धर्म/संस्कृति

इन्द्रजात्राको तयारी: भक्तपुरको नालाबाट काठमाडौं भित्र्याइँदै इन्द्रध्वजाको रूख

काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्राका लागि हनुमानढोकामा ठड्याइने परम्परागत लिङ्गो (इन्द्रध्वजा) का लागि रूख काठमाडौंतर्फ ल्याइएको छ।

भक्तपुरको नालास्थित वनबाट तान्त्रिक तथा परम्परागत विधिपूर्वक काटेर ल्याइएको उक्त रूखलाई सूर्यविनायक हुँदै राजधानी भित्र्याइएको हो।

इन्द्रजात्राको सबैभन्दा महत्त्वपूर्ण अनुष्ठान मानिने इन्द्रध्वजोत्थानका लागि यो रूख हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ।

विधिवत पूजाआजा गरी हनुमानढोका परिसरमा इन्द्रध्वजाका रूपमा यो लिङ्गो ठड्याएपछि मात्रै ऐतिहासिक इन्द्रजात्राको मुख्य पर्व औपचारिक रूपमा सुरु हुने धार्मिक परम्परा छ।

नालाको जङ्गलबाट बाजागाजासहित स्थानीय समुदाय र गुठियारहरूको सहभागितामा सूर्यविनायकसम्म ल्याइएको रूखलाई आज काठमाडौंतर्फ पठाइएको हो।

भाद्र शुक्ल पक्षको शुभसाइतमा हनुमानढोकामा उक्त लिङ्गो ठड्याउने तयारी गरिएको छ।

तस्बिरः प्रविन पौडेल/रासस

प्रकाशित: २९ भाद्र २०८३ १९:४१ सोमबार