल गर्ने तथा साना तथा घरेलु उद्योग प्रवद्र्धनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको छ।  

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउने योजनालाई पनि प्राथमिकता दिइएको छ। किसानलाई मल, बीउ तथा आवश्यक सामग्री समयमै उपलब्ध गराउने व्यवस्था मिलाइने, सिँचाइ प्रणाली विस्तार गरिने र आधुनिक कृषि प्रविधिको प्रयोगमा प्रोत्साहन गरिने उनले बताए। कृषि उपज संकलन केन्द्र तथा चिस्यान भण्डार स्थापना गरी बजार व्यवस्थापन सुदृढ गर्ने योजना रहेको छ।  यसबाट किसानको उत्पादन लागत घट्ने र आम्दानी वृद्धि हुने विश्वास गरिएको छ।  

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक विद्यालयमा स्मार्ट कक्षा विस्तार, प्राविधिक तथा रोजगारमुखी शिक्षा कार्यक्रम सञ्चालन र उच्च शिक्षालाई गुणस्तरीय बनाउने योजना समेटिएको छ। क्याम्पस सुदृढीकरण, छात्रवृत्ति विस्तार तथा सीपमूलक तालिममार्फत युवालाई स्वरोजगारतर्फ आकर्षित गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । युवालाई उद्यमशीलता विकासका लागि सहुलियत ऋण र तालिम कार्यक्रम उपलब्ध गराइने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।  

स्वास्थ्य सेवामा विपन्न तथा गरिब नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, सरकारी स्वास्थ्य संस्थाको सेवा विस्तार गर्ने र आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिने योजना रहेको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित तथा एकल महिलाका लागि सामाजिक सुरक्षा कार्यक्रम सुदृढ गरिने उल्लेख गरिएको छ।  

सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धन र स्थानीय पहिचान जोगाउँदै विकास निर्माण अघि बढाइने पनि उनको प्राथमिकतामा परेको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने  प्रतिबद्धतापत्रमा  उल्लेख छ। आसन्न निर्वाचनमा मतदाताले विकास र स्थायित्वका पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले समर्थनको अपिलसमेत गरेका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App