धर्म/संस्कृति

देउसीभैलोमा सङ्कलित दुई लाख सडक निर्माणमा

म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन्। तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट दुई लाख  रूपैयाँ गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन्।

गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो। देउसीभैलोमा सङ्कल नभएको चार लाख नौ हजार रकम मध्ये दुर्गम र विकट बस्तीको रूपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पुर्‍याउने योजनालाई दुई लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताइन्।

गाउँमा छिटो मोटरबाटो जोडियोस् भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उनले बताइन्।

आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्धय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरेका छन्।

आमा समूहले मौलिककला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसीभैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमूना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताए।

उनका अनुसार, उक्त रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ। धवलागिरि गाउँपालिका–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पुर्‍याउन करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी छ।

यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले गाउँमा सडक पुर्‍याउने योजनामा आन्तरिक स्रोत जुटाएर समेत सडकको ट्र्याक विस्तारको काम गर्दै आएका छन्।

चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पुर्‍याउने लक्ष्यका साथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेट परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए।

उनका अनुसार लुलाङ–गुर्जा सडकका लागि यस वर्ष सङ्घीय सरकारले समपुरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट रतीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख रूपैयाँ बजेट विनियोजन भएको छ।  

प्रकाशित: १० कार्तिक २०८२ ०९:५५ सोमबार