ग्राहक विशेष

प्रकृतिसँगको सामीप्यमा नेपाल विश्वमै पहिलो

मानव–प्रकृतिबिचको सुमधुर सम्बन्धका हिसाबले नेपाल विश्वमा पहिलो राष्ट्र बनेको छ। विश्वका ६१ राष्ट्रमा गरिएको अध्ययनले ‘नेचर कनेक्टेड’ राष्ट्रको सूचीमा नेपाल सबैभन्दा अगाडि देखिएको हो। 

विश्वका ६१ राष्ट्रका ५७ हजार सहभागी रहेको सो अध्ययनमा सामाजिक, आर्थिक, भौगोलिक र सांस्कृतिक कारकहरूले कसरी मानिसको प्रकृतिप्रतिको दृष्टिकोणलाई असर गर्छ भन्ने विषय विश्लेषण गरिएको थियो। वातावरण तथा समाजसम्बन्धी वैज्ञानिक जर्नल ‘एम्बिओ’मा शनिवार प्रकाशित उक्त प्रतिवेदनअनुसार सबैभन्दा बढी प्रकृतिसँग जोडिएका राष्ट्रको सूचीमा नेपालपछि दोस्रो, तेस्रो, चौथो र पाचौं राष्ट्रमा क्रमशः इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरिया छन्। कुल ६१ राष्ट्रमध्ये प्रकृतिसँग सबैभन्दा न्यून सम्बन्ध जोडिएका राष्ट्रको सूचीमा अन्तिमतिर अर्थात् ६१औँ स्थानमा स्पेन, ६०औँ स्थानमा जापान र ५९औँ स्थानमा इजरायल छन्।

‘प्रकृति–सामीप्य’लाई एक स्थापित अवधारणा मानिन्छ, जसले कुनै व्यक्तिको प्रकृतिसँगको संज्ञानात्मक र भावनात्मक सम्बन्धलाई झल्काउँछ। यो मनोवैज्ञानिक अवधारणाअन्तर्गत कुनै व्यक्तिको अन्य जीवजन्तुसँगको सम्बन्ध मापन गरिने अध्ययन प्रतिवेदनमा उल्लेख छ। विभिन्न अध्ययनले प्रकृतिसँगको सम्बन्ध बलियो हुँदा व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुने र ऊ वातावरण–मैत्री व्यवहारमा बढी संलग्न हुने देखाएका छन्। यसैगरी प्रकृतिसँगको कमजोर सम्बन्धका कारण सम्बद्ध व्यक्तिले व्यक्तिगत भौतिक लाभलाई प्राथमिकता दिने हुँदा यसलाई जैविक विविधताको ह्राससमेत निम्त्याउने कारकसमेत मानिन्छ।

बेलायत र अस्ट्रियाका अनुसन्धानकर्ताको टोलीले गरेको उक्त अध्ययनले समाजमा उच्च ‘आध्यात्मिकता’को स्तरलाई प्रकृतिसँगको गहिरो सम्बन्धको सबैभन्दा बलियो ‘सूचक’ भनी देखाएको छ। अध्ययनले धर्म र आस्थालाई महत्त्व दिने समाजमा प्रकृतिसँगको सम्बन्ध पनि बलियो रहने देखाएको छ। अध्ययनको नेतृत्व बेलायतको डर्बी विश्वविद्यालयका प्राध्यापक माइल्स रिचर्डसनले गरेका थिए। प्रकृतिसँग सम्बन्धलाई कमजोर पार्ने कारकमा उच्च सहरीकरण, औसत आम्दानी र इन्टरनेट प्रयोगको दर रहेको अध्ययनमा उल्लेख छ। 

‘प्रकृतिसँगको सम्बन्ध केवल हामीले के गर्छौँ भन्ने होइन तर हामीले कसरी महसुस गर्छौँ, सोच्छौँ र जीवित संसारमा आफ्नो स्थानलाई कति मूल्य दिन्छौँ भन्ने हो,’ अध्ययनका नेतृत्व गरेका रिचर्डसनलाई उद्धृत गर्दै बेलायती पत्रिका गार्जियनले लेखेको छ। अत्यधिक सहरीकरणको दौडमा रहेको समाजमा सहरभित्रै प्रकृति भित्र्याए मानिस र प्रकृतिबिचको सम्बन्ध पुनर्जीवित गर्न सकिने उनको दाबी छ। ‘तर यो केवल पार्क बनाउने विषय मात्र होइन। कसरी पवित्र सहरी प्रकृति सिर्जना गर्ने भनेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। केवल पार्क बनाउनु सजिलो छ तर हामी त्यसको गहिराइमा पुग्नुपर्छ,’ रिचर्डसनले भनेका छन्।

मानव–प्रकृति सम्बन्धका प्रमुख समष्टिगत कारकहरू र तिनलाई परिवर्तन गर्न सक्ने अन्य सहायक कारक बुझ्न वस्तुनिष्ठ र व्यक्तिपरक कारकको विश्लेषणसहित प्रारम्भिक अवधारणगत ढाँचा प्रस्ताव गर्ने र मानव–प्रकृति सम्बन्धको सूचकका रूपमा ‘प्रकृति–सामीप्य’ र दिगो विकास लक्ष्यका सूचकांकका बिचको तुलना गर्ने र त्यसको परीक्षण गर्ने उद्देश्य अध्ययनले लिएको थियो। विश्वका राष्ट्रको ‘आध्यात्मिकता’ र ‘प्रकृति–सामीप्य’बिचको सम्बन्धलाई धार्मिक आस्था र विश्वाससम्बन्धी तथ्यांकको विश्लेषणका आधारमा पहिलो पटक ‘वर्ल्ड भ्यालुज सर्भे’ अर्थात् ‘विश्वव्यापी मान्यता सर्वेक्षण’ले केही दशकअघि पुष्टि गरेको थियो।

शीर्ष १० स्थानमा भएका राष्ट्रहरू 

१. नेपाल
२. इरान
३. दक्षिण अफ्रिका
४. बंगलादेश
५. नाइजेरिया
६. चिली
७. क्रोएसिया
८. घाना
९. बुल्गेरिया
१०. ट्युनिसिया

प्रकाशित: १८ कार्तिक २०८२ ०६:३१ मंगलबार