धर्म/संस्कृति

समृद्धिको कामनासहित तिहार

तिहार विशेष

हिन्दु धर्मावलम्बीले समृद्धि, आरोग्य र पारिवारिक सुखको कामना गर्दै मनाउने धन्तेरस पर्व यस वर्ष कात्तिक २० गते आज शुक्रबार परेको छ। तिहार अर्थात् दीपावलीसँग जोडिएको यस पर्वमा धनकी देवी लक्ष्मी, धनका देवता कुबेर र आयुर्वेद तथा स्वास्थ्यका देवता धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ। यस दिन सुन, चाँदी, तामा, पित्तललगायतका धातुका सामग्री खरिद गर्ने चलनसमेत छ।

धन्तेरसलाई धनत्रयोदशी पनि भनिन्छ। चन्द्रमासअनुसार कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने भएकाले यसको नाम धन्तेरस रहन गएको धार्मिक मान्यता छ। ‘धन’ ले सम्पत्ति र ‘तेरस’ ले त्रयोदशी तिथिलाई जनाउँछ। यस पर्वलाई धन आर्जनको कामना गर्ने अवसरका रूपमा मात्र नभई स्वास्थ्य, दीर्घायु र सुखशान्तिको प्रतीकका रूपमा पनि लिइने भएकाले सर्वत्र धन्तेरस मनाइने अध्ययता ज्योतिष शिवा पोखरेलको तर्क छ। ‘धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृतको कलश लिएर प्रकट भएका थिए’, ज्योतिषी पोखरेल भन्छन्,‘ धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजिने भएकाले यस दिन परिवारका सदस्य स्वस्थ र दीर्घजीवी होऊन् भन्ने कामनासहित पूजा गरिन्छ। त्यस्तै माता लक्ष्मी र भगवान् कुबेरको पूजा गरी घरमा धनधान्य, आर्थिक स्थिरता र समृद्धि कायम रहोस् भन्ने प्रार्थना गरिन्छ।’ नेपाल सरकार राष्ट्र बैंकले समेत धन्तेरसलाई लक्षित गरी बर्सेनि सरकारी दररेटमा सुन र चाँदीको सिक्का बेच्ने गरेको छ। धन्तेरस नेपाल, भारतलगायत अन्य देशका हिन्दुहरूले सबैतिर मनाउने गरेको पाइन्छ।

घर सफा गरी दीप प्रज्वलन

धन्तेरसका अवसरमा घर, आँगन र पूजाकोठा सफा गर्ने, प्रवेशद्वार सजाउने तथा साँझ दियो बाल्ने चलन छ। कतिपय परिवारले घरको ढोकामा रंगोली बनाउने, फूलले सजाउने र लक्ष्मीको स्वागतका लागि विशेष तयारी गर्ने गर्छन्। घर स्वच्छ र उज्यालो बनाउनुलाई शुभ र सकारात्मक ऊर्जा भित्र्याउने प्रतीकका रूपमा लिइन्छ। यस दिन साँझ लक्ष्मी, कुबेर र धन्वन्तरीको पूजा गरिन्छ।

पूजामा फूल, अक्षता, धूप, दीप, फलफूल र मिठाइ चढाउने चलन छ। परिवारका सदस्य एकै ठाउँमा भेला भएर पूजा गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा रहेको भनाइ पनि ज्योतिषी पोखरेलको छ। धन्तेरसमा यमदीप दान गर्ने धार्मिक प्रचलनसमेत रहेको छ। यमराजको नाममा घरबाहिर दियो बालेर परिवारका सदस्यको दीर्घायु र सुरक्षाको कामना गरिन्छ। कतिपय समुदायमा दियो दक्षिण दिशातर्फ राख्ने चलन छ।

सुनचाँदी तथा भाँडाकुँडा किन्ने परम्परा

धन्तेरसको अर्को विशेषता नयाँ सामग्री खरिद गर्नु हो। यस दिन सुन, चाँदीका गरगहना, सिक्का, तामा तथा पित्तलका भाँडाकुँडा किन्ने परम्परा छ । कतिपयले घरायसी प्रयोगका सामग्री तथा पूजाका सामानसमेत किन्ने गर्छन्। नयाँ सामग्री खरिद गर्दा घरमा धन र समृद्धि भित्रिने धार्मिक विश्वास छ।

धन्तेरसमा सुनचाँदी नै किन्नुपर्छ भन्ने अनिवार्यता भने छैन। आफ्नो आर्थिक अवस्थाअनुसार उपयोगी सामग्री खरिद गरेर वा सामान्य पूजाआजा गरेर पनि पर्व मनाउन सकिने उनी बताउँछन्। ‘धार्मिक आस्थाका नाममा ऋण लिएर वा आर्थिक क्षमताभन्दा बढी खर्च गर्नु उचित मानिँदैन’, उनले भने,‘पर्वलाई पारिवारिक आवश्यकता र आर्थिक सन्तुलनसँग जोडेर मनाउनु आवश्यक छ।’

विगतमा खासै धन्तेरसको आकर्षण नरहे पनि केही दशक यता नेपालमा पनि निकै उत्साहका साथ धन्तेरस मनाइने गरेको देखिन्छ। यही अवसरमा काठमाडौंलगायत नेपालका हरेक सुन, चाँदी तथा गरगहना र भाँडा पसलमा सरसजावट समेत गरेको देखिन्छ। धन्तेरस विशेषगरी भारतका विभिन्न भागमा व्यापक रूपमा मनाइन्छ भने नेपालमा तिहारका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिसँग यसको सम्बन्ध जोडिएको पाइन्छ।

नेपालमा काग तिहारसँग सम्बन्ध

नेपालमा तिहारको पहिलो दिन काग तिहार मनाउने परम्परा छ। यस वर्षको काग तिहार शनिबार परेको छ। कागलाई यमराजको सन्देशवाहकका रूपमा मान्दै खाना खुवाउने चलन छ। कागलाई खाना दिएर शुभ समाचार प्राप्त होस् र परिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गरिन्छ।

धनतेरस र काग तिहारको धार्मिक परम्परा क्षेत्र तथा समुदायअनुसार फरक हुन सक्ने भएकाले दुवैलाई एउटै विधि वा मान्यता मान्नु उपयुक्त नहुने उनको ठहर छ। धनतेरसको सन्देश धनसम्पत्ति प्राप्त गर्ने कामनामा मात्र सीमित छैन। स्वास्थ्य, पारिवारिक सद्भाव, आर्थिक अनुशासन र सामाजिक सहयोग पनि जीवनका महत्त्वपूर्ण पक्ष हुन्। त्यसैले धन्तेरसलाई धनसँगै निरोगी जीवन, सुखशान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा मनाउने गरिन्छ।

काग तिहार मनाउने परम्परा

ज्योतिषी पोखरेलका अनुसार नेपालमा धन्तेरसकै दिनदेखि यमपञ्चक सुरु हुने र कागलाई यमराजको सन्देशवाहक मानेर खाना खुवाउने परम्परा छ। कागलाई खाना दिएर शुभ समाचार प्राप्त होस् र परिवारमा सुखशान्ति कायम रहोस् भन्ने कामना गरिन्छ। यी विधि हिन्दु धार्मिक तथा सांस्कृतिक परम्परामा आधारित छन्। परिवार र समुदायअनुसार पूजाका सामग्री, मन्त्र र विधि फरक हुन सक्छन्।

यमपञ्चक: पाँच दिन, पाँच पर्व र प्रकृतिसँगको आत्मीय सम्बन्ध

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई दीपावली तथा यमपञ्चक पनि भनिन्छ। पाँच दिनसम्म मनाइने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हो। हिन्दु धार्मिक मान्यताअनुसार यमराज र उनकी बहिनी यमुनासँग जोडिएको यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र दीर्घायुको कामना गर्ने परम्परालाई जीवन्त बनाएको छ। यमपञ्चकका पाँच दिनमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ। यस पर्वले मानिस र प्रकृतिबिचको सम्बन्धलाई समेत उजागर गर्छ।

काग तिहार: यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ। कागलाई यमराजको दूतका रूपमा लिने धार्मिक विश्वास छ। यस दिन कागलाई मीठा परिकार तथा खानेकुरा दिएर पूजा गरिन्छ। कागले खबर ल्याउने विश्वासका आधारमा यस दिन कागको सम्मान गर्ने परम्परा बसेको मानिन्छ।

कुकुर तिहार: यमपञ्चकको दोस्रो दिन कुकुर तिहार मनाइन्छ। कुकुरलाई यमराजको द्वारपाल तथा मानिसको इमानदार साथीका रूपमा सम्मान गरिन्छ। यस दिन कुकुरलाई माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा खानेकुरा खुवाउने चलन छ। यसले मानिस र जनावरबिचको आत्मीय सम्बन्धलाई दर्शाउँछ।

गाई तिहार तथा लक्ष्मी पूजा: यमपञ्चकको तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा मनाइन्छ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गरिन्छ। गाईलाई माला लगाएर पूजा गरिन्छ । साँझ घर, आँगन, झ्यालढोका र बाटोमा दीप प्रज्वलन गरी धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् भन्ने कामना गरिन्छ। यस दिन देउसीभैलो खेल्ने परम्पराले पनि तिहारलाई थप उल्लासमय बनाउँछ।

गोरु तिहार तथा म्हपुजा: ज्योतिषी पोखरेलका अनुसार यमपञ्चकको चौथो दिन गोरु तिहार र नेवार समुदायमा म्हपुजा मनाइन्छ। कृषि कर्ममा महत्त्वपूर्ण योगदान पु¥याउने गोरुको पूजा गरी सम्मान गरिन्छ। यसै दिन नेपाल संवत्अनुसार नयाँ वर्ष पनि सुरु हुन्छ। नेवार समुदायले म्हपुजा गरी आफ्नो शरीर, आत्मा र जीवनको शुद्धता तथा दीर्घायुको कामना गर्छन्।

भाइटीका: यमपञ्चकको पाँचौं तथा अन्तिम दिन भाइटीका मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाएर दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर माया र सम्मान प्रकट गर्छन्। धार्मिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर टीका लगाइ पूजा गरेकी थिइन्। त्यसबाट प्रभावित भएर यमराजले दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने दिन मृत्युको भयबाट सुरक्षा मिल्ने आशीर्वाद दिएको विश्वास गरिन्छ।

यमपञ्चकको सांस्कृतिक तथा सामाजिक महत्त्व

यमपञ्चक धार्मिक आस्थाको पर्व मात्र होइन, प्रकृति, पशुपन्छी, कृषि, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको उत्सव पनि हो। कागदेखि गोरुसम्मको पूजा गर्ने परम्पराले मानव जीवनमा सबै जीवजन्तुको महत्त्व रहेको सन्देश दिन्छ। दीपावलीले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र असत्यमाथि सत्यको विजयको प्रतीकात्मक अर्थ बोकेको छ।

देउसीभैलो, फूलमाला, सेलरोटी, झिलिमिली बत्ती र भाइटीकाले तिहारलाई नेपाली समाजको मौलिक सांस्कृति पहिचानको रूपमा स्थापित गरेको छ। ‘तिहारमा सेलरोटी पकाउने खाने र देउसीभैलो खेल्ने नेपालीको मूल सांस्कृतिक पहिचान हो,’ उनले भने।

प्रकाशित: २० कार्तिक २०८३ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App