प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्। यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ। बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिनुभयो। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ। आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए। बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ।
यस वर्ष कात्तिक १ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो। दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो। यो नेपालीको बडा दसैँपछि दोस्रो ठूलो चाड हो। यसलाई उज्यालोको चाड पनि भनिन्छ। यमपञ्चक लागेसँगै शहर, बजार झिलीमिली बनेको छ। यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ। विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीले यो पर्व मनाउँछन्। रासस
प्रकाशित: ३ कार्तिक २०८२ ११:५१ सोमबार