राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूमा देश बनाउने सपना रहेको र त्यसलाई पूरा गर्ने बताएका छन्। रास्वपाद्वारा सुदूरपश्चिमको धनगढीमा बुधबार आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्दै शाहले डोटेली भाषामा भने, ‘बेली मैले छकालै एउटा सुइना देखेको थें।’ अर्थात् हिजो बिहान मैले एउटा सपना देखेको थिएँ। त्यो सपना भनेको सुदूरपश्चिम बनेको, देश बनेको हो, त्यो पूरा गर्ने हो। उनले सुदूरपश्चिम बनाउने, देश बनाउने सपना पूरा गर्ने पार्टी रास्वपा नै भएको दोहोर्याए।
परिवर्तन उद्घाेष नाम दिइएको सभालाई सम्बोधन गर्दै शाहले पैसा नहुनेले शिक्षा र स्वास्थ्य सुविधा पाउनुपर्ने चुनावी अजेन्डा आफ्नो भएको बताए। ‘खल्तीमा पैसा नभएको, विपन्न, गरिबले पनि शिक्षा पाउनुपर्यो, स्वास्थ्य उपचार सेवा पाउनुपर्यो। त्यो हाम्रो अजेन्डा हो’, उनले भने।
दुई वर्षमा बन्ने बाटो २० वर्षसम्म नबन्ने अवस्थाको अन्त्य गर्ने र डेढ वर्षमै बनाउने अजेन्डा पनि आफ्नो रहेको उनले सुनाए। ‘रुखमा बाँधेर हुन्छ कि, सडकमा सुताएर हुन्छ कि, खोरमा हालेर हुन्छ, डेढ वर्षमा बाटो बन्नुपर्यो’, रास्वपाले भावी प्रधानमन्त्री प्रस्ताव गरेका शाहले भने। उनी झापा–५ बाट उम्मेदवार छन्।
स्विट्जरल्यान्डमा भन्दा राम्रा बडिमालिका, रामारोशन, खप्तडजस्ता ठाउँहरू नेपालमै रहेको चर्चा गर्दै शाहले भने, ‘हामी नेपाली माल भएर पनि चाल नपाएको जस्तै भयौं। भएको चिज देखाउन सकेकका छैनौं।’ उनले देशलाई स्विट्जरल्यान्ड बनाउँछु भन्नेहरूप्रति व्यंग्य गर्दै यसो भनेका हुन्।
सुदूरपश्चिम अहिले पनि काठमाडौंसँग जोडिन नसकेको उनको भनाइ थियो। ‘सुदूरपश्चिमलाई सुनजिकपश्चिम बनाउनुपर्यो। राष्ट्रिय स्वतन्त्र पार्टीको अजेन्डा यो पनि हो’, उनले भने।
भोट माग्न नभईकन काम माग्न आफूहरु सुदूरपश्चिम आएको उनले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है’, उनले भने।
भोट नदिए पनि रास्वपाले सुदूरपश्चिमको विकास गरेर देखाउने उनले बताए। उनले जनतालाई गर्नुपर्ने कामको विवरण बनाएर पार्टीका उम्मेदवार वा नेतामार्फत दिन आग्रह गरे। समर्थकको आग्रहमा चश्मा खोल्दै उनले भने, ‘आँखा हेर्नु पर्दैन, काम हेर्नु होला।’
सभालाई सभापति रवि लामिछानेले पनि सम्बोधन गरे। उनले २१ फागुन चुनाव मात्र नभएर इतिहास लेख्ने दिनसमेत भएको बताए। देश बदल्ने इतिहास लेख्ने अवसर सधैं नआउने भएकाले अहिले त्यसको भरपुर सदुपयोग गर्न उनले जनतालाई आग्रह गरे। ‘देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि–बालेनहरू भोलि आउँछन् /आउँदैनन् थाहा छैन’, उनले भने, ‘अहिले आएका छन्, देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिने बेलामा। तपाईंले कुनै बेला भन्न पाउनु हुने छ यो देश परिवर्तनमा मेरो पनि योगदान छ।’
उनले निर्वाचनबाट पुराना दलको सटर बन्द गरिनुपर्ने बताए। ‘अब सटर एउटा बन्द हुनुपर्छ कि हाम्रो सटर बन्द गराइदिनोस् कि यिन (पुराना दल) को सटर बन्द गराइदिनोस्’ उनले भने, ‘कुशासन, बेथिति, बेरोजगारी अशिक्षाको सबै सटर बन्द गर्ने हो एकै पटक। उनले पाँच वर्ष सरकार चलाउने गरी रास्वपालाई बहुमत दिन आग्रह गरे। उनले विदेशमा रहेका नेपालीलाई पनि बिदा मिलाएर मतदान गर्न घर फर्कन अपिल गरे। ३५ वर्षसम्म जनताको सपनामा डोजर चलाएका पुराना दलले निर्वाचनका बेला भ्रम छर्न खोजेको आरोप उनको थियो। ‘यिनीहरुले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर तपाईंको भोट चोर्न आउलान्’ उनले भने,
‘तिनलाई सोध्नोस् ३५/३५ वर्षसम्म हाम्रो सपनामा डोजर कसले चलायो?’ सभामा सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार पनि उपस्थित थिए।
प्रकाशित: ७ फाल्गुन २०८२ ०९:१४ बिहीबार