भक्तपुरको विश्वप्रसिद्ध बिस्का जात्रा सम्पन्न भएको तीन महिना बितिसकेको छ। तर वैशाख ५ गते सम्पन्न भएको जात्रामा प्रयोग गरिएको भैल खः (भैरवनाथको रथ) का ठूला काठका पाङ्ग्रा अझैसम्म व्यवस्थापन हुन सकेका छैनन्। ती पाङ्ग्रा अहिले पनि भक्तपुरस्थित पाँचतल्ले मन्दिर परिसरमा अलपत्र अवस्थामा रहेका छन्।
यस विषयमा ध्यानाकर्षण गराउँदै श्री भैरवनाथ जात्रा सहयोग समितिले शुक्रबार गुठी संस्थान शाखा कार्यालय, सूर्यविनायक, भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष शिवराम किजू को नेतृत्वमा गएको स्थानीयवासीको टोलीले रथका काठ तथा अन्य सामग्री तत्काल व्यवस्थित गर्न माग गरेको हो।
समितिले ज्ञापनपत्रमार्फत नौ बुँदे माग अघि सारेको छ। भैरवनाथको रथ पुरानो तथा जीर्ण भइसकेकाले मौलिक संस्कृति झल्किने गरी सुरक्षित र पूर्ण रूपमा नयाँ रथ निर्माण गर्नुपर्ने, विद्यमान रथका सम्पूर्ण पाङ्ग्रा, टुँडाल, अँसी, वेत, कासीलगायत ऐतिहासिक सामग्रीलाई घाम, पानी, चिस्यान तथा अन्य प्राकृतिक क्षतिबाट जोगाउन परम्परादेखि प्रयोग हुँदै आएको सुरक्षित स्थानमा तत्काल व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ।
त्यसैगरी, रथका सबै महत्वपूर्ण सामग्रीको वैज्ञानिक अभिलेखीकरण, मापन, फोटोग्राफी तथा डिजिटल अभिलेख तयार गरी सम्बन्धित निकायमा सुरक्षित राख्न, बिस्का जात्रामा लिङ्गो उठाउन प्रयोग हुने फलामे कैँचीहरूको उचित व्यवस्थापन गर्न तथा हाल न्यातापोल मन्दिरको पेटीमा वेवारिसे रूपमा राखिएका रथका पाङ्ग्रा तत्काल हटाउन माग गरिएको छ।
समितिले रथका सामग्री खुला स्थानमा रहँदा दृश्य प्रदूषण हुनुका साथै निकट भविष्यमा लाखौँ भक्तजनको सहभागितामा हुने सापारु (गाइजात्रा) सञ्चालनमा समेत अवरोध पुग्ने जनाएको छ। साथै, बिस्का जात्राको अर्को महत्वपूर्ण देवता अजिमाको रथको संरक्षण र सञ्चालनमा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ।
ज्ञापनपत्रमा बिस्का जात्राका क्रममा हुने दुर्घटनाबाट प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको उल्लेख गर्दै रथ निर्माणदेखि जात्रा सञ्चालनसम्मका सम्पूर्ण गतिविधिमा प्रभावकारी अनुगमन तथा सुरक्षा व्यवस्थापन गर्न माग गरिएको छ। साथै भक्तपुरका सापारु (गाइजात्रा), वलन्द भैरव जात्रा र इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक भौतिक तथा आर्थिक व्यवस्था समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
समितिले बिस्का जात्रा नेपालको अमूल्य सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै भैरवनाथको रथ केवल काठको संरचना मात्र नभई मध्यकालीन नेपाली काष्ठकला, वास्तुकला र सांस्कृतिक इतिहासको अनुपम नमुना भएको जनाएको छ। तर रथका पुराना पाङ्ग्रा, टुँडाल, अँसी, वेत, कासीलगायत महत्वपूर्ण सामग्री संरक्षणको अभावमा खुला स्थानमा अलपत्र रहेकाले तिनको अस्तित्व नै जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा वर्षा, घाम, धुलो तथा अन्य प्राकृतिक प्रभावका कारण बहुमूल्य सामग्री क्रमशः नष्ट हुँदै गएको र यसले भविष्यमा बिस्का जात्राको मौलिक स्वरूप तथा ऐतिहासिक प्रमाणसमेत संकटमा पर्न सक्ने उल्लेख गरिएको छ। साथै आगलागी वा अन्य दुर्घटनाबाट सम्पूर्ण सम्पदा नष्ट हुने जोखिमसमेत औँल्याइएको छ।
ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष शिवराम किजूले जात्रा सकिएको चार महिना बितिसक्दा पनि भैल खःका पाङ्ग्रा पाँचतल्ले मन्दिर अगाडि नै अलपत्र राखिएकोप्रति असन्तुष्टि जनाए। उनका अनुसार यसले घामपानीका कारण काठ कुहिने र मक्किने जोखिम बढेको छ, जसबाट ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगिरहेको छ।
समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार न्हुछेराम भेले ले विश्वप्रसिद्ध पाँचतल्ले मन्दिर परिसरमा रथका ठूला पाङ्ग्रा लामो समयदेखि छाडिँदा दृश्य सौन्दर्यमा असर परेको र यहाँ आउने हजारौँ पर्यटकमा नकारात्मक सन्देश गएको बताए।
ज्ञापनपत्र बुझ्दै गुठी संस्थान शाखा कार्यालय, सूर्यविनायक, भक्तपुरका प्रमुख आनन्द कर्माचार्य ले उपयुक्त स्थानको अभावका कारण पाङ्ग्राको व्यवस्थापन गर्न नसकिएको बताए। उनले केही दिनभित्रै पाङ्ग्रालाई कम्तीमा अस्थायी रूपमा भए पनि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन समाधानका लागि पनि आवश्यक पहल गरिने बताए।
प्रकाशित: ८ श्रावण २०८३ १८:०४ शुक्रबार

-600x400.jpg)

