धर्म/संस्कृति

भैलद्यको परिक्रमासँगै सकियो भक्तपुरको गाईजात्रा

भैलद्यः (बाँस र परालको सहायताले बनाइने भैरव तथा गाईको प्रतीक) को नगर परिक्रमासँगै भक्तपुरको प्रसिद्ध गाईजात्राको मुख्य दिनको रौनक शनिबार सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका-४ लैको लाकुलाछेंबाट निकालिएको भैलद्यःले नगर परिक्रमा पूरा गरेसँगै जात्राको मुख्य आकर्षण सम्पन्न भएको हो।

भैरवनाथ जात्रा सहयोग समिति लैंको लाकुलाछेंका अध्यक्ष शिवराम किजूका अनुसार जात्रालाई व्यवस्थित बनाउन शनिबार निर्धारित तालिकाअनुसार साँझ ४ बजेदेखि भैलद्यको परिक्रमा सुरु गरिएको थियो।

लाकुलाछेंबाट निकालिएको भैलद्यःलाई न्यातापोल हुँदै दरबार क्षेत्रमा तीन चक्कर घुमाएर पुनः लाकुलाछेंमै पुर्‍याई विसर्जन गरिएको थियो। यस वर्ष भैलद्यःसँगै कुल २० वटा दिवंगत व्यक्तिको प्रतीक सहभागी थिए।

जात्राका क्रममा दिनभर भक्तपुर नगर परम्परागत घिन्ताङघिसी नाचले गुञ्जायमान बन्यो। वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा निकालिएका ताहासासँगै जोडी बाँधेर लट्ठी जुधाउँदै ५ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकहरू घिन्ताङघिसी नाचमा सहभागी भएका थिए।

स्थानीय जात्राप्रेमी स्वर्णिमा मुलका अनुसार सयौँ टोलीका बाजागाजा र नाचका कारण दिनभर पूरै भक्तपुर उत्सवमय बनेको थियो।

यसैबीच, हालै रसुवाको बाढीमा परी ज्यान गुमाएका भक्तपुरका सत्यसुन्दर प्रजापतिको सम्झनामा पनि शनिबार गाई (ताहासा) निकालिएको थियो। उनको सम्झनामा निकालिएको जात्रामा भने शोकका कारण घिन्ताङघिसीको टोली नराखी सामान्य रूपमा नगर परिक्रमा गराइएको थियो।

आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा आइतबारदेखि थप सात दिनसम्म जारी रहनेछ। बाँकी दिनहरूमा साँझपख टोलटोलबाट समसामयिक विषयमा व्यङ्ग्यात्मक प्लेकार्ड, प्रहसन तथा विभिन्न परम्परागत सांस्कृतिक नाचहरू प्रदर्शन गरिनेछ।

प्रकाशित: १३ भाद्र २०८३ १८:३८ शनिबार