निर्वाचन विशेष

डिलासैनीमा स्वतन्त्रले बाजी मारे

बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्रले बाजी मारेको छ। स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्।

एमालेबाट विद्रोह गरेर प्याननसहित स्वतन्त्र उम्मेदवारी दिएका जोशी गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) लाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। जोशीले ३ हजार १ सय ८९ मत प्राप्त गरेर भने रानाले २ हजार ६ सय ४१ मत प्राप्त गरे। यो पालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए।

एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीले पार्टीका सबै संगठनबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएका थिए। एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पालसँगको टक्करकै कारण उनले पार्टीबाट विद्रोह गरेका हुन्। पार्टीबाट टिकट पाउन नसकेपछि जोशी स्वतन्त्र उम्मेदवार बनेका थिए।

यस्तै उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन्। उनले ३ हजार ८ सय ७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७ सय ७९ मत पाइन्।

गाउँपालिकाका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेस दुई/दुई वडामा विजयी हासिल गरेका छन्। वडा नं १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नं. २ मा एमालेका नवराज घरडी, वडा नं. ३ मा एमालेका रघुवीर बोहरा, वडा नं. ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नं. ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नं .६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नं. ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:३९ मंगलबार