निर्वाचन विशेष

ताप्लेजुङका दुई पालिकाको नतिजा सार्वजनिक

प्रमुख पदमा फक्ताङलुङमा माओवादी र मेरिङदेनमा काग्रेस विजयी

ताप्लेजुङका दुई गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ। फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू(मुक्ति)निर्वाचित भएका छन्। 

लिम्बू २ हजार ६ सय ६० मत ल्याई विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी निवर्तनमान पालिका अध्यक्ष समेत रहेका नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बूलाई ३ सय ४८ मतान्तरले पराजित गरे। पराजित सरोज लिम्बूले २ हजार ३ सय १२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन् । उनले २ हजार ३ सय ५८ मत प्राप्त गरे। 

उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बू (पौडेल) ले २ हजार २ सय १२ मत ल्याइन् । त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसले पाउने गरी गठबन्धन थियो । यता मेरिङ्देन गाउँपालिकामा कांग्रेस विजयी भएको छ। कांग्रेसका युकहांवीर(डम्बर)हाङगाम २ हजार ८ सय ६९ मतसहित अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका छन् । उनी ९९ मतले पराजित भए। 

उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ २ हजार ५ सय ९८ मत ल्याएर निर्वाचित भए । उनलाई एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले चुनौती दिएका थिए। शेर्पा १ हजार ६सय ५७ मतमै समेटिए। त्यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष नेकपा एसले पाउने सहमति थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ००:५६ सोमबार