निर्वाचन विशेष

सुनसरी-४ : कांग्रेसका कार्कीलाई चुनौती दिँदै श्रम संस्कृति पार्टी

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपालसहित स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

कांग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीशप्रसाद कुसियैत, नेकपाबाट महमद महफुज अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपककुमार साह, जसपाबाट सविता यादव र श्रम संस्कृति पार्टीबाट विष्णु राणा उम्मेदवार छन्। कांग्रेसका कार्की यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन्। उनले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रचारप्रसार गरिरहेका छन्।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ३४७ मत प्राप्त गरी विजयी भएका कार्की २०७९ सालमा एमालेका उम्मेदवार कुसियैतलाई ११२ मत अन्तरले पराजित गरेका थिए।  ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पुल निर्माण, सप्तकोशी कटान नियन्त्रण, विपन्न समुदायको उत्थान तथा खेलकुद विकासमा योगदान दिँदै आएको छु। अधुरा काम सम्पन्न गर्न पनि चुनावी मैदानमा होमिएको हुँ,’ उनले भने।  

एमालेका उम्मेदवार कुसियैत कोशी प्रदेश सरकारमा पूर्वमन्त्रीका रूपमा काम गरिसकेका छन्। विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका उनी आठौँ पटक चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय जनताको आवश्यकता सम्बोधन गर्न तथा सुशासन, समृद्ध राष्ट्र र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धतासहित आफू प्रतिस्पर्धामा रहेको उनको भनाइ छ। 

कुसियैतले २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति गिरिराजप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। उनी २०५३ को उपनिर्वाचन र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  नेकपाका उम्मेदवार अन्सारीले भ्रष्टाचार अन्त्य र जेनजी युवाको माग सम्बोधन गर्न उम्मेदवारी दिएको बताएका छन्।  

सुनसरीका प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार क्षेत्र नं ४ मा ३४ जनाले उम्मेदवारी दिएका थिए। पछि एक जनाले उम्मेदवारी फिर्ता लिएपछि ३३ जना कायम रहेका छन्। तीमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र उम्मेदवार छन्। २९ जना पुरुष र पाँच जना महिला उम्मेदवार छन्। उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको जनाइएको छ।

यहाँ स्वतन्त्र उम्मेदवार मो गुलाब अन्सारी कान्छा उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवार छन्।

उम्मेदवारहरू आफ्ना मुद्दा प्रस्तुत गर्दै मतदाता आकर्षित गर्ने प्रयासमा छन्। मतदाताले स्थानीय आवश्यकता सम्बोधन गर्ने विश्वासिलो प्रतिबद्धता भएका उम्मेदवारलाई मत दिने मनस्थिति बनाएका छन्। युवा मतदाता सरोज मेहताले ग्रामीण विकास, कृषि आधुनिकीकरण, सिँचाइ सुविधा, मल, बीउ र बजार व्यवस्थापनको समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन्।

निर्वाचन क्षेत्र नं ४ मा एक लाख ३९ हजार ३३० मतदाता रहेका छन्। तीमध्ये ७३ हजार २९ पुरुष र ६६ हजार ३०१ महिला मतदाता छन्। यहाँ ४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेका छन्।

हाल घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारलाई फागुन ४ गतेदेखि खुला रूपमा प्रचार गर्ने समय दिइएको छ। निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको प्रमुख निर्वाचन अधिकृत राउतले बताए। 

जिल्लाका चार निर्वाचन क्षेत्रमा करिब तीन हजार ७४४ जना निर्वाचन कर्मचारी परिचालन हुने जनाइएको छ। ‘मतदातालाई सुरक्षित वातावरणमा मतदानको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको छ। उम्मेदवारलाई निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्न आग्रह गरिरहेका छौँ,’ उनले भने।  

प्रकाशित: १ फाल्गुन २०८२ १७:१५ शुक्रबार