सिन्धुलीको सुनकोसी गाँउपालिका अध्यक्षमा पुन नेकपा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल विजयी भएकी छिन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोइराला निर्वाचित भएका छन्।
गठबन्धनको तर्फबाट नेकपा माओवादी बाट उम्मेदवा बनेकी दाहालले पाँच हजार तीन सय ७६ मत सहित विजयी बनेकी थिइन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको रोमनराज गिरी(अशोक)ले पाँच हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिइन्।
दाहालले नेकपा एमालेका गिरीलाई २ सय ७८ मतान्तरणले पराजित गर्दै दोस्रो पटक गाँउपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्। यसअघि २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा पनि सोही गाँउपालिकाको अध्यक्षमा दाहाल निर्वाचित भएकी थिइन्।
यस्तै गाँउपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका कपिलकुमार कोइराला निर्वाचित भएका छन् । कोइरालाले ६ हजार ५ सय ९४ मत सहित विजयी बनेका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी हेमाकुमारी अधिकारीले ३९५८ मत ल्याएकी थिइन्। १५ हजार तीन सय ४२ मत रहेको सुनकोसी गाँउपालिकामा ७ ओटा वडा रहेका छन्।
जसमध्ये १ देखि ४ सम्म गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन्। भने वडा नम्बर ५ र ६ मा गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। वडा नम्बर ७ मा भने नेकपा एमालेका वडाअध्यक्षमा निर्वाचित भएका छन्।
प्रकाशित: ५ जेष्ठ २०७९ ०२:१४ बिहीबार