म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन्।
नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरूले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए।
'घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैँको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौ,' उनले भने, 'पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ।'
घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो। घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ।
घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित छ।
प्रकाशित: ५ कार्तिक २०८३ ०७:१६ बिहीबार