सर्लाहीको कौडेना गाउँपालिकाका नेपाली काँग्रेस फराकिलो अन्तरले विजयी भएको छ। कौडेना गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल पारेको हो।
कौडेना गापा अध्यक्षमा बब्लु उपनामले परिचित रुपेश कुमार यादव सर्वाधिक लोकप्रिय मतका साथ विजयी भएका छन्। नेकाका यादवले ५२८१ म्त प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका राज नन्दन प्रसादले २४४१ म्त प्राप्त गरेका छन्।
गाउँपालिकाको उपाध्यक्षमा नेकाकै नगिना देवीले ४९६३ मत प्राप्त गर्दै फराकिलो जित हासिल गरेकी छन्। उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी पल्लवी देवी यादवले २६६२ मत प्राप्त गरेकी हुन्।
कौडेना गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ मा नेपाली काँग्रेस, वडा नम्बर ३ मा जसपा नेपाल, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ७ मा राप्रपाले सम्पूर्ण प्यानलसहित जित हात परेका छन्।
मतदानको दिन निकै विवाद भएको कौडेना गाउँपालिकामा विजयी सबै पदाधिकारी तथा सदस्यलाई निर्वाचन अधिकृत विश्वनाथ अर्यालले प्रमाणपत्र प्रदान गरेका छन्।
गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि यादवले विकास, निर्माण तथा समृद्धिको लागि डटेर लागि पर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: ३ जेष्ठ २०७९ १४:४२ मंगलबार