सांस्कृतिक नगर भक्तपुरमा जीवित देवगणका रूपमा पुजिँदै आएको नवदुर्गा देवगणको यस वर्षको पहिलो खः प्याखं (नाच) बिहीबार रातिदेखि सुरु भएको छ। भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानीको मूलचोकमा प्रदर्शन भई प्याखं सुरु हुने परम्परा छ।
यस अवसरमा नवदुर्गा मन्दिरमा कार्तिक महिनादेखि सुरु भएको तिथि र मिति अनुसारको देवपूजा तथा आगं पूजा गर्ने परम्पराअनुसार यस वर्षको अन्तिम थाः पूजा सम्पन्न गरिएको थियो। भेडाको बली दिएर देवगणहरूको दिनभरि आगं पूजा गरेपछि जात्रा सुरु गरिएको थियो।
नवदुर्गा जात्रा तथा मन्दिर व्यवस्थापक संस्थाका सल्लाहकार नारायणमान वनमालाका अनुसार साँझ ७ बजे भक्तपुरको कमलविनायकस्थित नवदुर्गा मन्दिरबाट देवगणहरू तलेजु भवानीको मूलचोकतर्फ प्रस्थान गरेका थिए। जात्राका क्रममा देवगणहरू तलेजुको मूलचोकमा पुगेर गही नाच प्रदर्शन गरेका थिए। गही नाच भक्तपुरको प्राचीन सांस्कृतिक तथा पारिवारिक जीवनशैलीमा आधारित नाच हो। बाजाको ताल र प्राचीन नेवारी भाषाका गीतका बोलमा मुकुन्डो पहिरिएका देवगणहरूले परिवारमा हुने विभिन्न व्यवहार र भूमिकालाई अभिनयमार्फत प्रस्तुत गर्ने परम्परा छ।
यस नाचमा भैरवनाथ देवगणले परिवारको ज्येष्ठ नागरिकको भूमिका निर्वाह गर्छन्। पूजा, बलि प्रथा तथा देवगण परिवारका सदस्यलाई प्रसाद वितरण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि भैरवनाथकै हुन्छ। महाकाली र बाराहीले नाचमार्फत नारी सौन्दर्य तथा क्रोधको भाव प्रस्तुत गर्छन्। त्यस्तै कुमारीले चेलीबेटीको व्यवहार प्रस्तुत गर्दै पात्रहरूलाई भोजन गराउने, बत्ती तथा भोग चढाउने कार्य गर्छिन्। गणेशको भूमिकामा रहेका देवगणले मोहिनी टीका ग्रहण गराउने तथा हरेक जात्रामा मंगलसिद्धि नाच प्रदर्शन गर्ने परम्परा रहेको छ।
खः प्याखं नाच अन्तर्गत कुमारी, भद्रकाली, ब्रह्मायणी र महेश्वरी देवगणको नाच प्रदर्शन हुनेछ। त्यसपछि सिम्ह दुम्हाको आँगनमा महाकाली नाचको केही अंश प्रदर्शन गरिनेछ। त्यसपछि तलेजु भवानीको पूजा ग्रहण गर्ने र मु वाहा लिकेगु जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ।
ऐतिहासिक किंवदन्ती अनुसार भेलु तंचायगु अर्थात् महाकाली तं मं विज्यामेगु जात्रा सम्पन्न गरी मध्यरातमा तलेजु भवानी चोकबाट नवदुर्गा मन्दिर फर्किने परम्परा छ। यससँगै यस वर्षको पहिलो खः प्याखं नाच सम्पन्न हुनेछ।
भक्तपुरको नवदुर्गा द्योछें (देवता घर) दसैंमा प्रत्येक वर्ष राष्टप्रमुख दर्शनका लागि सवारी हुने मन्दिर हो। यो भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकमा रहेको छ। यहाका मानवरुपी देवगणहरू यसरी वर्षैभरि विभिन्न ठाउँहरूमा नाचका लागि जाने गर्दछन्।
प्रकाशित: ९ मंसिर २०८३ २०:२१ बुधबार