निर्वाचन विशेष

ढोरपाटन नगरप्रमुखमा फेरि दोहोरिए देवकुमारः उपप्रमुख काँग्रेसका धनबहादुर

जिल्लाको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा देवकुमार नेपाली निर्वाचित भएका छन्।

नेकपा एमालेबाट नगरप्रमुख उम्मेदवार बनेका नेपाली दोस्रो कार्यकालका लागि प्रमुखमा निर्वाचित भएका हुन्। उनले ६०० मतान्तरले गठबन्धनतर्फका उम्मेदवार चन्द्र अर्याललाई पाखा लगाउँदै पुनः नगरप्रमुखमा विजयी भए।

नपालीले ५७३५ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार चन्द्र अर्यालले ५१३५ मत पाएका थिए । ढोरपाटन नगरको उपमेयरमा भने नेपाली काँग्रेसका धनबहादुर कायत ‘कल्याण’ विजयी भएका छन् । कायतले ५६५० मत ल्याएका छन्।

उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा विद्रोही समुहकी ताराकुमारी पुनले ४८८४ पाइन्। ढोरपाटन नगरपालिकामा पाँच दलीय गठबन्धन विरुद्ध नेकपा एमालेले राष्ट्रिय जनमोर्चाको विद्रोही समुहसंग चुनावी सहकार्य गरेको थियो। ढोरपाटनका ९ वडामध्ये ४ मा गठबन्धन पक्षीय उम्मेदवार विजयी भएका छन् भने ५ वटा वडामा एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समुहका उम्मेदवार विजयी भएका छन्। ढोरपाटन नगरपालिका—१ मा नेपाली काँग्रेसका बानबहादुर छन्त्याल विजयी भएका छन्।

वडा नम्बर २ मा राष्ट्रिय जनमोर्चाका भेगबहादुर खत्री, वडा नम्बर ३ मा एमालेका खिमबहादुृर सुनार, वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चा विद्रोही समुहका तिलक  पुनले सफलता हात पारे। वडा नम्बर ५ मा एमालेका दिपेन्द्र पुनमगर, वडा नम्बर ६ मा एमालेका उमेश बुढा, वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै, वडा नम्बर ८ मा माओवादीका भद्रमणि सुनार र वडा नम्बर ९ मा एमालेका खिमबहादुर घर्ती विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०४:०५ मंगलबार